बलात्कारपछि भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ

मेचीकाली संवाददाता

१२ श्रावण २०८०, शुक्रबार
624 shares
सांकेतिक तस्वीर

बुटवल । जबर्जस्ती करणी गरी अश्लिल भिडियो बनाएर धम्क्याएको आरोपमा प्रहरीले शुक्रबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ बस्ने २४ वर्षीय आशिष सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गत वैशाख ५ गते पाल्पाको तानसेनस्थित एक होटलमा रुपन्देहीकै २५ वर्र्षीया महिलालाई करकापमा पारी जबर्जस्ती करणी गरेपछि भिडियो बनाएर धम्की दिएको आरोपमा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

सुनारले भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटकपटक करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सुनारले यही साउन ९ गते पीडित महिलालाई रुपन्देहीको बुटवल–११ स्थित एक होटलमा लगि पुनः जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

सुनारले अश्लिल भिडियो सार्वजनिक गर्ने र सामाजिक सञ्जालमा भाइरल बनाउने धम्की दिएपछि पीडित महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको समन्वयमा सुनारलाई पक्राउ गरिएको हो । युवकलाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।