पार्वती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिका ८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले १ वर्षमा सम्पन्न गर्ने काम आर्थिक वर्षको पाँच महिनामै सम्पन्न गरी सफलता हासिल गरेको छ । २०७९ साल माघ २७ गते मधुवन सामुदायिक वन उपभोक्ता समूहको अधिवेसन भएलगत्तै नयाँ कार्य समितीले वनका कार्यहरुलाई सक्रियपूर्वक अगाडि बढाएको मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शान्तबिक्रम पौडेलले बताए ।
समूहले सीवान एसेट ब्लकको ८ हेक्टरमा झाडी सुधार गरेको छ भने सीवान एस ३ मा सुधार कटान भएको छ । यसैगरी अग्निरेखा निर्माण तथा सफाइ लगाएतका कार्यहरु समितिका सम्पूर्ण पदाधिकारीहरुको सहयोगमा सम्पन्न गरिएको अध्यक्ष पौडेलले बताए । अन्य सामुदायिक बनबाट लगाइएको आगो समूह र उपभोक्ताहरुको सक्रियतामा नियन्त्रण गर्न सफल हुँदा क्षति न्यून भएको मधुवन सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।
यसैगरी ०७७÷०७८ सालमा पुर्व समितीले कटान गरी घाटगद्दीमा रहेको मौजात ७ हजार क्यूफिटको काठ समयमा नै लिलाम बिक्री गर्न सफल भएको छ । कटान तर्फ ः वन संवद्र्धन प्रणालीमा आधारित प्रदेश वन व्यवस्थापन ऐन २०७९ अनुसार २७ हजार ५ सय क्यूफिट काठ कटान गरी घाटगद्दीमा ल्याई १० हजार ५ सय आन्तरिक उपभोक्तालाई वितरण गरिएको समूहका उपाध्यक्ष कालिकराम भुषालले बताए । बाँकी रहेको १७ हजार क्यूफिट काठ लिलाम प्रक्रियामा रहेको उपाध्यक्ष भुषालको भनाइ छ ।
यस्तै वनले कटान क्षेत्रमा सरसफाई पश्चात तारवार संरक्षण गरेको छ । वनमा हुने चोरी तस्करी नियन्त्रण गर्न समिति अहोरात्र लागि परेको छ । वन संरक्षणका लागि बस्ती र वनको बिचमा अग्नीरेखा र तारवारको कार्य भैरहेको समूहका सहसचिव तुल्सीराम पौडेलले बताए ।
नयाँ कार्य समितीले एक वर्षमा सम्पन्न गर्ने काम ०७९/०८० को पाँच महिनामा सम्पन्न गर्न सफल भएको छ । उक्त कार्य कर्जामा सम्पन्न गर्न सफल भएको कार्य समितीले जनाएको छ । नयाँ कार्य समिति गठन गर्दा समूहमा शून्य आम्दानी भए पनि आर्थिक वर्ष ०७९ माघ २७ गते देखि ०८० असार मसान्तसम्म करिब ८० लाख रुपैंयाँ बराबरको कार्यक्रम सम्पन्न गरिएको समूहका अध्यक्ष पौडेलको भनाइ छ ।
यस मधुवन सामुदायिन वनको क्षेत्रफल ४ सय ५० दशमलव ९६ हेक्टर रहेको छ भने ९ सय ५९ उपभोक्ता संख्या रहेको मधुवन सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । उक्त कार्यक्रम सम्पन्न र सफल पार्न समितिका सल्लाहकार, लेखा समिति र सम्पूर्ण उपभोक्तहरुको पूर्ण सहयोग रहेको भन्दै समितीका अध्यक्ष शान्तबिक्रम पौडेलले धन्यवाद दिए ।
आर्थिक वर्ष ०८०÷०८१ को आर्थिक वर्षको पहिलो दिन वन क्षेत्रको १ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरेको छ । सामुदायिक बनको घाटगद्दी नजिकै अतिक्रमण क्षेत्रमा टिक प्रजातिको १ हजार बिरुवा लगाउन सुरु गरिएको हो । वृक्षरोपण गर्नुको मुख्य उद्देश्य भनेको अतिक्रमण क्षेत्रलाई संरक्षण गर्न, वन वतावरण र पर्यावरणको वृद्धि गर्न, बाढी पहिरो नियन्त्रण गर्न र आम्दानीको स्रोतमा वृद्धि गर्नु हो ।
वन तथा वातावरण सम्बन्धी सामुदायिक वनको लक्ष्य पूरा गर्न डिभिजन वन कार्यालयले निशुल्क बिरुवा उपलब्ध गराएको र मधुबन सामुदायिक बनको आफ्नै लगानीमा वन क्षेत्रलाई हराभरा गराउन उक्त कार्यको थालनी गरेको हो ।