गार्गी एकेडेमीमा शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

३२ जेष्ठ २०८०, बिहीबार
259 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले बिहीबार शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न दक्ष प्रशिक्षकहरू ल्याएर एकेडेमीले प्रशिक्षण दिएको हो । कार्यक्रममा प्रशिक्षण दिँदै काठमाडौं विश्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञवालीले वर्तमान शिक्षण पद्धतिको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै काठमाडौं विश्वविद्यालयका ईएलई हेड डा. हेमराज काफ्लेले बाल मनोविज्ञानलाई बुझेर कक्षाकोठा व्यवस्थापन गर्नुपर्ने बताउँदै विद्यार्थीहरूको रुचिलाई आधार मानेर शिक्षण सामग्री तयार गरी कक्षा सञ्चालन गर्नुपर्ने बताए ।
काठमाडौं विश्वविद्यालयकै ईएलई विभागका डा.सिद्धार्थ ढुंगानाले शिक्षण क्रियाकलापमा प्रविधिको प्रयोग र अधिकांश विद्यार्थीमा देखिएको मोबाइल प्रयोगको समस्या र समाधानबारे शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रेम पोखरेलले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए ।

विद्यालयका प्राचार्य भुवन अधिकारीले अध्यापन शैलीमा परिवर्तन आवश्यक रहेको बताउँदै पुरानो ढर्राबाट कक्षाकोठाको शिक्षण लैजाँदा सिकाई क्रियाकलापमा परिवर्तन हुन नसकेको बताए । प्राचार्य अधिकारीले विद्यार्थीहरुमा समेत पठनपाठनमा नयाँपन दिन प्रशिक्षण कार्यक्रम राखेको बताए । गार्गी एकेडेमी र काठमाडौं युनिर्भसिटी हाई स्कूलबीच शैक्षिक सहकार्य योजनालाई अगाडि बढाउन पहल गर्ने प्राचार्य अधिकारीको भनाइ छ । कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्य तथा शिक्षाविद् राजेन्द्रप्रसाद शर्मा पाण्डेले पनि बोलेका थिए ।

विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता, सञ्चालक जीवनप्रसाद अधिकारीको स्वागत तथा शिक्षक नवराज न्यौपानेको सञ्चालनका कार्यक्रम भएको थियो । गार्गी छोटो समयमै यस क्षेत्रमा प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा विकास भएको छ । विद्यालयमा २ हजारभन्दा बढी विद्यार्थी पढछन ।