मायादेवी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

मेचीकाली संवाददाता

२१ जेष्ठ २०८०, आईतवार
228 shares

सुनिल आचार्य

कपिलवस्तु । मायादेवी गाउँपालिकाको आफ्नै प्रशासकीय भवनको एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ पकडीमा साढे ३ करोड रुपैयाँ लागतमा निर्माण गरिएको प्रशासनिक भवनको जेठ २१ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गर्नु भएको हो ।

गाउँपालिकाको आफ्नै जग्गामा करिब साढे ३ करोडमा उक्त भवन निर्माण भएको हो । सोको लागि जिल्ला समन्यव समिति र गाउँपालिकाको समपुरक कोषबाट निर्माण गरिएको बताइएको छ । विगतमा भवन नहुँदा गाउँपालिकाले ३ स्थानमा लिएको भाडाको घरमा एक लाख बढी भाडा तिर्दै आएको थियो ।

सेवा प्रवाहलाई प्रभावकारी र छिटो छरितो होस् भन्ने उद्देश्य सहित सुविधा सम्पन्न आफ्नै भवनबाट काम हुने बताइएको छ । प्रशासनिक भवनसँगै वडा नं १ को कार्यालय र सभाहल समेत मन्त्री आर्चायले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा वोल्दै मन्त्री आचार्यले कार्यालय निर्माणसगै गाउँपालिकाले विकास र जनताका आवश्यकतालाई सम्बोधन गर्नु पर्ने बताउनु भयो । कृषिको समस्या समाधानका लागि तत्काल प्रहरी प्रशासनले किसानहरुले व्यक्तिगत हिसावले ल्याएको मलखाद र बिउबिजनलाई भन्सारमा कडाई नगर्न आग्रह गर्नुभयो । यसक्षेका महिला बालबालिका तथा जेष्ठ नागरिकहरुका लागि आफ्नो मन्त्रालयबाट हुने सुबिधाको लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । स्थानीय तह जनताको प्रत्यक्ष सरोकार राख्ने तह भएकाले दैनिक जिवन यापनका साथै भौतिक विकास र सामाजिक विकासमा समेत पालिकाले काम गर्नु पर्ने मन्त्री आचार्यको भनाई छ ।

जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले सिचाई र कृषिको समस्यालाई समाधान गर्नका लागि स्थानिय निकायले निती तथा बजेट कार्यक्रममा पहिलो प्राथमिकता दिन आग्रह गर्नुभयो । यस्तै शिक्षा , स्वास्थ्य र शुद्धपिउने पानीको यस क्षेत्रमा अभाव भएको हुँदा यस बिषयमा पालिका संवेदनशिल हुनुपर्ने बताउँदै छाडाचौपाया व्यवस्थापनको लागि पालिकाले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्य मधुसुधन शरण चौधरी, पूर्व मन्त्री दानबहादुर चौधरी, पूर्व सांसद अतहर कमाल, पूर्व प्रदेश भौतिक पूर्वाधार मन्त्री शहसराम यादव, अन्तरिम सविधान सभा सदस्य रामलौटन तिवारी, पूर्व गाउँपालिका उपाध्यक्ष गीतादेवी तिवारी, वडा अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतले शुभकामना दिनु भएको थियो ।

प्रशासनिक भवन बनेसंगै अब एउटै भवनबाट सेवा प्रवाह हुने र एकद्धार प्रणालीबाट कार्य गर्दा थप जनतामा सहजता आउने गाउंपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमानले बताउनु भयो । नयाँ भवनबाट अब दैनिक प्रशासनिक कामको शुरुआत हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर प्रसाद यादवले बताउनु भयो । ‘३ ठाउँमा कर्मचारी हुँदा समस्या भएको थियो अब भने सहज हुने भएको छ’, उहाँले भन्नु भयो । साढे तीन तलाको भवन निर्माणकोे ठेक्का अर्याल निर्माण सेवा, कपिलवस्तुले पाएको थियो । १० कठ्ठा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा मायाँदेवी गाउँपालिकाका उपाध्यक्ष , राजनितीक दलका प्रतिनिधिहरु , सम्पुर्ण वडा अध्यक्षहरु , जिल्ला समन्वय अधिकारी , बिषयगत शाखा प्रमुखहरु , बिद्यालयका प्रधानाध्यापकहरु , समाजसेवी , बुद्धिजिवीहरु , सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।