अटो उद्घाटन तथा सम्मान कार्यक्रम

मेचीकाली संवाददाता

९ असार २०८०, शनिबार
423 shares

पार्वती आचार्य

कपिलवस्तु । अटो उद्घाटन तथा सम्मान कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न गरिएको छ । नव जिवन संस्था कपिलवस्तुको आयोजना तथा स्थानियतहहरु कपिलवस्तु नगरपालिका , कपिलवस्तु नगरपालिका वडा नं. ३ को वडा कार्यालय , महाराजगंज नगरपालिका , बुद्धभूमि नगरपालिका , बिजयनगर गाउँपालिका र ईन्द्रेणी ग्रामीण बिकास केन्द्रको आर्थिक सहयोगमा अटो खरिद गरी एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले यौनिक तथा लैंगिंक अल्पसंख्यक समुदायको मानव अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । नव जिवन संस्थाले आयोजना गरेको अटो उद्घाटन कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नव जिवन संस्थाले यौनिक तथा लैंगिंक अल्पसंख्यकहरुलाई संगठित गर्न लागि रहँदा स्थानिय सरकारको समेत जिम्मेवारी रहेको बताउँदै जिल्लाका सम्पूर्ण स्थानियहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यौनिक तथा लैगिंक अल्पसंख्यक र अन्य समूदायको क्षेत्रमा काम गर्दै आएको नव जिवन संस्थालाई पालिकाको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउँदै व्यवसायलाई निरन्तरता दिन आग्रह गर्नु भयो । यौनिक तथा अल्पसंख्यक समुदायलाई पालिकामा आयआर्जनका लागि आव्हान गर्दा खुलेर आउन नसकेको हुँदा संस्थाले जिल्लाको पालिका अनुसारको तथ्यांक संकलन गरी स्थानियतह हरुलाई सहयोग गर्नुपर्नेमा जोडदिनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथी कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले समाजमा सम्मान रुपमा बाँच्न पाउने अधिकार सबैको भएको बताउनु भयो । स्थानिय सरकार र अन्य बिभिन्न संस्थाहरुले सहयोग गर्ने हो भने यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई अगाडी बढ्न टेवा पुग्ने बताउँदै नव जिवन संस्थाका लागि वडाको साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

यसैगरी कपिलवस्तु नगरपालिका सामाजिक बिकास शाखा अधिकृत पदम राज श्रेष्ठले यौनिक तथा अल्पसंख्यक समूदायलाई अगाडी बढाउन २०७२ साल देखि नगरपालिकाले बजेट संवोधन गर्दै आएको बताउनु भयो । समाजको अपहेलना , अपशब्दहरु सहदै छरिएर लुकिछिपी बसेको समूदाय पछिल्लो समय बिभिन्न परिस्थितीहरुलाई चिर्दै संस्था मार्फत व्यवसायी बन्न सफल भएको भन्दै शुभकामना समेत दिनु भयो । पहिचान सहित व्यवसाय गरी जिविको पार्जनलाई प्राथमिकता दिनुपर्दछ भन्नेउद्देश्यले कपिलवस्तु नगरपालिकाबाट रु. २ लाख र वडा नं. ३ बाट रु. १ लाख गरी रु. ३ लाख रुपैया सहयोग गरिएको श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा गैर सरकारी महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेयले नवजिवन संस्थाले गाईडलाईन बनाएर व्यवसाय संचालन गर्न सके आम्दानीको श्रोतलाई बृद्धि गर्न सक्ने बताउनु भयो । ईन्द्रेणी ग्रामीण बिकास केन्द्रका कार्यकारी निर्देशक प्रदिप शाहले नव जिवन संस्था मार्फत यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई बिगत पाँच बर्ष देखि सहयोग गर्दै आएको बताउनु भयो । हिंजका दिनमा समाजमा लुकेर बसेका समुदाय अहिले खुलेर आउनु नै ठुलो कुरा भएको बताउँदै समूदायलाई जिविकोपार्जनमा सहज पु¥याउन सहयोग गरिएको बताउनु भयो ।

इन्सेक ,मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले यस समुदायलाई सहज बनाउन राज्यले विभेद गर्न नहुने बताउनु भयो । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायहरुको मानव अधिकार प्रति कसैले पनि अपहेलना गर्न नहुनेमा जोडदिनु भयो ।

नव जिवन संस्थाका जिल्ला परियोजना संयोजक प्रेरणा विष्टले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई समाजले हेर्ने दृष्टि अझै परिवर्तन हुन नसक्दा समूदाय खुलेर अगाडी आउन नसकेको बताउनु भयो । गाउँ समाजमा नमिठो तरिकाले हामीहरुलाई गालि गर्ने , अपशब्द बोल्ने नाचेर र मागेर ज्यान पाल्ने भन्दै समाजको गालि खान बाध्य छौं । समाजमा सहज रुपमा हाम्रो अधिकार दिलाउन र हाम्रो समुदायलाई चिनाउन स्थानिय सरकारको पूर्ण जिम्मेवारी भएको बताउनु भयो । भाडाको घरमा संस्था चलाउँदै आएको हुँदा दशधुर भए पनि जग्गा उपलब्ध गराईदिन समेत स्थानियतहलाई आग्रह गर्नु भयो ।

नव जिवन संस्थाका चम्पाकली मुसलमानले समाजले तेश्रो लिंङि भएकै कारण बिभिन्न हिंसा र अपहेलना गरेको अनुभव सुनाउँदै यस स्थान सम्म आईपुग्दा धेरै चुनौती भोगेको बताउनु भयो ।

कार्यक्रम नव जिवन संस्थाका जिल्ला परियोजना संयोजक प्रेरणा बिष्टको अध्यक्षता , संथाका प्रशासनिय तथा बृत्त अधिकृत गोबिन्द बहादुर थापाको स्वागत मन्तव्य तथा संचारिका समूह कपिलवस्तुका अध्यक्ष पार्वती आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य , उद्योग बाणिज्य संघका सदस्य सविता श्रेष्ठ , महिला अधिकारकर्मी उमा हमाल , नव जिवन संस्थाका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।

कपिलवस्तु नगरपालिकाबाट रु. २ लाख , वडा नं. ३ बाट रु. १ लाख , बुद्धभूमि नगरपालिका बाट रु. २ लाख , महाराजगंज नगरपालिकाबाट रु. १ लाख , बिजयनगर गाउँपालिका बाट रु. १ लाख र ईन्द्रेणी ग्रामीण बिकास केन्द्रबाट रु. १ लाख रुपैया सहयोग प्राप्त भएको नव जिवन संस्थाले जानकारी दिएको छ ।