बाणगंगामा भौतिक विकास निर्माणको प्रगती सार्वजनिक

मेचीकाली संवाददाता

२९ असार २०८०, शुक्रबार
332 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिकाले आर्थिक बर्ष ०७९/०८० मा नगरपालिका भित्र सम्पन्न गरेका विभिन्न भौतिक बिकास निमार्णका कार्यहरुको बिवरण सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक बर्ष शुरु भए लगत्तै सक्रियताका साथ भौतिक निमार्णका कामलाई तिव्रता दिएको हो ।

नगरपालिकाले आर्थिक बर्षको २०७९/०८० मा ३४ किलोमिटर २ सय ९ मिटर बाटो ग्राभेल गरेको तथ्याङ्क निकालेको छ । नगरपालिकाका ११ वटा वडामा भएको भौतिक बिकास निमार्णको एकमुष्ठ विवरण निकालिएको नगरपालिकाले जनाएको छ ।

यस्तै नगरपालिकाले १० किलोमिटर १ सय मिटर बाटो कालोपत्रे , ५ किलोमिटर ७६ मिटर नाली निर्माण , ६ किलोमिटर ८ सय ७० मिटर कुलो निर्माण , २ किलोमिटर २९ मिटर नहर निर्माण , ६ किलोमिटर १ सय ६५ मिटर बिद्युतीकरण , कल्भर्ट ३२ स्थानमा निर्माण गरिएको बाणगंगा नगरपालिकाका योजना शाखा प्रमुख शान्ता राज आचार्यले बताउनु भयो ।

यसैगरी बाँध निर्माण ३० मिटर , खानेपानीका ४३ वटा ह्यान्डपम्प जडान , शिक्षा क्षेत्रमा बिद्यालय भवन निर्माण १४ वटा , मदरसा २ स्थान , मन्दिर निर्माण १६ स्थान , ५ वटा प्रतिक्षालय , बिभिन्न संस्थागत संरचनाहरु ८ वटा निर्माण , नदी नियन्त्रण २ सय ८ मिटर , लकिङ्ग व्लक १ किलोमिटर ५५ मिटर , बाटो ढलान ८ सय ५९ मिटर निर्माण भएको नगरपालिकाका ईन्जिनियर सुरज घिमिरेले बताउनु भयो ।

ग्राभेल मर्मत तर्फ १४ किलोमिटर ९ सय १३ मिटर , पार्क निर्माण ३ वटा , ५ वटा कवर्डहल निर्माण गरी यस आर्थिक वर्ष ०७९÷०८० मा बिकास निर्माणका कार्यहरु सम्पन्न भएको योजना शाखाले जनाएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा भन्दा २०८०÷०८१ मा भौतिक निमार्ण कार्यलाई अझै तिव्रता दिईने जनाएको छ ।

बाणगंगा नगरपालिकाका नगर प्रवक्ता बिष्णु पौडेलले पुँजीगत तर्फ करिव ८० प्रतिशत बजेट खर्च भएको बताउनु भयो । बित्तिय प्रगती देखिने गरि असी प्रतिशतको हाराहारीमा भौतिक बिकास निर्माणको काम सम्पन्न गरिएको छ । बाँकी रहेको २० प्रतिशत असार २४ गते नै सिस्टमले काम नगरेको र संघिय सरकारबाट प्राप्त गर्ने बित्तिय समान्नीकरणको अनुदानको रकम असार २६ गते मात्र प्राप्त गरेको हुँदा भुक्तानीमा केही समस्या देखिएको हो ।

केही योजनाहरु असार ३० गते हुने नगरसभाबाट म्याद थप गरी आन्तरिक श्रोत अर्थात नगरपालिकाको संचित कोषबाट भुक्तानी गरिने नगर प्रवक्ता पौडेलले बताउनु भयो । तोकिएको समयभित्र सरवर राम्रोसंग संचालन नहुँदा नगरले सम्पन्न गरेको योजनाहरुको भुक्तानी समयमा गर्न नसकिएको नगर प्रवक्ता पौडेलको भनाई छ ।