वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू गर्न माग

मेचीकाली संवाददाता

१४ श्रावण २०८०, आईतवार
231 shares

कपिलवस्तु । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघले सबै प्रदेशमा वन क्षेत्रको दिगो व्यवस्थापन गर्न वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग राखेको छ । प्रथम वार्षिकोत्सवको अवसरमा महासंघले वैज्ञानिक तरिकाले वन व्यवस्थापन गरे मात्र प्राकृतिक स्रोतको सदुपयोग गरी मुलुकलाई आर्थिक समृद्धि तर्फ लिन सकिने तर्क राख्दै सबै प्रदेशले यो नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ ।

महासंघले भनेको छ, अर्थतन्त्रमा समस्या आयो भनेर चालु वर्षको बजेटमा दुई दर्जन सरकारी कार्यालय खारेज गरिएको छ । यतातिर नेपालका वन जंगलमा भएको काठ कुहाएर, सडाएर विदेशबाट काठ आयात गरेर मुलुकलाई थप आर्थिक हिसावले कमजोर बनाउने काम भइरहेको छ । यस्तो कामलाई तत्काल रोकि सात वटै प्रदेशमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागु गरी आन्तरिक रुपमा काठको सहज आपूर्ति गर्न महासंघले माग गरेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले उपभोक्ताको खपतमा पनि २५ प्रतिशत कर थोपर्ने विषयको बिरोध गरेको छ । वन संरक्षण उपभोक्ताले आफूले घरायसी प्रयोग गर्नका लागि लिएको काठमा पनि २५ प्रतिशत कर लगाउने व्यवस्था गरिव, विपन्न उपभोक्ता बिरोधी कदम हो यसलाई तत्काल खारेज गर्नुपर्छ महासंघले भनेको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका वन मन्त्री रमेशसिंह धामीले चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा वैज्ञानिक वन प्रणाली लागु गर्ने प्रतिवद्धता व्यक्त गरे । संघीय सरकारका वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले प्राकृतिक स्रोतलाई सडाएर विदेशबाट काठ आयात गर्ने कुरा मुलुकको हितमा नभएकाले वैज्ञानिक तरिकाले वनजंगलको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष रेनु सेनले वैज्ञानिक वन व्यवस्थापन प्रणालीबाट दीगो वनको संरक्षण र व्यवस्थापन आजको आवश्यकता भएको बताइन् । उनले यस प्रणालीबाट आम उपभोक्ताले सहज रुपमा काठ, दाउरा पाइरहेको अवस्थालाई हेरेर सबै प्रदेशमा यही प्रणालीबाट वन व्यवस्थापन गरिनुपर्नेमा जोड दिइन् ।

महासंघका बरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मीले लुम्बिनी प्रदेशमा हाल सुरु भएको वन व्यवस्थापनको पद्धतीलाई सबै प्रदेशले अवलम्बन गरी देशभरका वन उपभोक्ताको हितमा काम गर्नुपर्ने बताए ।

वार्षिकोत्सव कार्यक्रममा सातवटै प्रदेशका उपभोक्ताहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सबै प्रदेशमा वैज्ञानिक वन व्यवस्थापनका कार्यक्रम सञ्चालनका लागि दवावमूलक कार्यक्रम आयोजना गर्ने निष्कर्ष निकालिएको महासंघले जनाएको छ । प्रथम वार्षिकोत्सव कार्यक्रम बबरमहल काठमाडौंमा सम्पन्न गरिएको हो ।