गुल्मी । मदन भण्डारी राष्ट्रिय राजमार्गको निर्माण कार्यलाई तीव्रता दिन एमालेका पोलिटब्यूरो सदस्य तथा प्यूठानबाट निर्वाचित सांसद सूर्य थापाले सम्बन्धित कार्यालयमा पुगेर आग्रह गरेका छन् ।
सांसद थापाले मदन भण्डारी राष्ट्रिय राजमार्गको निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरेका छन । मदन भण्डारी राष्ट्रिय राजमार्ग आयोजना कार्यालय तम्घासका प्रमुख माधव अधिकारीसँग बुधबार कार्यालयमै भेटेर सांसद थापाले यस्तो आग्रह गरेका हुन ।
यस राजमार्ग अन्तर्गत पर्ने गुल्मी, अर्घाखाँचीका विभिन्न सडक खण्डमा निर्माणकार्य सुस्त भएको गुनासो आइरहेका बेलामा सांसद थापाले आयोजनाको कार्यालयमै पुगेर निर्माण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरेका हुन् । राजमार्गको निर्माणले यहाँका कैयन गाउँको मुहार फेरिने छ ।
मदन भण्डारी राष्ट्रिय राजमार्ग अन्तर्गत रिडी–तम्घास–सिमल्टारी–पुर्कोटदह–सौतामारे–मच्छी खण्डको निर्माण कार्य सुस्त भैरहेको समयमा सांसद थापले आयोजना कार्यालयका प्रमुखलाई भेटेरै छिटोछरितो र तोकिएको समयमै सम्पन्न गर्नेबारेमा छलफल गरेका हुन । यहाँका समुदायसंग प्रत्यक्ष भेटेर त्यहाँका गुनासो समेत टिपेर गएका सांसद थापाले पहिलो चरणमा राजमार्ग आयोजना कार्यालयका प्रमुखसंग भेटेका हुन् ।
सांसद थापाले उक्त सडक खण्डमा निर्माणाधीन चारवटा पुलहरूको अवस्थासमेत स्थलगत रूपमा निरीक्षण गरेका छन । सांसद थापाले दुईवटा पुलको ठेक्का प्राप्त निर्माण व्यवसायी नारायण पोखरेलसँग पनि कार्यस्थलमै भेटी छिटोछिटो कार्य अघि बढाउन ध्यानाकर्षण गराएका छन ।
रिडीदेखि मच्छीसम्मको सडक खण्डको निर्माणको अवलोकनबाट अनेकन स्थिति र कारकहरू अवगत भएको संसद थापाले बताएका छन । सांसद थापाले नागरिक अगुवा, निर्माणकार्यमा संलग्न सरोकारवालाहरुसंगै द्वारनेटा, सौतामारे र गर्तङफेदीमा चलिरहेको निर्माण कार्य पनि स्थलगत अवलोकन गरेका छन ।
मदन भण्डारी राष्ट्रिय राजमार्ग निर्माण सम्पन्न भए यहाँका कैयौं गाउँको मुहार फेरिने र बसाईसराई पनि रोकिने दाबी गरिएको छ । यो राजमार्ग बनेपछि तम्घास–बुटवल हुँदै प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी पुग्न ९३ किलोमिटर छोटो पर्नेछ । तम्घास–बुटवल हुँदै प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी पुग्न कुल २१४ किलोमिटर पर्छ ।