थलिएको विकास, सुस्त बजेट खर्च

मेचीकाली संवाददाता

२५ असार २०८०, सोमबार
143 shares

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालू आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू.तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म रू.एक खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९ दशमलव ४५ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१ दशमलव ४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६ दशमलव २५ प्रतिशत बजेट खर्च गरेका छन् ।

सो अवधिमा बागमती प्रदेशले ५० दशमलव ६२ प्रतिशत, गण्डकी प्रदेशले ४८ दशमलव १९ प्रतिशत, लुम्बिनी प्रदेशले ५५ दशमलव ५४ प्रतिशत, कर्णाली प्रदेशले ४५ दशमलव ६० प्रतिशत र सुदूरपश्चिम प्रदेशले ४८ दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । सो अवधिमा चालूतर्फको औसत खर्च ५५ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फको औसत खर्च ४६ दशमलव ११ प्रतिशत छ ।

कोशी प्रदेश
कोशी प्रदेशले चालू आर्थिक वर्षका लागि कुल रू.३९ अर्ब ९१ करोडको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू.२४ अर्ब ५१ करोड बराबर खर्च भएको छ । प्रदेशले चालूतर्फ ७० प्रतिशत र पुँजीगततर्फ ५५ प्रतिशत खर्च गरेको छ । चालू आवका चालूतर्फ रू१६ अर्ब ६२ करोड र पुँजीगततर्फ रू.२३ अर्ब २९ करोड छुट्याइएमा जेठ मसान्तसम्ममा कोशी प्रदेशले चालूतर्फ रू.११ अर्ब ६५ करोड र पुँजीगततर्फ रू.१२ अर्ब ८६ करोड खर्च भएको छ ।

मधेश प्रदेश
अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कम छ । चालू आर्थिक वर्षका लागि कुल रू.४६ अर्ब ९८ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू.१७ अर्ब तीन करोड खर्च भएको छ । जुन वार्षिक विनियोजनको ३६ दशमलव २५ प्रतिशत बराबर हो । मधेश प्रदेशले ११ महिनामा चालू शीर्षकमा ३३ प्रतिशत र पुँजीगत शीर्षकमा ३८ दशमलव ३४ प्रतिशत बजेट खर्च गरेको छ । चालूतर्फ रू.२० अर्ब ८० करोड बजेट रहेकोमा रू.६ अर्ब ९९ करोड ६७ लाख मात्रै खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रू.२६ अर्ब १८ करोड बजेट रहेकोमा विनियोजनको ३८ प्रतिशत अर्थात् रू.१० अर्ब चार करोड खर्च भएको छ ।

बागमती प्रदेश
बागमती प्रदेशले चालू आर्थिक वर्षका लागि रू.७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएकोमा जेठ मसान्तसमममा ५० दशमलव ६२ प्रतिशत अर्थात् रू.३५ अर्ब ९१ करोड बजेट खर्च गरेको छ । यस अवधिसम्ममा बागमती प्रदेशको बजेट खर्च चालू शीर्षकमा ६१ दशमलव ६१, पुँजीगत शीर्षकमा ४६ प्रतिशत र वित्तीय व्यवस्थापन शीर्षकमा ३० प्रतिशत बराबर छ । चालू शीर्षकमा रू.२६ अर्ब ८४ करोड बराबर बजेट रहेकोमा रू.१६ अर्ब ५३ करोड, पुँजीगत शीर्षकमा रू.४२ अर्ब नौ करोड बजेट छुट्याइएकोमा रू.१९ अर्ब ३७ करोड र वित्तीय व्यवस्थापन शीर्षकमा रू.दुई अर्ब बजेट छुट्याइएकोमा रू.६० करोड खर्च भएको छ ।

गण्डकी प्रदेश
जेठ मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च ४८ प्रतिशत बराबर छ । यो प्रदेशले चालु आर्थिक वर्षका लागि रू.३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट ल्याएकोमा गत जेठ मसान्तसम्ममा रू.१७ अर्ब ३० करोड बराबर खर्च गरेको हो । यो प्रदेशले हालसम्म चाल शीर्षकमा ५४ र पुँजीगत शीर्षकमा ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ । चालू शीर्षकमा रू.१२ अर्ब ८० करोड ९३ लाख बराबरको बजेट ल्याइएकोमा जेठ मसान्तसम्ममा रू.६ अर्ब ९५ करोड र पुँजीगत शीर्षकमा रू.२२ अर्ब ५९ लाख बजेट छुट्याइएकोमा रू. १० अर्ब ३५ करोड बराबर बजेट खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू.५० करोड बजेट छुट्याएको यो प्रदेशको उक्त शीर्षकको खर्च भने शून्य छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको बजेट खर्च चालू आवको जेठ मसान्तसम्म रु.२३ अर्ब ७३ करोड बराबर छ । जुन चालु आर्थिक वर्षका लागि यो प्रदेशले छुट्याएको कुल विनियोजनको ५५ दशमलव ५४ प्रतिशत बराबर हो ।
चालू आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले कुल रू.४२ अर्ब ७३ करोड बराबरको बजेट ल्याएको थियो । चालू शीर्षकमा रू.१७ अर्ब ९४ करोडको बजेट ल्याइएकोमा ६१ दशमलव २० प्रतिशत अर्थात् रू.१० अर्ब ९८ करोड र पुँजीगत शीर्षकमा रू.२४ अर्ब ७९ करोडको बजेट ल्याइएकोमा ५१ दशमलव ४५ प्रतिशत अर्थात् रू.१२ अर्ब ७५ करोड बराबर खर्च भएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशले चालू आवको जेठ मसान्तसम्म ४५ दशमलव ६० प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि कुल रू.३२ अर्ब ७४ करोड बराबरको बजेट ल्याएको कर्णाली प्रदेशले यो अवधिसम्ममा रू.१४ अर्ब ९३ करोड बराबर बजेट खर्च गरेको देखिन्छ । चालू शीर्षकमा ५३ दशमलव ६४ प्रतिशत र पुँजीगत शीर्षकमा ४० दशमलव २५ प्रतिशत बजेट खर्च भएको देखिन्छ । कर्णाली प्रदेशले चालू शीर्षकमा चालू आवका लागि रू.१३ अर्ब आठ करोड बराबर विनियोजन गरेकोमा रू.सात अर्ब एक करोड र पुँजीगत शीर्षकमा रू.१९ अर्ब ६६ करोड विनियोजन गरेकोमा रू.सात अर्ब ९१ करोड बराबर खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशले चालू आर्थिक वर्षका लागि रू.३६ अर्ब ७९ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा ४८ दशमलव ५४ प्रतिशत अर्थात् रू.१७ अर्ब ८६ करोड बराबर खर्च गरेको छ ।

प्रदेशले चालू शीर्षकमा रू.१२ अर्ब २५ करोड विनियोजन गरेकोमा ५५ दशमलव ३२ प्रतिशत अर्थात् रू.छ अर्ब ७८ करोड खर्च गरेको छ । पुँजीगत शीर्षकमा रू.२४ अर्ब २३ करोड विनियोजन भएकोमा ४५ दशमलव ७१ प्रतिशत अर्थात् रू.११ अर्ब सात करोड बराबर खर्च गरेको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू.३० करोड बजेट छुट्याएको सुदूरपश्चिम प्रदेशले चालू आर्थिक वर्षको ११ महिना अवधिसम्ममा उक्त रकम खर्च गर्न सकेको छैन ।