पहिचान बदल्दै रुपन्देही

मेचीकाली संवाददाता

१३ असार २०८०, बुधबार
727 shares

हरि अर्याल

नेपाल–अंग्रेज युद्धमा अंग्रेज सेनालाई परास्त गरी आफ्नो स्वाभिमान र राष्ट्रवादी पहिचान बनाउन सफल जितगढी किल्ला सेरोफेरोको बुटवल समयक्रमसँगै पश्चिम नेपालको व्यवसायिक केन्द्रको रुपमा लामो समय रहिरह्यो । नयाँनयाँ अवसर र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै २०३२ सालमा बुटवल औद्योगिक क्षेत्रको स्थापना र औद्योगिक क्षेत्र बाहिरका सयौं साना, मझौला र ठुला उद्योगहरुको स्थापना र सञ्चालनले बुटवललाइ मात्र नभइ सिङ्गो रुपन्देहीलाई बृहत् औद्योगिक क्षेत्रको रुपमा छुट्टै पहिचान स्थापित हुन पुग्यो । कुनै समय विराटनगर र वीरगञ्जलाई पालैपालो देशको आर्थिक राजधानीको भन्ने गरिएकोमा रुपन्देहीलाई नेपालको नयाँ आर्थिक राजधानी भनी सम्बोधन हुन थाल्यो ।

सरकारको लगानी र भू–स्वामित्वमा रहेका बुटवल औद्योगिक क्षेत्र, भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) भन्दा पचासौ गुणा बढी लगानी बुटवल–भैरहवा, बेथरी–लुम्बिनी, भैरहवा–परासी, बेथरी–बेल्वास, धकधकी–ज्यामिरे(खैरेनी) औद्योगिक कोरिडोरमा निजी क्षेत्रको रहेको छ । खुल्ला स्थानमा चौडा सडकको निर्माण र प्रयाप्त बिजुलीको आपूर्तिले मात्र पनि निजी क्षेत्र लगानीका लागि कति लालायित छ भन्ने कुरा सरकारको तर्फबाट लगानी नभएर पनि अरवौंको लगानी र नयाँ नयाँ औद्योगिक करिडोरको रुपमा स्थापित भएका स्थानहरुले पुष्ट्याई गरेका छन् ।

दुई वा दुईभन्दा बढी स्थानीय तहको भौगोलिक क्षेत्रमा रहेका औद्योगिक करिडोरलाई थप व्यवस्थित गर्न र अन्य सम्भावित स्थानमा समेत प्रस्तावित औद्योगिक कोरिडोरको रुपमा पूर्वाधार विकास गर्न तत् क्षेत्रका स्थानीय तह बिचमा सहकार्य जरुरी छ । स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योग स्थापना गर्ने नीति सम्बन्धित स्थानीय तहले लिन सके औद्योगिक कच्चा पदार्थको उत्पादन र त्यसको खपतले स्थानीयको नियमित रुपमा स्वरोजगार हुने स्पष्टै छ । स्थानीय तहको यस्ता नीति, योजना र कायक्रमले स्थानीय बासीको स्थस्यी आम्दानीको स्रोतको सुनिश्चितता प्रदान गर्नेछ ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र, दानव कोरिडोर, पर्सा चौराहा–रामापुर, सियारी र शुद्धोधन माछा विशेष क्षेत्र, देवदह–मणिग्राम–सूर्यपुरा–लुम्बिनी मायादेवी मार्ग रुपन्देहीको विकासको नयाँ आधार स्तम्भ साबित हुँदै छन । रुपन्देहीमा स्थापना भएका परमरागत उद्योगहरु सँगसँगै पछिल्लो समयमा स्थापित सेवा उद्योगले पनि यहाको एकीकृत विकासमा महत्वपूर्ण योगदान रहेको छ । केही वर्ष पहिलेसम्म हामी बहुसंख्यक रुपन्देहीबासीले नदेखेका स्टार लेवलका होटलहरुको स्थापना र सञ्चालनले समेत हाम्रो आर्थिक गतिविधिमा गतिशीलता प्रदान गरेको छ ।

क्षेत्रीय विकासका लागि संबद्ध स्थानीय तहको साझा अवधारणा बनाउनु अपरिहार्य छ । जस्तो कि बुटवल–भैरहवा कोरिडोरमा पर्ने बुटवल उपमहानगर पालिका, तिलोत्तमा नगर पालिका, ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिका रहेका छन् । यी स्थानीय तहबिच उद्योगमैत्री पूर्वाधार निर्माणका लागि सहकार्य गर्न सकिने विषयको पहिचान गर्न जरुरी छ । दुई वा दुईभन्दा बढी पालिकाले लगानी गर्नुपर्ने जस्तैः सडक, ढल, नदी नियन्त्रण, खानेपानी व्यवस्थापन वा जलाधार क्षेत्र संरक्षण जस्ता बहुसरोकारका विषयमा दुई वा आवश्यकताअनुसार वहुपक्षीय प्राविधिक र राजनैतिक संयन्त्रको विकास गरी निर्णय प्रकृयालाई सहजीकरण गर्ने पर्ने देखिन्छ ।

