कपिलवस्तु कारागारमा खानेपानी र शौचालयको समस्या

मेचीकाली संवाददाता

१५ असार २०८०, शुक्रबार
315 shares

पार्वती आचार्य

कपिलवस्तु । कारागार कार्यालय कपिलवस्तुमा खानेपानी र शौचालयको समस्या भएको कार्यालयले जानकारी दिएको छ । ३ सय ५२ जना थुनुवा बन्दी राख्ने क्षमता भएको कारागार कार्यालयमा हाल ५ सय ८ जना थुनुवा बन्दी रहँदा खानेपानी र सौचालयको समस्या भएको हो । अत्याधिक गर्मी बढ्दै जाँदा पानीको लेयर सुक्दै गएपछि हेण्डपाईपमा पानी एकदमै कम आउन थालेपछि पानीको समस्या भएको कारागार कार्यालयका प्रमुख मनोजकुमार सैनीले बताए ।

बि.सं. १९९५ सालमा निर्माण भएको भवन हाल एकदमै जिर्ण अवस्थामा छ । सोही जिर्ण अवस्थामा रहेको भवन अर्थात व्लक नं. १ मा २ सय ८० जना थुनुवा बन्दीलाई व्यवस्थापन गरिएको छ । व्लक २ मा २ सय २८ जना थुनुवा बन्दी छन् । ५ सय ८ जनामा २ सय २६ नेपाली र १३ जना बिदेशी गरी २ सय ३९ जना थुनुवा छन् । यसैगरी २ सय ४९ जना कैद तोकिएका नेपाली र २० जना बिदेशी कैद तोकिएका गरी २ सय ६९ जना रहेको कारागार कार्यालयका प्रमुख सैनिले बताए ।

थुनुवा बन्दीको जनशक्ति बढ्दै गएपछि बस्न सुत्न समेत गाह्रो भएको थुनुवा बन्दीहरु बताउँछन् । व्लक १ मा ३ वटा हेण्डपाईप छन् भने सौचालय ९ वटा छन् । व्लक २ मा हेण्डपाईप ३ वटा छन् जसमा एउटा हेण्डपाईपमा मात्र पानी आउँछ , सौचालय ६ वटा छन् । सौचालय जाँदा लाईनमा बस्नु पर्छ , नुहाउन र कपडा धुनको कुरै छाडौ पिउने पानीको एकदमै अभाव भएको चौकिदार नाईनेकेको भनाई छ ।

थुनुवा बन्दीले पाउने सेवा दिनको नगद सुकी रु.८० रुपैंया र सिदा ७ सय ग्राम पाउँछन् । वर्षमा २ पटक गर्मी र जाडो सिजनमा १/१ जोर कपडाको व्यवस्था सरकारले दिने व्यवस्था गरेको छ ।

बिभिन्न मुद्दामा सजाय काट्दै आएका थुनुवा बन्दीहरुले समय पास गर्नुका साथै आम्दानीको बाटो खोज्दै बाँसबाट बिभिन्न सामाग्रीहरु जस्तै: टि टेवुल , सोफा , मुडा लगाएतका सामाग्रीहरु उत्पादन गरी आम्दानीको श्रोत बनाएका छन् । कारागार कार्यालय भित्र निर्माण गरेका सामाग्रीहरु बुटवल पठाईने गरिएको कारागार कार्यालयका प्रमुख सैनिले बताए । थुनवा बन्दीहरुका लागि भित्र लाईव्रेरीको व्यवस्था गरिएको छ तर पुस्तकको अभाव रहेको छ ।