वालिङ नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८०, शनिबार
245 shares

मुक्ति न्यौपाने

वालिङ । वालिङ नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले “कृषि, उद्योग, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार स्मार्टसिटी वालिङ निर्माणको आधार” भन्ने नारासहित शुक्रबार पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
निर्वाचित भएपछि एक वर्ष सम्म गरेको विकास निर्माण सम्बन्धी जानकारीसहित नगरबासीको गुनासा, सुझाव तथा सल्लाह लिने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले सेवा प्रवाहकाबारेमा जानकारी गराएपछि सुझाव सल्लाहका लागि सहभागीहरुलाई समय दिएका थिए । नगरपालिकाले नीति तथा कार्यक्रम बनाई वार्षिक बजेट निर्माण गर्ने बेलामा सार्वजनिक सुनुवाई गर्नु उचित समय नभएको सहभागी बक्त्ताहरुको भनाइ थियो ।

नगरपालिका भित्र भौतिक निर्माणमा गुणस्तरीय काम हुन नसक्दा छिट्टै गरेका काम बिग्रने र पुनः निर्माण गर्नुपर्दा लगानीको दुरुपयोग हुनेतर्फ नगरपालिकाले ध्यान पुर्‍याउन नसकेको बताएका थिए ।

यसैगरी शान्ति सुरक्षा, अमन चयन र सुशासनमा ध्यान दिन सहभागीहरुको राय छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ गराउन नगरपालिकाको ध्यान दिनुपर्ने भन्दै निजी विद्यालय र स्वास्थ्य संस्था मापदण्ड अनुसार चलेका छन् वा छैनन् सो बारे जानकारी भनेर अनुगमन गर्नुपर्ने विचार सहभागीहरुले गुनासो राखेका थिए ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहयोग पुगोस भनेर अन्तिम समयमा आएर सार्वजनिक सुनुवाई गरिएको बताए । उनले भने नगरबासीहरुको सुझाव तथा सल्लाहलाई गायत्री मन्त्रकारुपमा लिने र काम गर्नका लागि मार्ग दर्शक हुने विश्वास व्यक्त गरे ।

जनप्रतिनिधिले सवै जानेको नहुने सबै विज्ञ पनि नभएको बताउँदै नगर प्रमुख खाँणले सबैलाई सँगै लिएर काम गर्ने बताए । वालिङलाई सिकाईकोरुपमा लिनेगरी काम गर्ने भन्दै अघिल्लो समयका जनप्रतिनिधिले गरेका राम्रा कामलाई निरन्तरता दिएर अगाडि बढ्नेसमेत उनले बताए ।

आँधिखोला उत्खननको विषयमा उठेका प्रश्नको जवाफमा नगर प्रमुख खाँणले खोला दोहनको विषय देशैभरिको समस्या रहेकाले बहसकोरुपमा लैजानुपर्ने बताए । सिद्धान्त र राजनीति जीवनका लागि हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै जनताको हितमा कामगर्ने बताए । कुनै दल वा व्यक्ति भन्दा पनि आम नागरिकको हितमा काम गर्ने प्रतिवद्धता गरेका थिए ।

यसैगरी उप प्रमुख कविता तिवारीले कृषिमा आमूल परिवर्तन गर्ने योजना रहेको बताइन् । पछिल्लो समय लगाएको खेति बाँदरले खाइदिने भएकाले किसानहरु समस्यामा परेका र यसका लागि हेरालुको व्यवस्था गरिने उप प्रमुख तिवारीले जानकारी दिइन । सहभागीहरुको जिज्ञासाको जवाफ दिंदै उनले यो वा त्यो नभनी नगरबासीको साझा सेवककारुपमा आँफूहरुले काम गर्दै आएको बताइन् ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले कार्य व्यस्तता र प्राविधिक कारणले सार्वजनिक सुनुवाई गर्न नसकिएको बताए । शैक्षिक सुधारका लागि अनुगमन टोली खटाइएको बताए । हालसम्म वार्षिक बजेटको ५५ प्रतिशत मात्र खर्च भएको र बाँकि काम र खर्च नहुनुमा नागरिकहरु पनि जिम्मेवार रहेको बताए । योजना छनोट गर्ने तर समयमा सम्झौता गर्न नगरवासी नआउने हुँदा यस्तो हुन गएको प्रमुख प्रशासकीय शर्माको भनाइ थियो ।