सबैले भनौँः स्वधर्मे निधनं श्रेयः परधर्मो भयावह !

मेचीकाली संवाददाता

३१ जेष्ठ २०८०, बुधबार
1428 shares

घनश्याम कोइराला

‘स्वधर्मे निधनं श्रेय परधर्मो भयावह’को अर्थ हो– परधर्ममा लाग्नुभन्दा आफ्नै धर्ममा रहेर मर्नु बरु श्रेयष्कर हुन्छ, किन भने परधर्ममा लाग्नु खतरनाक छ । यो पङ्क्ति श्रीमद्भगवद्गीताको तेस्रो अध्यायको ३५ औँ श्लोकको आधा हो । ‘महाभारत’ भनिने कौरव–पाण्डव युद्धमा अर्जुनको रथ र युद्ध दुवैको सारथी बनेका श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश हो । मृत्युभन्दा पनि खतरनाक हुने परधर्ममा मानिस किन लाग्छन् कुन्नि ?!

नेपालमा आएको पछिल्लो राजनीतिक परिवर्तन पछिको राज्य र राज्यको ‘धर्म’ सम्बन्धी बहसमा श्रीमद्भगवद्गीताको यो श्लोकांशलाई उधृत गरेर ‘हिन्दु’ पहिचान भएका सनातनीहरूको धार्मिक कट्टरताको पुष्ट्याइँ गर्ने भरमग्दूर प्रयत्न गर्ने गरिएको पाइन्छ । यसरी प्रयास गर्नेहरूले यस कथनको देश, काल, परिस्थितिको सामान्य आँकलनसम्म पनि गरेको पाइँदैन । यस पङ्क्तिको प्रयोग धार्मिक कट्टरताको सूत्रका रूपमा आरोपित गर्न प्रयोग गरिएको पाइन्छ ।

यहाँ धर्मबारे चर्चा गर्न खोजिएको होइन । धर्म मानिसको स्वेच्छाको विषय हो । धर्म मान्ने वा नमान्ने, कुन धर्म मान्ने विषय व्यक्तिले आफै तय गर्ने हो । समाजले वा राज्य यही धर्म गर या गर्नुपर्छ, यो धर्म नमान या नगर भन्ने र नागरिकले त्यही मान्नुपर्छ भन्ने हुनुहुँदैन । धर्मनिरपेक्षताको मूल आसय यही नै हो । राज्यले नागरिकलाई धार्मिक उर्दी गर्नु उचित होइन, तर नागरिकको धार्मिक आस्थाको सम्मान तथा संरक्षण गर्नु राज्यको दायित्व हो । साथै, स्वतन्त्रता र निरपेक्षताको नाममा सामाजिक–सांस्कृतिक प्रचलनमा विच्छृङ्खलता आउने गरी धर्मको आयात गर्ने प्रपञ्चहरूमाथि लगाम लगाउनै पर्दछ ।

‘स्वधर्मे निधनं श्रेय’को आसय धार्मिक बट्टरता होइन, प्रतिबद्धताको विषय हो । आप्mना आचरणमा रहने हो भने सामाजिक अराजकता बढ्दैन । स्वतन्त्रताको नाममा बढिरहेको सामाजिक अराजकता रोक्नका लागि पनि मानिसहरू आआपूmले स्वीकार गरेका मत—मान्यता, सिद्धान्त, विचारहरूमा प्रतिबद्ध रहनु राम्रो हो । यसमा अनावश्यक हस्तक्षेप र अतिक्रमण गर्नु गलत हो ।

श्रीमद्भगवद्गीताको समयबारे बुझ्ने इतिहासका जानकारहरूका अनुसार श्रीमद्भगवद्गीताको समय आजभन्दा कम्तीमा पाँच हजार वर्षभन्दा पहिलेको समय हो । यो भनिएको समय त्यो समय हो, जतिबेला अहिलेका ‘धर्म’ भनिएका इस्लाम, इसाई, शिख, जैन आदि प्रचलनमा थिएनन् अर्थात् यी ‘धर्म’हरूको प्रतिपादन नै नभएकोले प्रचलनमा नै थिएनन् । अनि यो उपदेश कृष्णद्वारा अर्जुनलाई त्यस्तो बेलामा दिइएको थियो, जतिबेला वक्ता र श्रोता दुवै युद्ध मैदानमा थिए । युद्ध भूमिमा डटिरहेको अर्जुनलाई युद्धकै निम्ति दिइएको उपदेशमा कथन भएको ‘धर्म’को अर्थ के हुन्छ ? पूर्वाग्रह नराखेर सोच्ने हो भने स्पष्ट हुन सकिन्छ ।

