बुटवल । रुपन्देही तथा आसपासका जिल्लाहरुबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले सोमबार चोरीका १४ वटा मोटरसाइकलसहित चोरीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ ज्योतीनगरका १९ वर्षीय तरुन राना, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम १६ का २० वर्षीय करन थारु, गुल्मी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ बस्ने २६ वर्षीय सरोज थापा, गुल्मी घर भई तिलोत्तमा ५ बस्ने २६ वर्षीय दिपक रेगामी मगर, तिलोत्तमा ६ का २४ वर्षीय दिपेश थापा रहेका छन् ।
त्यस्तै तिलोत्तमा ६ का २५ वर्षीय हितेश राना, तिलोत्तमा ४ का १८ वर्षीय आकाश नेपाली, बागलुङको बरेङ गाउँपालिका ५ का १९ वर्षीय आशिष सामत, सोही ठाउँका २० वर्षीय दिपक सामत, २९ वर्षीय प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बुटवल र तिलोत्तमा क्षेत्रमा मोटरसाईकल चोरीका घटना धेरै भएको बताए । एक महिनाअघिबाट विशेष टोली खटाएर अभियान चलाउँदा सफलता हात लागेको उनले बताए ।
उनिहरुले बिभिन्न समूह बनाएर चोरी गर्ने गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए । मोटरसाईकलको रेकी गर्ने, लक तोडी चोरी गर्ने, चोरीको मोटरसाईकल लुकाउने, ग्राहक खोज्ने र बिक्री गर्ने जस्ता काम बाँडेर गर्ने गरेको उनले बताए । अझै पनि चोरीका धेरै मोटरसाईकल नभेटिएको भन्दै उनले खोजि अभियान जारीनै रहेको बताए ।
प्रहरीका अनुसार उक्त गिरोहले चोरीका मोटरसाइकल गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ, काठमाडौंसम्म पुर्याएर बिक्री गर्ने गरेका थिए । पक्राउ परेका व्यक्तिहरुउपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।