कपिलवस्तुमा ९३ जनालाई नागरिकता प्रदान

मेचीकाली संवाददाता

१५ असार २०८०, शुक्रबार
555 shares

सुनिल आचार्य

कपिलवस्तु । नेपालको वर्तमान संबिधान प्रारम्भ हुनु भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई नेपाली नागरिकता (पहिलो संशोधन ) ऐन २०७९ ले गरेको नयाँ व्यवस्था बमोजिम कपिलवस्तुमा ९३ जनालाई नागरिकता प्रदान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले असार ११ गते महाराजगंज नगरपालिका १ का २४ वर्षिय सुदीप बिश्वासलाई वंशजको आधारमा नेपाली नागरिकता प्रदान गरी सो कार्यको शुभारम्भ गरेसंगै चारदिनमा ९३ जनालाई नागरिकता प्रदान गरिएको प्रशासकिय अधिकृत निर्मल पोख्रेलले बताए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मुश्लिमहरुको चाड बकरईदको बिदाको दिनमा समेत सेवाग्राहीलाई सेवा दिईएको छ । असार १४ गते विदाको दिनमा ३३ जनालाई नागरिकता प्रदान गरिएको प्रशासकिय अधिकृत पोख्रेलले बताए ।

लामो प्रतिक्षा पश्चात वंशजको आधारमा नेपाली नागरिकता लिन पाउँदा सेवाग्राहीहरु हर्षित भएका छन् । स्नातक तह सम्मको अध्ययन पुरा हुँदा सम्म तथा नागरिकता प्राप्त गर्ने उमेर पुगे पनि नागरिकता नपाउँदा चारैतिरको बाटाहरु बन्द भएका थिए । अब भने बाटो खुलेको छ बुद्धभूमि नगरपालिका १० मोतिनगरकी २३ वर्षीया पुजा हरिजन भन्छिन् । असार १४ गते पुजाले मात्र होईन उनका भाई १८ वर्षिय दुर्गेश हरिजनले पनि नागरिकताको अधिकार प्राप्त गरे ।

कक्षा १२ को परिक्षा दिएर बसेका दुर्गेश र उनकी दिदी पुजा निम्न परिवारमा हुर्किदै आएको बताउँछन् । बुवा ओम प्रकाश हरिजनले अरुको खेत बटैया गरेर छोराछोरीलाई शिक्षा दिएको बताउछन् । लामो समय पश्चात नागरिकता प्राप्त गर्न सफल भएको र आफ्नो अधिकार प्राप्त भएको भन्दै खुशी व्यक्त गरे । पुजा र दुर्गेश भन्छन् अब त हामीहरु केही गर्न सक्छौ हामीहरु केही गर्न सकेयौं भने बुवालाइृ समेत राहत हुने बताए । यस्तै महाराजगंज नगरपालिका ८ की २७ वर्षिया अप्सना खातुन मिया लगाएतका सेवाग्राहीहरु नागरिकता पाए पछि खुशी व्यक्त गरेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ बमोजिम बिगतमा यस कपिलवस्तु जिल्लामा करिव पाँच हजारको संख्याले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेकोे सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।