कोरिया नेपाल बहुप्राविधिक शिक्षालयद्वारा दुना टपरी मेसिन हस्तान्तरण

मेचीकाली संवाददाता

१९ जेष्ठ २०८०, शुक्रबार
436 shares

बुटवल। प्राविधिक शिक्षा तथा व्यवसायकि तालिम परिषद् अन्तर्गतको आंगिक शिक्षालय कोरिया नेपाल बहुप्राविधिक शिक्षालयले स्वचालित दुना टपरी बनाउने मेसिन शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगरमा रहेको शिक्षालयले शिक्षालयमा निर्मित स्वचालित दुना टपरी बनाउने मेसिन माथागढी गाउँपालिका पाल्पाका अध्यक्ष यम बहादुर चिदी र सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत नित्यानन्द खनाललाई ३ वटा वातावरणमैत्री दुना टपरी मेसिन हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले प्राविधिक शिक्षालाई सीपसँग जोड्नुपर्नेमा विशेष जोड दिएका थिए । उनले विद्यार्थीलाई शिक्षासँगै व्यवहारिक ज्ञानको समेत उपलब्ध गराउन सकेमा थप सहयोग पुग्ने बताए । त्यस्तैगरी माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बोल्दै वातावरणमैत्री मेसिन खरिद गरी गाउँपालिकाका विभिन्न वडामा आयआर्जनको माध्यम बनाई पालिकाबासीलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा शिक्षालयका उपप्रमुख किरण काफ्ले, पिसीआइजी अफिसर निरज तिवारी, प्रशासकीय अधिकृत अजिता शर्मा ज्ञवाली, लेखा शाखा प्रमुख प्रमोद पौडेल, शाखा प्रबन्धक हुम बहादुर महोत्रालगायतले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा बुटवल–१२ का वडा अध्यक्ष डिल्लीप्रसाद आचार्य, वरिष्ठ समाजसेवी उदयराज काफ्ले, चारपाला सामुदायिक वनका अध्यक्ष जगत पौडेललगायतले मन्तव्य राखेका थिए । कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्राचार्य तथा वरिष्ठ इन्जिनियर नविन किशोर गैरेको अध्यक्षता, शिक्षालयका उत्पादन इकाई संयोजक टामलाल खनालको स्वागत र शिक्षालयका उपप्रमुख किरण काफ्लेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कोरिया नेपाल बहुप्राविधिक शिक्षालयले २०६९ साउन ६ गतेदेखि अध्यापन गराएको संस्थाले सञ्चालनको १२ वर्षमा आईपुग्दा गुणस्तरीय शिक्षा, दक्ष प्रशिक्षकहरुद्वारा अध्यापन गराउँदै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शिक्षालयले डिप्लोमा ईन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ्ग, अटोमोबाइल्स, रेफ्रिजेनेरेशन एण्ड यअर कण्डिसनिङ्ग, इनफरमेसन टेक्नोलोजीलगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको इलेक्ट्रिक इन्जिनियर प्रकाश शर्माले बताए । त्यस्तैगरी छोटो अवधिका तालिमहरु सञ्चालन भएको शिक्षालयमा विभिन्न तह तथा सेमेष्टरमा गरी ७ सय ५० विद्यार्थीहरु अध्ययनरत भएको उत्पादन इकाई संयोजक टामलाल खनालले बताए ।