मुटु रोगसँगै आर्थिक अभावले थलिएका पुष्पलालका समकक्षी

मेचीकाली संवाददाता

१३ श्रावण २०८०, शनिबार
374 shares

बुटवल। नेपालमा हालको राजनीतिक व्यवस्था त्यसै आएको होइन । कैयौंको बलिदान, त्याग र निरन्तरको प्रयत्नबाट नयाँ राजनीतिक व्यवस्थासहितको गणतन्त्र स्थापना भएको हो । यो गणतन्त्रको नारा आजभन्दा ७० वर्ष अघि नै लागेको थियो । यद्यपि त्यसबेला गणतन्त्रको नारा लगाउने व्यक्ति र दलहरू प्रतिबन्धमा थिए । दलको स्थापना समेत छिमेकी भारतका विभिन्न सहरमा भएका थिए । यहाँ निरंकुश शासन थियो । अझ कम्युनिस्ट भनेपछि तत्कालीन राज्य व्यवस्थाले देखि सहँदैन्थ्यो । लुकीलुकी संगठन विस्तारका अभियान चलाउनुपर्ने थियो ।

पुष्पलालले भारतको कलकत्तामा ००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । त्यतिबेला उहाँको साथमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ पनि सँगै हुनुहुन्थ्यो । नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्य साथ उहाँले कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।
राजाले ०१७ साल पुष १ गते प्रजातन्त्र हत्याएपछि पुष्पलालले लामो भूमिगत र निर्वासित जीवन बिताउनुभयो । त्यसपछि पुष्पलालले ०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्नुभएको थियो । सो कार्यदिशा अगाडि सार्ने उहाँ पहिलो नेता पनि हुनुहुन्छ ।

पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गर्नुभयो । उनै नेता पुष्पलालको निधन पनि भारतमै भयो । भारतबाट अस्तु नेपाल ल्याउने कुरा भएपनि धेरैमा हिम्मत भएन ।

त्यहीँ बेलामा कम्युनिस्ट कार्यकर्ता रामचन्द्र चापागाइँले पुष्पलालको अस्तु लिएर नेपाल आउनुभयो । नेपालमा आएपछि श्रद्धाञ्जली सभासहित अस्तु विसर्जन गरिएको थियो । हालै पुष्पलालको ४५ औ जयन्ती पनि मनाइएको छ । पुष्पलालको अस्तु नेपाल ल्याउने उनै नेता रामचन्द्र चापागाई अर्थात् आरसी अहिले गम्भीर बिरामी हुनुहुन्छ । विडम्बना रोगको उपचारका लागि व्यथासंगै आर्थिक अभावको सामना गरिरहनुपरेको छ । उहाँको बुटवल स्थित गौतम बुद्ध सामुदायिक मूट हस्पिटलमा उपचार भइरहेको छ । पत्नी थानकुमारी र छोरीले उहाँको स्याहारसुसार गर्नुभएको छ ।

नेता चापागाइँ बारे समकक्षी नेता देवेन्द्र घिमिरे भन्नुहुन्छः
कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको भारतमै कम्युनिस्ट आन्दोलनका एक योद्धा रामचन्द्र चापागाइँ अर्थात् आरसी चापागाई स्याङ्जाबाट कम्युनिष्ट आन्दालन उठान गर्ने व्यक्ति हो वहाँ । म र वहाँ २०२६ देखि परीचित छौ । हामी २०२६को पक्लिहवामा भएको तत्कालीन कान्डका नामले चर्चित जुलुसमा सँगै थियौं । पार्टी कमिटी अलग अलग हुने गरेपनि उहाँ निरन्तर कम्युनिस्ट आन्दोलनमा हुनुहुन्छ । पसष्पलाल विचारमञ्चको अध्यक्ष भएर पनि उहाँले अभियान चलाउनुभएको थियो सिङ्गो रूपन्देहीमा ।

विभिन्न कम्युनिष्ट पार्टीहरूमा रहेर आउनु भएको वामपन्थी साथी हो । ‘२०३५ सालमा पुष्पलालको अस्तु भारतबाट काठमान्डु ल्याएका बेलादेखि नै उहाँको राजनीतिक सक्रियता गजबको थियो । चापागाई लामो समयदेखि बिमार हुनु हुन्छ । उहाँको स्वस्थलाभको कामना छ । उपचारका लागि सक्दो सहयोग गरौं ।’ घिमिरेले भने ।