रुपन्देहीबाट ५ लाख बढी मूल्यको अवैध कपडा बरामद

मेचीकाली संवाददाता

१६ श्रावण २०८०, मंगलवार
246 shares

बुटवल । रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याइएको ५ लाख भन्दा बढी मूल्यको कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मायादेवि गाउँपालिका ६ बेथरीबाट कोटहीमाई गाउँपालिका ३ का २१ वर्षीय बिजय भरले चलाएको लु ४७ प ४८३७ नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको १४० पिस कुर्ता सुरुवाल बरामद गरेको छ । उक्त कपडाको अन्दाजी मूल्य १ लाख ४९ हजार बराबर हुने रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

त्यस्तै, प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका ६ लोफडिबाट गैडहवा गाउँपालिका ७ का ३७ वर्षीय सन्तकुमार खरबिन्दले चलाएको लु १ ह १६९४ नम्बर ई–रिक्सामा ल्याउदै गरेको ५५० पिस जेन्स अण्डर वेयर, १ हजार १ सय पिस सेन्डो भेष्ट बरामद गरेको छ । उक्त कपडाको अन्दाजी मूल्य ३ लाख ६० हजार बराबर हुने प्रहरीले जनाएको छ ।

बरामद सामान, सवारी साधन र मानिसहरुलाई आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।