दलित तथा सिमान्तकृत महिलाहरुको आर्थिक सशक्तिकरणको लागि स्थानियतहका सरोकारवालाहरुसँग अन्तरक्रिया

मेचीकाली संवाददाता

३ श्रावण २०८०, बुधबार
298 shares

सुनिल आचार्य

कपिलवस्तु । ‘महिला सम्मान अभिबृद्धिका लागि सशक्तिकरण र पहुँच अभियान’ स्थानिय तहमा दलित र सिमान्तकृत महिलाहरुको आर्थिक सशक्तिकरणको लागि सरोकारवालाहरु संग अन्तरक्रिया सम्पन्न गरिएको छ । दलित महिला संघ कपिलवस्तुको आयोजना र करुणा ट्रष्ट युकेको आर्थिक सहयोगमा तौलिहवामा सम्पन्न गरिएको हो ।

स्थानिय तहहरुले दलित र सिमान्तकृत महिलाहरुको आर्थिक शसक्तिकरणको लागि के कस्ता योजनाहरु बनेका छन् र समुदायलाई कसरी उत्थान गर्न सकिन्छ भन्ने बिषयमा जानकारी लिनका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी माहुरी होम कपिलवस्तुका बरिष्ठ मानव अधिकारकर्मी रामदयाल ठाकुरले नगरको बजेटको आधारमा कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनु भयो । पहुँच नहुने वर्गहरुको कुनै पनि सुनुवाई नहुने भएको हुँदा यस बिषयमा वडा अध्यक्ष लगाएत सरोकारवालाहरुले ध्यान दिन आवश्यक भएको बताउनु भयो ।

कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास समितीका संयोजक दिेरेप कुमार चौधरीले कपिलवस्तु नगरपालिकाले ०८०÷०८१ को योजनामा महिलाहरुका लागि ड्राईभिङ्ग तालिम , कपिलवस्तु नगरपालिका भित्रका सम्पूर्ण नागरिकहरुका लागि निशुल्क स्वास्थ्य बिमा , दलित र सिमान्तकृत महिलाहरु र महिलाहरुका लागि डलकुशन बनाउने तालिम , सिलाई कटाई , व्युटिपार्लरको तालिमहरुलाई लक्षित गरि योजना गरिएको बताउनु भयो । दलित र सिमान्तकृत महिलाहरुको लागि बजेट संबोधन गरिएको सामाजिक बिकास समितीका संयोजक चौधरीले बताउनु भयो ।

यस्तै कपिलवस्तु नगरपालिकाका समाजिक बिकास शाखा अधिकृत पदमराज श्रेष्ठले यस संस्थाले गरेका कार्यहरु प्रति सकारात्मक रहेको बताउनु भयो । दलित र सिमान्तकृत महिलाहरुको लागि मात्र नभएर समग्र रुपमा बजेट बिनियोजन गरी बिभिन्न सिप मुलक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो । वर्गको आधारमा बजेट बिनियोजन गरि कार्यक्रम गर्न सम्भव नभएको हुँदा सबैलाई समावेसगरी कार्यक्रमहरु गर्दै आएको छ । दलित समुदायलाई मात्र बजेट छुट्याएर कार्यक्रम गर्दा पूर्ण सहभागि हुन नसक्दा सो सम्भव नभएको श्रेष्ठले बताउनु भयो ।

फातिया फाउण्डेसनका अध्यक्ष रुकैया खातुनले नगरपालिकाले योजना गरे अनुसार संचालन गरेका बिभिन्न कार्यक्रमहरुको अनुगमन गर्ने र सो को बजारीकरणको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

संघका अध्यक्ष मायाँ नेपालीको अध्यक्षतामा जिल्ला परियोजना संयोजक शंकर नेपालीको स्वागत मन्तव्य तथा सामाजिक परिचालक अनिता श्रीमालको संचालनमा सम्पन्न कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष रविन्द्र प्रसाद तिवारी , गैर सरकारी महासंघ शाखा अध्यक्ष जय प्रकास पाण्डेय , इन्सेक , ओरेक नेपाल सुस्मा आचार्य, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष पुष्पा रेग्मी , दलित सामाजिक बिकास केन्द्र कार्यकारी निर्देशक रामशरण रैदास, माहुरी होमका महासचिव संगिता चौरासिया र संचारकर्मी सुनिल आचार्य लगाएतको उपस्थित रहेको थियो ।