शास्त्र होइन, हाम्रो बुझाइ अन्धविश्वास !

मेचीकाली संवाददाता

१९ जेष्ठ २०८०, शुक्रबार
1587 shares

घनश्याम कोइराला

हामीले धर्मग्रन्थका बारेमा चर्चा गर्दा ‘कृष्णले कति विवाह गरे ? सोह्र सय गोपिनीसँग नाचे । शिवले भाङ–धतुरो खाए । सत्तरी वर्षका शिव शर्माले सात वर्षकी गोमासँग विवाह गरे । विष्णुले विन्दालाई छल गरे । इन्द्रले अहिल्यासँग व्यभिचार गरे । ऋषिमुनि गाईको मासु खान्थे आदि आदि !’ अहिले आफ्नो पार्टी र पार्टी नेताको विरुद्ध बोल्न डर छ, तर हाम्रा धर्मशास्त्रले आफ्ना आराध्यका नकारात्मक विषयमा समेत निर्धक्क लेखेका छन् । यही हेरेर सिक्नुपर्ने अर्को पक्ष हामी देख्दैनौँ ।

हाम्रो संस्कृतिको अभिव्यक्ति चाडपर्वहरूको माध्यमबाट हुने गर्दछ । हाम्रा सबै सांस्कृतिक चाडपर्वहरू परम्पराबाट आएका छन् । यस्ता पर्वहरू आमाअमावस्या, पिताअमावस्या, लक्ष्मीपूजा, भातृद्वितीया, छठ, जन्माष्टमी (कृष्णजन्माष्टमी), तीज, दसैँ, होली, उधौली, उँभौली, संक्रान्ति, पुर्णिमा, अष्टमी, पञ्चमी आदि हुन् । यस्ता दिनहरू तिथि, ग्रह, नक्षत्र आदि ज्योतिषीय गणनाबाट निर्धारण गरिएका हुन्छन् । यीमध्ये कतिपय दिनहरू पुराणमा लेखिएका छन् ।

हामी पुराण पढ्दैनौँ । नपढेपछि जान्दैनौँ । अनि जानेकाले पनि लेखेका श्लोक–मन्त्र जान्दछौँ, त्यहाँ उल्लेख गरिएका पात्र र वंशावली जान्दछौँ तर आजको मितिमा त्यसको उपादेयता नजानेको अवस्था छ । कथा जान्ने, देवीदेवता जान्ने, पूजा र मन्त्र जान्ने, मानव जीवन, मानव समाजसँग त्यसको सम्बन्ध नजान्ने ! विगतका पुराणका बुझ्ने, त्यसको आजसँगको सम्बन्ध नजान्ने अवस्था विद्यमान छ । यही हो अन्धविश्वासको जरो, पुराण अन्धविश्वास होइन, त्यसप्रतिको बुझाइ र असान्दर्भिकताको अनुसरण अन्धविश्वास हो । तर, एकमुष्ट भनाइ हुन्छ ः धर्म, धर्मशास्त्र, पुराण, सनातन, परम्परा, मान्यता, अन्धविश्वास हो । उसो भए संस्कृति के हो त ? !


परम्परामा तुलसीको पूजा गर्ने प्रावधान छ । आयुर्वेदमा तुलसीलाई ओखती मानिएको छ । हामी यसको यसको संरक्षणका लागि र उपयोगिताका लागि पूजा गर्दछौँ । यसलाई ठीक ढंगले नबुझ्ने अनि अन्धविश्वास भनिदिने । गाई उपयोगी उपयोगी जनावर, गाईको बहूपयोगिताको विषय विज्ञानसम्मत छ । यसै अर्थमा गाईको पूजा र संरक्षणलाई अन्धविश्वास भनियो । वर–पिपल उपयोगी, संरक्षण अन्धविश्वास । नदी आवश्यक र उपयोगी, नदीप्रतिको सम्मान अन्धविश्वास । नाग–सर्प उपयोगी, यिनीहरुप्रतिको सचेतना, सम्मान र संरक्षण अन्धविश्वास !

