पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा तीनजना घाइते

मेचीकाली संवाददाता

२२ श्रावण २०८०, सोमबार
134 shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ ड्याम साइड क्षेत्रमा सोमबार बिहान गुडिरहेको जिपमाथि ढुंगासहितको पहिरो खस्दा तीनजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि ढुंगासहितको पहिरो खस्दा तीन जना घाइते भएको दोभान प्रहरी चौकीले जनाएको छ ।

घाइते हुनेहरुमा जिप चालक नवलपुरको विनयत्रिवेणी गाउँपालिका-७ का ३२ वर्षीय विवेक कार्की, जीपमा सवार पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने र रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ का २४ वर्षीय चन्दन कार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । नागको मन्दिर नजिकै माथिल्लो भागबाट ढुंगासहितको पहिरो खसेर जिपलाई च्यापेको प्रहरीले जनाएको छ । केही समय अवरुद्ध भएको सडक ढुंगा फालेर एकतर्फी खुलाइएको छ ।