जहाँ, जतिबेला, जसमाथि, जे जिम्मेवारी छ, त्यतिबेला उसका लागि त्यही नै धर्म हो भन्ने विषय स्पष्ट छ । मानिसका अनेकौँ सम्बन्ध र जिम्मेवारीहरू हुन सक्दछन् । एउटै मानिसको पनि सम्बन्ध अनुसारको जिम्मेवारी हुन्छ । एकजना शिक्षक खेलाडी, संगीतज्ञ, कवि…आदि पनि हुन सक्दछन् । उनले पढाउँदा शिक्षकको धर्म, खेल्दा खेलका नियम, संगीत भर्दा सरगम÷ताल÷स्वरारोह आदिमा ध्यान दिएर जिम्मेवारी पूरा गर्नपर्छ र कविता लेखन वा कविसम्मेलनमा छन्द, पद, मात्रा, अलङ्कार आदिमा सचेत बन्नुपरेको हुन्छ । यी सबै तत्तत्समयका धर्म हुन् ।

श्रीमद्भगवद्गीतालाई धर्मशास्त्र मानिरहँदा पनि यसको ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावह’लाई निरपेक्ष कट्टरताको सूत्रको रूपमा बदनाम गरिरहन आवश्यक छैन ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ यो पङ्क्ति रामायणको हो । वाल्मिकि रामायणमा रहेको यो पङ्क्ति सबै देशभक्तहरूका लागि प्रिय मन्त्र हो । यसको प्रसंग ः अयोध्याका रामले रावणसँग युद्ध गरेर लङ्का विजय गरे । राम, लक्ष्मणलगायतले आपूmहरूद्वारा विजित लङ्का अवलोकन गरे । यस क्रममा लक्ष्मण लङ्काको सुन्दरता र वैभवबाट अत्यन्त प्रभावित भएको अवस्थामा रामले भनेका थिए– ‘अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।’ हे लक्ष्मण ! यद्यपि यो सुनै सुनले बनेको लङ्का सुन्दर छ, तर मलाई यसमा मेरो रूची छैन, किनभने जननी र जन्मभूमि स्वर्गभन्दा पनि महत्वपूर्ण हुन्छ । रामले लक्ष्मणलाई आफ्ना लागि अयोध्या नै महत्वपूर्ण रहेको बताएका थिए । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’को प्रसंग यसरी अघि बढेको हो ।

समाज र राष्ट्रलाई काम लाग्ने यस्ता महत्वपूर्ण कालजयी विषय हाम्रा धर्मशास्त्रहरूमा रहेका छन् । यिनले हिन्दूहरूलाई मात्र भन्ने अर्थ र भाव बोक्दैनन् । यी यस्ता विषय हुन्, जोसुकैलाई, जहिलेसुकै काम लाग्दछन् ।

सनातनको उदारताका कारण र भौगोलिक तथा अन्य अनुकूलताका कारण प्रतिपादन भएर प्रचलनमा आएका अन्य धर्महरूका आराध्यका विषयमा अलि गहिरिएर अध्ययन गर्ने हो भने हिन्दूहरूको उदात्तता आफै प्रकट हुन्छ । हिन्दूहरू आफ्नो प्रथा, पद्धति, धर्मलाई अनादि मान्दछन् । सहजता र एकरूपताका लागि उनीहरूले आफ्ना प्रथा, पद्धति, धर्मलाई ‘सनातन’ भनेका छन् । मूलतः वेदलाई आधारग्रन्थ माने पनि आचरण र अवतारका विषयमा अन्य स्मृतिग्रन्थहरू सनातनीका व्यवहार ग्रन्थका रूपमा रहेका छन् । सनातनीका यी ग्रन्थहरूमध्ये श्रीमद्भागवत, गरुडपुराणलगायतका १८ पुराण र रामायण, महाभारत प्रमुख ग्रन्थ हुन् ।

ईस्लाम, ईसाई, शिख आदि पछि प्रचलनमा आएका धर्मका पनि आ–आफ्ना आधार ग्रन्थहरू रहेका छन् । ती कुरान, बाईबल, गुरुग्रन्थ साहिब हुन् । तिनैका आधारमा ती धर्मका अनुयायीहरू आफ्ना धार्मिक कृयाकलाप गर्दछन् । सही–गलतको टुङ्गो लगाउने गर्दछन् ।