अन्धविश्वास भनिएका थुप्रै प्रावधानका साझा विकल्प दिन नसकेको अवस्था छ । वनको छेउमा वनदेवी भनेर राखिएको सार्वजनिक ठाउँ हुन्थ्यो, त्यो अहिले खोई ? बीचमा देवीको मौलो गाडेर राखेको पोखरी अहिले खोई ? धारा–पँधेरामाथि नागथानको नाममा स्वच्छ राखिेने गरेको ठाउँ खोई ? गाउँको बाहिर डहरमा हरेक शनिबार पूजा गरिने वर–पिपल, समीको चौतारी खोई ? फोहर नगर्ने गरी सुरक्षित राखिएका भञ्ज्याङका देउराली खोई ? कृषि र पशुपालन गर्ने किसानले गाई चराउन आवश्यक पर्ने सार्वजनिक गौचरन खोई ? समाजवाद, सामूहिक उत्पादन र सहकारिताका आधार मानिने झारा, पर्म खोई ? यी सबै ‘अन्धविश्वासको शिकार’ भइसके ।

गाउँ गाउँमा भट्टी रूपान्तरण भएर रेस्टुरेन्ट बनेका छन् । तर, टोल–छिमेक जुटेर बात मार्ने चौतारी–सार्वजनिक स्थल छैनन् । नयाँ र आधुनिक रूपान्तरणले दिनु पर्ने सार्वजनिक पुस्तकालय, बालबालिका खेल्ने उद्यान र प्राकृतिक विपत्तिमा काम लाग्ने सार्वजनिक खुला स्थानहरू छैनन् । मानिसहरू घरभित्रै बसेर टेलिभिजन, मोबाइल, कम्प्युटरमा विलासी विज्ञापनमा आँखा हटाउने माध्यम र सामाजिक वातावरण छैन । यसरी बन्ने संस्कृतिले मौलिक पहिचान दिइरहन सक्ला ?

जब परिवारका पितापुर्खाको श्राद्धको विषय हुन्छ, यसलाई अन्धविश्वास भनेर उडाइन्छ । भनिन्छ, उनीहरुले फूल देख्दैनन्, धुप सुँघ्दैनन् । स्तुति–प्रार्थना सुन्दैनन् । यी सबै अन्धविश्वास हुन्छ । त्यहीँ ठूला र सम्मानित नेताको स्मृति र श्रद्धाको विषय हुन्छ, दिवस मनाइन्छ, पुष्पगुच्छा, अबिर, अगरबत्ती र धुप विज्ञान बन्दछ । सबै देख्ने, सुन्ने, सँुघ्ने ठानिन्छ ।

सामान्यतया आशीष, कामना आदि अन्धविश्वासको श्रेणीमा पर्दछ, तर जन्म आउँछ एकसे एक शुभकामनाका कल्पित शब्द छाउँछन् । त्यहाँ शुभजन्मोत्सव भनियो भने सामन्ती, अन्धविश्वासी हुन्छ, ह्याप्पी बर्थ–डे भनियो भने विज्ञान जस्तो देखिन्छ । मौलिक परिकारले उत्सवको शोभा पुग्दैन, सात समुद्रपारिको केक विज्ञान बनेको हुन्छ । मैँ हुँ भन्ने वैज्ञानिकहरू पनि कसैको निधनमा स्वर्गीय, मृतात्मा, आत्माको शान्ति आदि बोल्छन्, लेख्छन्, यही कुरा संस्कृतमा भनियो भने अन्धविश्वास हुन्छ ।

र्वजनिक विदाइमा कामना, फूल–माला, अबिर, स्वागतमा तामझाम र पञ्चकन्याको उपयोग वैज्ञानिक र मौलिक संस्कृति हुन्छ, घरका ज्येष्ठ, श्रेष्ठ, मान्यजनलाई यही गर्नेहरू पाखे र रुढीवादी ठहरिन्छ । खोई हामीले संस्कृतिमा वैज्ञानिक विकल्प स्थापित गरेको ? पुराना अन्धविश्वास, नयाँ विदेशी ! हामी संस्कृति विहीन !
सबै सार्वजनिक क्षेत्रमा पङ्क्तिभेद छ, वरियताको रोलक्रम छ, यिनलाई समाजवादी, जनवादी, लोकतान्त्रिक सबैले मानिन्छ, यस्तै परापूर्व कालको विषय अन्धविश्वास र रुढीवादी कसरी हुन्छ ? यी विषय पार्टीका विधान र सरकारका नियममा हुँदा विज्ञान, जनजीवनमा हुँदा अन्धविश्वास हुन्छ र ? यो त ‘माछा मीठा, काँडा तीता !’ भनेजस्तो भएन र ? सार्वजनिक क्षेत्रमा पङ्क्तिभेद छ, वरियताको रोलक्रमको विकल्प के हुन सक्ला ?

