दुर्घटना न्यूनीकरण लागि चालकको स्वास्थ्य र आँखा परीक्षण

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८०, शनिबार
182 shares

बुटवल । जिल्लामा बढिरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि पश्चिम नवलपरासीमा सवारी चालक र सहचालकको निःशुल्क स्वास्थ्य र आँखा परीक्षण शिविर गरिएको छ ।

रामग्राम नगरपालिकाको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा बिहीबार भएको सो शिविरमा जिल्लाका लामो तथा छोटो दूरीका सवारी चालक र सहचालकको सहभागीता रहेको थियो । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रामग्राम ३ स्थित ट्राफिक प्रहरी कार्यालयमा ८० जना चालकको स्वास्थ्य र आँखा परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक डम्बर गिरीले जानकारी दिए । सवारी चालकको कमजोर आँखाका कारण कयौैँ दुर्घटना हुने गरेको उनले बताए ।

चालकको ब्लड प्रेसर, अक्सीजन लेबल र आँखाको परीक्षण गरिएकोमा २५ जनामा आँखाको सामान्य समस्या र १३ जनामा जटिल समस्या देखिएकाले उपचारको लागि सुझाव दिइएको छ । कार्यक्रममा सामान्य औषधी निःशुल्क बितरण गरीएको थियो । नगरपालिका र ट्राफिक प्रहरीले बेलाबेला गर्ने गरेको स्वास्थ्य र आँखा परीक्षणले आफूहरुलाई निकै फाइदा भएको चालकहरुले बताएका थिए ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रसिद्धिका कंडेल र जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक हरि भट्टराईको उपस्तथीतिमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि चालकहरुलाई प्रशिक्षणसमेत दिइएको थियो ।