लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

मेचीकाली संवाददाता

१ भाद्र २०७८, मंगलवार
1081 shares

बुटवल । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक आज बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गरेका थिए।

आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची छ। आजै मुख्यमन्त्रीले विश्वासको मत लिने चर्चा भएपनि सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले त्यस्तो तयारी नभएको बताए।

मुख्यमन्त्री केसीले हिउँदे अधिवेशन शुरु भएको एक हप्ताभित्रै विश्वासको मत लिने बताएका छन्। उनले मुख्यमन्त्रीको पद सम्हालेपछि अधिवेशन शुरु हुने बित्तिकै विश्वासको मत लिने बताएका थिए।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशमा संविधानको धारा १६८९२० बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।