मानिसहरू सम्झने शक्ति बढाउन अनेकौं विधि प्रयोग गर्छन्, सम्भवतः ओखती पनि सेवन गर्दछन् । कसैले पनि बिर्सने ओखती र खाद्य खोजेर खाँदैनन् । देख्नको लागि पनि दृष्टि बढाउने ओखती प्रयोग गर्दछन् । यसका लागि चस्मा पनि प्रयोग गर्दछन् । तर, बिर्सन पर्ने विषय पनि त हुन्छन् । नदेख्न, नहेर्न पर्ने पनि विषय हुनन्, कोही पनि आँखा चिम्लेर हिँड्दैन । बोल्न र बोल्ने कला विकास गर्न अनेकौं उपाय अवलम्बन गर्छन् । मानिस सम्झेर दुःखी, देखेर दुःखी छन् । बोलेर दुःख पाएका छन् । छन् नि, होइन ? स्मरणशीलता, दृष्टिकोण, संयमित वाणितिर ध्यान दिन सके राम्रो हो । ‘अध्यात्म’ भनिने पूर्वीय जीवनमा यी विषय यथेष्ट छन् । योग, ध्यान, मौनव्रत आदि यिनका केही उदाहरण हुन् । यस्तो विषय पूर्वीयबाहेक अन्यत्र पनि छ कि ? मेरो जानकारीमा छैन ।

प्राचीन प्रवन्धहरु अध्ययन गर्दा परिवर्तनशीलता र परिष्कारको विषय उच्च देखिन्छ । यसको उदाहरणका रूपमा विष्णुका अवतारहरूलाई लिन सकिन्छ । सधैँ उस्तैले काम चल्ने भए अवतार किन फेरिन्थे । काम बाँडेर गर्ने प्रावधान त सामाजिक वर्ण विभाजनभन्दा अघिको देखिन्छ । एक्लैले सबै गर्ने भए सरस्वती, लक्ष्मी, कुबेर, नारद, इन्द्र, वृहस्पति, शुक्र, जय, विजय, यमराज, चित्रगुप्त आदि किन चाहिन्थे ? सबै राजकीय र व्यवस्थापकीय काममा लागेर हुने भए खोज–अनुसन्धानका लागि सप्तऋषि समूहको प्रावधान किन हुन्थ्यो ? सबैलाई एकैनास हुने भए स्वर्ग, मत्र्य, नर्क किन बनाउनुपथ्र्याे ? एउटै असल वस्तुले सबैथोक हुने भए पञ्चामृत किन चाहिन्थ्यो ? पञ्चगव्य किन चाहिन्थ्यो ? पातैले मात्रै हुने भए पाँच प्रकारका पात (पञ्चपल्लव) किन आवश्यक हुन्थ्यो र ? ठूलै रुखले मात्र हुने भए दुबो, कुश किन चाहिन्थ्यो होला ? हाम्रो पूर्वीय संस्कृतिले सबैको आवश्यकता, अस्तित्व र भूमिका स्पष्ट राखेको छ ।

हामीलाई हाम्रा प्राचीन प्रवन्धले होइन, हाम्रो बुझाइले अन्धविश्वासी बनाएको हो । हाम्रा सबै वेद, पुराण आदिले हामीलाई निरन्तर परिष्कार गर्ने आधार नै प्रदान गर्दछन् । शास्त्र अन्धविश्वासका स्रोत होइनन्, हामी पौडिन होइन, बग्न रुचाउँछौँ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)