बुटवलमा लुटपाट गर्ने क्रममा ढुंगाले हानेर एक पुरुषको हत्या

मेचीकाली संवाददाता

२८ जेष्ठ २०८०, आईतवार
141 shares

बुटवल । बुटवलमा कुटपिट गरी एक पुरुषको हत्या भएको छ । आइतबार दिउसो बुटवल उपमहानगरपालिका ११ देविनगरमा अन्दाजी ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने उद्देश्यले कुटपिट गरी हत्या गरिएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । मृतक पुरुषको पहिचान खुल्न नसकेको उनले बताए ।

हत्यामा सम्लग्न भएको आरोपमा १२ वर्षीय नाबालकसहित पाल्पाको भालेबास घरभई बुटवलमा बस्दै आएका ३१ वर्षीय गणेश थापा मगरलाई पक्राउ गरीएको प्रहरी निरीक्षक पौडेलले बताए । लुटपाट गर्ने क्रममा ढुंगा प्रहार गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए । प्रहरीले उनिहरुको साथबाट एक हजार पाँचसय रुपैयाँ बरामद गरेको छ ।

बुटवल देविनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा पैसा लुटपाट गर्ने उद्देश्यले ढुंगाले शरिरका बिभिन्न अंगमा प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक पौडेलले बताए । स्थानियले प्रहरीलाई खबर गरेको एक घण्टामा हत्यामा सम्लग्न भएकाहरुलाई पक्राउ गरिएको उनले बताए ।

हत्यामा सम्लग्नहरु बजार क्षेत्रमा कबाडी सामान संकलन गरी बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनिहरु यसअघि अपराधीक घटनामा सम्लग्न भए नभएकोबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।