यसै त धर्म समाजको आवश्यकताले सृजिएका, मानव हितकारी प्रवन्धहरू नै हुन् । मानव समाजलाई सुव्यवस्थित बनाउन गरिएको हुनाले सबै धर्महरूको सारमा जीवनमा मानव कल्याण र जीवनपछि अमरत्वको कामनालाई सर्वोपरि स्थान दिइएको पाइन्छ । यी प्रवन्धहरूमा कतिमा कालजयी पक्ष रहेका छन् भने कतिपय कालसापेक्ष रहेका छन् । समय बदलिँदा औचित्य नभएका विषयहरूलाई छोड्दै र कालजयी पक्षहरूलाई समयसँग जोड्दै जाने हो भने धर्म भनिने विषयले मानव हित र कल्याण गरिरहन सक्ने देखिन्छ ।

धर्म, ईश्वर आदि नमान्नेहरू धर्मशास्त्र पनि मान्दैनन् । तर धर्म, ईश्वर आदि नमान्नेहरू पनि विष्णु, राम, कृष्ण, ब्रह्मा, ईन्द्र, शिव आदिको नकारात्मक भूमिकाको विरोध गर्दछन् । यिनका विरोधी मधुकैटभ, रावण, कंस, बालि, सूर्पनखा आदिको पक्षपोषण गर्दछन् । यी दुवैथरी पात्र पौराणिक पात्र हुन् । पुराण नपढी पौराणिक पात्रका विषयमा जानकारी हुँदैन । यो विशेष रूपमा ध्यान दिन योग्य प्रसंग हो ।

जहाँ धर्म छ, त्यहाँ ईश्वर छ । जहाँ ईश्वर छ, त्यहाँ ईश्वरका अवतार छन् । जहाँ अवतार छन्, त्यहाँ लीला छन् । जहाँ लीला छन्, त्यहाँ जिम्मेवारी र भूमिका छन् । जहाँ जिम्मेवारी र भूमिका छन्, त्यहाँ गुण–अवगुण दुवै छन् । जहाँ गुण–अवगुण छन्, त्यहाँ ग्राह्य र त्याज्य दुवै छन् ।

कुरान, बाइबल, गुरुग्रन्थ साहिब आदिमा वर्णित आराध्यहरूका कुनै कमजोरी ती ग्रन्थहरूमा छैनन्, तर विष्णु, राम, कृष्ण, ब्रह्मा, शिव आदिको नकारात्मक वा कमजोरीहरूको उल्लेख हिन्दू धर्मग्रन्थहरूमा पाइन्छ । रामको कमजोरी र रावणको विशेषता जान्नुपरे रामायणमा पाइन्छ । कंसका विशेषता र कृष्णका कमजोरी महाभारत, कृष्णचरित्रमा पाइन्छ । ब्रह्मा, विष्णु, शिव, दुर्गा, ईन्द्र, नारद आदिको कमजोर पक्ष जान्न भागवत आदि पुराण पढे हुन्छ । त्यतिबेलाका ऋषिमुनिका कमजोरीहरू जान्न पनि पुराणहरू पढे थाहा पाइन्छ । अरु धर्मका आराध्यहरूका कमजोर विषय थाहा पाउन सम्बन्धित धर्मग्रन्थहरूमा पाइन्छ र ? यतिको उदार धर्मशास्त्र हिन्दूहरूको बाहेक अरु कसको होला ? त्यसैले हिन्दूत्वका उदारताको सम्मान गर्नुपर्छ । यसका नाममा गरिएका छुवाछुत आदि विभेदकारी परम्परा उन्मूलन गर्नपर्छ । यस्ता विषय कुनै कालखण्डका प्रवन्धकीय आवश्यकताले सृजिएका होलान्, आज ती समयसापेक्ष छैनन् ।

सनातन संस्कृति हाम्रो राम्रो संस्कृति हो । देखिए बुझिएका केही कमी कमजोरीका कारण यसको समग्रतामाथि आक्रमण गर्नु राम्रो होइन । विरोध होइन, बरु यहीँको प्रकृतिमा जन्मे–हुर्केको, यहीँको उदात्त प्रवृत्तिको स्रोत यसका आधार ग्रन्थहरू (वेद, पुराण आदि) अध्ययन गरौँ । यहीँ विकास भएका एउटा मान्यताका पक्षधरले अर्को मान्यताको विरोधका कारण नेपालको बौद्धधर्म कमजोर भइरहेको छ । हिन्दु विरोधका नाममा बौद्ध तथा परम्परादेखि चलिआएका अन्य धर्महरू खुम्चिदै गएका छन् । पछिल्लो जनगणनाको तथ्याङ्कले पनि हिन्दु नघटेको, बौद्ध घटेको देखाएको छ । हिन्दु यथावत् रहनु सकारात्मक भए पनि बौद्ध घट्नुलाई सकारात्मक मान्न सकिँदैन । त्यसैले सबैले भनौँ ः स्वधर्मे निधनं श्रेयः परधर्मो भयावह ! (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)