समृद्धिको आधार युवा

मेचीकाली संवाददाता

३२ श्रावण २०७८, सोमबार
732 shares

अहिलेको हाम्रो देशको युवा शक्तिको संख्या मुलुकको समृद्धिका लागि अनुकूल हुने अवस्थाको हो । विश्वका अरु मुलुकको तुलनामा युवाहरु अर्थात् काम गर्ने उमेर समूहका युवाले भरिएको देशका रुपमा नेपाल रहेको छ । समृद्धिका लागि यो जनशक्तिलाई सही सदुपयोग गर्न जरुरी छ । विडम्बना त्यसतर्फ प्रभावकारी काम हुन सकिरहेको छैन । सैद्धान्तिक रुपमा त नेपालको समृद्धिको आधार यहाँको युवा शक्तिलाई मान्ने गरिन्छ । तर व्यवहारिक रुपमा भने नेपालको विकास यात्रामा युवाहरुलाई सही रुपमा परिचालित गर्न सकिएको छैन । यसलाई सुधार गर्न जरुरी छ ।

युवाशक्तिलाई रचनात्मक कार्यमा लगाउन सकिएको छैन । रोजगारीको अभावको कारण दैनिक हजारौँको संख्यामा नेपाली युवाहरु मलेसिया र खाडी मुलुकलाई हराभरा र समृद्ध बनाउन दिनरात पसिना बगाइरहेका छैन । युवाहरु कामकै लागि विदेश जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने छ । विदेशिएका युवाहरुले पठाएको विप्रेषण आयले देशको अर्थतन्त्र चलायमान छ । तर, यो मुलुकको अर्थतन्त्रका लागि अनुकूल वातावरण होइन । दीर्घकालीन रुपमा यो मुलुकको हीतमा छैन । युवाहरुको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्नुको विकल्प छैन ।

युवा जनशक्तिलाई उपयोग गर्न नसक्दा एकातर्फ नेपाल अविकास र गरिबीको दुष्चक्रमा अल्झिएको छ भने अर्कोतर्फ ती युवाशक्तिले जोखिमयुक्त श्रममा लाग्नुपरेको छ । जोखिमको काम गर्न विदेशिएका कैयौंको विदेशी भूमिमै अर्थात् कार्यस्थलमै ज्यान जाने गरेका दर्दनाक पीडा दिनहुँ भोग्नुपरेको छ । कैयौं अंगभंग भएर फर्कन अभिशप्त भइरहेको अवस्था छ । यसका आधारमा पनि अब समृद्धिका लागि चाहिने जनशक्ति यहीँ तयार गर्ने र उचित काममा परिचालन गर्न ढिलाई गरिनुहुन्न ।

देशको राजनीतिक परिवर्तनका लागि अग्रमोर्चा सम्हाल्ने, अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका युवाहरु सही परिचालनका लागि समृद्ध नेपाल निर्माणको अभियानमा पनि अग्रणी भूमिका दिनैपर्छ । यसो भएमा उनीहरुले आम नेपालीको समृद्धि सपनालाई साकार तुल्याउने छन् । यसका लागि राजनीतिप्रतिको युवाको आकर्षण बढाउने, संगठनलाई युवाहरूको रोजाइको केन्द्र बनाउने, समाज रूपान्तरणका लागि युवा संगठनमा लाग्न प्रोत्साहित गर्नुपर्छ ।

राजनीतिक पार्टीहरुले पनि युवा संगठन निर्माणमा ध्यान नदिएका होइनन् । तर, राजनीतिक विषयमा मात्रै प्रशिक्षित भएका युवाहरु उत्पादनमूलक काममा जोड्न जरुरी छ । अब युवाहरुलाई सिर्जनात्मक अभियानमा योजनाबद्ध रुपमा परिचालन गरिनुपर्छ । सामाजिक सांस्कृतिक रूपान्तरणमा युवाहरुको भूमिका बढाउनुपर्छ ।