चारपाला सामुदायिक वनद्वारा विद्यालयलाई डेक्स बेन्च वितरण

मेचीकाली संवाददाता

२९ असार २०८०, शुक्रबार
612 shares

बुटवल, असार २९ । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले विद्यालयलाई डेक्स बेन्च उपलब्ध गराएको छ ।

विद्यार्थीलाई पठन–पाठनलाई सहज होस भनेर वनले बुटवल–१५ मा रहेको दुर्गा भवानी आधारभूत विद्यालयमा शुक्रबार १५ सेट डेक्स बेन्च वितरण गरेको हो । वनका अध्यक्ष जगतनाथ शर्मा पौडेल, सल्लाहकार उदयराज काफ्ले सहितको टिमले संयुक्त रूपमा विद्यालयका प्राचार्य रीता थापालाई डेक्स बेन्च हस्तान्नरण गरे ।

सो अवसरमा बोल्दै सल्लाहकार उदयराज काफ्लेले वनले विद्यालयलाई आवश्यक सहयोग गरेको खुसी व्यक्त गरे । वनले आवश्यकता अनुसार नजिकका विद्यालयलाई सहयोग गर्दै जानुपर्ने बताए ।

विद्यालयका प्राचार्य रीता थापाले विद्यालयको भौतिक पूर्वाधार कमजोर रहेको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरिन् । उनले नगरपालिका विभिन्न संघ संस्थालाई सहयोगको लागि पटक पटक अनुसार गरे पनि कहीबाट सहयोग पाउन नसकेको गुनासो गरिन् । विद्यालयमा ८५ जना विद्यालय अध्ययनरत छन् । वनका अध्यक्ष जगतनाथ पौडेलले वन संरक्षण र विकास संँगै आफूहरुले विभिन्न सामाजिक कामहरु पनि गर्दै आएको बताए । विद्यालयलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्दै जाने बताए ।

वनको विकासलाई लागि यो वर्ष पनि विभिन्न प्रजातिका विरुवाहरु लगाइएको बताउँदै पौडेलले वनलाई नमूना बनाउन आफूहरु लागेको बताए । चारपाला वन देशकै ठूलो सामुदायिक वन हो । वनका कार्यालय सचिव विनोद आचार्यले उपलब्ध गराइएका डेक्स बेन्च २ लाख रुपैयाँ बराबरका रहेको जानकारी दिए । वनका अध्यक्ष जगतनाथ शर्मा पौडेलको अध्यक्षता उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।