बुटवल । गएराति देखि परेको अविरल वर्षाका कारण पाल्पा, अर्घाखाँची र प्यूठानका मुख्य सडक अवरुद्ध भएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ हेड बक्स नजिक पहिरोले सडक अवरुद्ध भएको हो । सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका डीएसपी होमबहादुर थापाले जानकारी दिए ।
पहिरो हटाउने काम सुरु भएपनि सवारी सञ्चालन हुन केहि समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन बिच बाटोमै रोकिएका छन् । बुटवल–पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो बग्दै आएको छ । पहिरो झरिरहने भएकाले बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ ।
त्यस्तै, पहिरोले कालिगण्डकी करिडोर अन्तर्गत राम्दी–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको छ । पाल्पाको रम्भा गाउँपालिका १ चाँदी खोलामा सडक माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । त्यस्तै, अर्घाखाँचीको शितगंगा नगरपालिका १२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिङ्गे–सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ ।
यसैगरी प्युठानको माण्डवी गाउँपालिका १ गर्जेनीमा सडक माथिबाट लेदो र ढुङ्गासहितको पहिरो झरेपछि भालुबाङ–प्युठान सडक खण्ड अवरुद्ध भएको छ । सवारी सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, प्युठान, दाङ, अर्घाखाँची, गुल्मी आसपासका स्थानमा भारी वर्षा मापन भएको छ ।