लागुऔषध दुरुपयोग तथा ओसारपसार रोक्नका लागि बिशेष कार्यक्रम

मेचीकाली संवाददाता

३० जेष्ठ २०८०, मंगलवार
120 shares

कपिलवस्तु : जिल्ला विपद व्यवस्थापन समिति कपिलवस्तुको बैठक जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सरोकारवालाहरु बिच सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा सुरक्षा निकाय, स्थानीय तह लगायत सम्पूर्ण सरोकारवालाहरु सँगको समन्वय र सहकार्यमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार रोक्नका लागि कार्यक्रम संचालन सम्बन्धि निर्णयहरु गरिएको छ ।

नेपालमा लागु औषधको दुरुपयोग तथा अवैध ओसारपसारलाई रोक्ने उद्देश्यले २६ जुनलाई हरेक वर्ष लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउदै आईरहेको छ ।

यसै सन्दर्भमा सन् २०२३ मा यस दिवसलाई सप्ताहव्यापी रुपमा भव्यताका साथ मनाउन नेपाल सरकार गृह मन्त्रालय (लागु औषध नियन्त्रण शाखा) को ०८० जेठ २४ गतेको पत्रबाट कार्ययोजना सहित निर्देशन प्राप्त भएको प्रमुख जिल्ला अधिकरी आचार्यले बताउनु भयो ।

सोही कार्ययोजना बमोजिम जिल्लामा सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ तथा लागु औषध नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिरया तथा छलफल संचालन गर्ने गरी कार्ययोजना स्वीकृत गर्ने निर्णय गरिएको छ । जिल्ला सदमुकाममा रहेको स्थानीय तहसँग समन्वय गरी स्कुल÷ कलेजमा लागु ‍औषध विरुद्ध सचेतना कक्षा संचालन गर्ने , स्थानीय तहको नीति तथा कार्यक्रम एवं बजेटमा लागु औषधलाई मूल प्रवाहिकरण गर्न स्थानीय तहसँग समन्वय गर्ने लगाएतका कार्ययोजनाहरु निर्माण गरिएको छ ।

कार्ययोजनामा जिम्मेवारी तोकिएका निकायहरुले तोकिएको समयमै आ–आफ्नो जिम्मेवारी कडाइका साथ पालना गर्ने तथा उल्लेखित सम्पूर्ण कार्यक्रमको फोकल पर्सनको रुपमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत निर्मल पोख्रेललाई तोक्ने निर्णय गरिएको बिपद व्यवस्थापन समितीले जनाएको छ ।

बैठकमा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्य , कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल , महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम , बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा , शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी , यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारी , बिभिन्न राजनितीक दलका प्रतिनिधिहरु , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रेम बहादुर बस्नेत , शसस्त्र प्रहरी प्रमुख जिवन केसी , गैसस महासंघ कपिलवस्तु , युएनएफपीए , नेपाल रेडक्रससोसाईटी , इन्सेक लगाएतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।