रुपन्देहीको उत्तरी भेगमा भावर तथा चुरे क्षेत्रको उत्खनन तथा डढेलो नियन्त्रण एउटा मात्र पालिकाको कावुभित्रको विषय होइन । त्यसैले चुरे र त्यसभित्रको वन संरक्षणको लागि सम्वन्धित पालिकाहरुको एकीकृत प्रयासबाट मात्र सम्भव हुनेछ । त्यसैगरी तिनाउ–दानव नदी , कञ्चन नदी र रोहिणी जस्ता रुपन्देहीको मध्यभाग, पश्चिम र पूर्वबाट बग्ने नदीहरु नियन्त्रण र नदी उकास क्षेत्रको बहुउपयोग पनि एउटै पालिकाको काबुभित्र हुने कुरै भएन । त्यसैले यी नदीको उपयोग र सही व्यवस्थापनमा सबै सम्बन्धित पालिकाको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ नै । रुपन्देहीको दक्षिणी भेगमा वर्षायाममा हुने डुबानको समस्या पनि कुनै एक वा दुई पालिकाको सकृयताले नियन्त्रण र व्यवस्थापन सहज छैन । यसका लागि पानीको प्राकृतिक निकास अबरुद्ध नहुने गरी कुलो, नहर, सडक र अन्य भौतिक पूर्वाधार निर्माणमा एकीकृत प्रयास भयो भने मात्र डुवानको समस्या न्यूनीकरण गर्न सकिन्छ । सञ्चालनमा आइसकेका र निकट भविष्यमा सञ्चालनमा आउने यस्ता ठुला होटलहरु ठोलो संख्यामा स्थानीय युवायुवतीहरुलाइ रोजगारी त प्रदान गर्ने नै छन्, सँगसँगै स्थानीय तरकारी, फलफुल, दुघ, दुग्धजन्य पदार्थ, माछा, खसी, कुखुरा खपतसमेत बढ्न गई किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन देखिन धेरै समय पर्खनुपर्ने छैन ।

सुनौलीको स्थल मार्ग भएर नेपाल भित्रने तेस्रो मुलुकका पर्यटक खासगरी बौद्ध धर्मावलम्बी र लुम्बिनी घुम्न आउने भारतीय पर्यटकहरुको नेपाल बसाइलाई कसरी लम्बाउन सकिन्छ अर्थात् हाम्रो सेवा प्रवाहलाई कसरी विश्वासिलो र अतिथिमैत्री बनाउन सकिन्छ भन्नेतर्फ व्यवसायीहरुलाई प्रशिक्षित गर्न सबै स्थानीय तहको कर्तव्य हुन आउँछ । बुटवल–बसन्तपुर केवुलकार पर्यटकको नयाँ गन्तव्य बन्न सक्ने तथ्यलाई हृदयङ्गम गरी यसको प्रचारप्रसारमा सेवा प्रदायक सस्था अतिरिक्त यहाँ क्रियमशील व्यवसायिक र पेशागत संघ सस्था र गर्नुपर्ने देखिएको छ । आफ्नो सेवा क्षेत्रमा उपलब्ध नभएका तर अरु समव्यवसायीले उपलब्ध गराएका सेवालाई उदार र फराकिलो मन बनाइ प्रचारप्रसार गर्नु पनि उत्तिकै जरुरी छ ।

एउटा स्थानीय तहको विकासको आधार अर्को स्थानीय तहका लागि विनासको मानक बन्न सक्दछ । जसरी महामारी नियन्त्रणमा सबैको साझा प्रयास अपरिहार्य छ, त्यसैगरी रुपन्देहीको समष्टिगत र दिगो विकासमा यहाँ रहेका १६ वटै स्थानीय तहबिचको दुई पक्षीय, त्रिपक्षीय र बहुपक्षिय सहकार्य अपरिहार्य छ । संघ र प्रदेश सरकारको संरक्षणमा यसको अगुवाई र समन्वयात्मक भूमिका जिल्ला समन्वय समिति, निवाचित स्थानिय तहका प्रतिनिधि र प्रमुख राजनैतिक दलहरुको नै हुनेछ ।
समग्रमा देशको करिब मध्य भाग पर्ने, विश्वका एक अर्बभन्दा बढी मानिसको धार्मिक आस्थाको केन्द्र गौतम बुद्धको जन्मस्थल र मावली भएको, नेपाल अंग्रेज युद्धको विजयी निसानी जितगढी किल्ला, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम र सिद्धार्थ राजमार्ग छिचोलेको रुपन्देहीका सोह्रवटा स्थानीय तहको एकीकृत विकासगरु योजना बनाई असल मन, वचन र कर्मले हामी सबै लाग्न सके रुपन्देही सबैको रोजाइ बन्नेछ ।