बुटवल । जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही अभियान सुरु गरेको छ । सडकमा बसेर मादक पदार्थ सेवन (मापसे) जाँच गरिरहेको प्रहरीले अब लागु पदार्थ सेवन (लापसे) पनि जाँच सुरु गरेको हो ।
लागू पदार्थ सेवन गरि सवारी साधन चलाउने चालकहरुलाई धमाधम कारबाहीको प्रक्रिया अगाडी बढाएको ट्राफिक प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक डम्बर गिरीले जानकारी दिए । सवारी चालकले मापसेजस्तै लागु पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनासँगै अपराध बढ्ने भएकाले प्रहरीले सडकमै बसेर लापसे जाँच सुरु गरेको उनले बताए ।
प्रमुख गिरीका अनुसार चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएकोसम्बन्धमा टिएचसि किटको प्रयोग गरी जाँच गरिदै आएको छ । सवारी चालकले लासपे सेवन गरेको फेला परेमा कारबाहीसँगै काउन्सिलिङ गरिदै आएको उनले बताए ।
गत बुधबार रामग्राम ननरपालिका ५ वाईपासस्थित चेकजाँचमा खटिएको प्रहरीले महेशपुरबाट परासीतर्फ आउदै गरको लु १६ प १६०८ नम्बरको स्कुटरलाई रोकी लापसे चेकजाँच गर्ने क्रममा स्कुटर चालक र पछाडी सवार यात्रु समेत लागु पदार्थ सेबन गरेको फेला पारेको थियो । साथै पाईन्टको खल्तीमा चार वटा प्लाष्टिकमा पोको पारी ल्याएको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी स्कुटर र स्कुटरमा सवार दुबै नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लापसे गरी सवारीसाधन चलाउने चालकमध्ये भाडाका सवारीसाधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्ने जस्तो संवेदनशिल सवारीसाधन चलाउने चालकले चालक नै लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको प्रहरी वरिष्ठ नायब निरीक्षक गिरीले बताए । जिल्लामा बढिरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालक र सहचालकको निःशुल्क स्वास्थ्य र आँखा परीक्षण शिविरसमेत आयोजना गरिएको उनले बताए ।
पश्चिम नवलपरासीको दक्षिणी सिमा खुला भएका कारण सिमापार भारतिय बजारबाट लागुऔषध बोकि आउने र सेवनकर्ता नेपाल भित्रिने हुँदा यसतर्फ सिमा क्षेत्रमा कार्यरत सम्पुर्ण सुरक्षा निकाय सचेत हुनुपर्ने स्थानिय बताउँछन् ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न आग्रह गरिएको छ ।