सधैँको त्रासमा सिद्धबाबा खण्ड, कहिले बन्ला सुरूङमार्ग ?

मेचीकाली संवाददाता

२३ श्रावण २०८०, मंगलवार
280 shares

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडमाथिबाट ढुङ्गा खसेर जीपमा लाग्दा सोमबार ३ जना घाइते भए । तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्स नजिकै गुडिरहेको जीपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको अवस्थमा माथिबाट एक्कासी ढुङ्गा खस्दा लु २ च २८४९ नम्बरको जीप चालकसहित ३ जना घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्ता घटना यो खण्डमा जतिबेलासमेत हुने गरेका छन् । सडकअन्तर्गत सिद्धबाबा खण्ड जम्माजम्मी चार किलोमिटर जोखिमपूर्ण छ । पहाड र तराई जोड्न यो राजमार्गको सिद्धबाबा खण्ड नाम सुन्नेबित्तिकै त्रसित बन्नुपर्ने अवस्था छ । यही छोटो दूरीमा दुर्घटनाको शृंखला भने निकै लामो छ । पछिल्लो डेढ दशकमा यो खण्डमा झण्डै ८० जनाले अकालमै ज्यान गुमाएका छन् । पहाडबाट चट्टानसहितको खस्ने ढुंगा, माटो र पहिरोले कतिखेर सवारीसाधन पुर्ने हो, पत्तो हुँदैन । ‘घर जाँदा–आउँदा सिद्धबाबा पार नगर्दासम्म सधैँ डर हुन्छ,’ पाल्पा दोभानका स्थानीय विष्णु पाण्डे भन्छन्, ‘वर्षा होस् कि हिउँद, सधैं त्रासमै हिँड्नुपर्छ ।’ यो सडकमा सवारी गुडेको ५० वर्ष नाघिसकेको छ । वि.सं. २०२८ सालमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक निर्माण भएको थियो ।

दोभानकै स्थानीय तोया लम्सालका अनुसार पनि सिद्धबाबा क्षेत्रमा सुरुदेखि नै यस्तै जोखिम छ । यो सडकबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङलगायत १२ जिल्लाका सवारीसाधन जाने आउने गरी यहाँ दैनिक २ हजार ५०० भन्दा बढी सवारीसाधन गुड्ने गर्छन् । सिद्धबाबा क्षेत्रमा माथि पहाड छ  भने तल तिनाउ नदी बग्छ । बर्सेनी दुर्घटना हुँदा पनि सरकारले यात्रा सुरक्षित बनाउन नसकेको लम्सालको गुनासो छ ।

अहिले सिद्धबाबामा सुरूङमार्ग निर्माणको काम सुरु भएको छ । तर दुवैतर्फको प्रस्थान विन्दुमा पहिरो झरेपछि अहिले काम रोकिन पुगेको छ । सुरुङमार्ग पनि छोटो दूरीमा मात्र बन्ने भएकोले यसको दीर्घकालीन रुपमा सुरक्षित नहुने कतिपयले बताउँछन् । यस क्षेत्रमा जति राम्रो काम गर्दा पनि सडक टिकाउनै हुँदैन । धेरैजसो टिप्पर चल्ने यो खण्डमा सडक चाँडो बिग्रिन्छ ।

सडक सुरक्षित बनाउन बुटवलदेखि राजमार्गको झुम्साबाट चौकीभन्ज्याङ हुँदै पूर्वपश्चिम राजमार्गको चरङ्गे–धागो कारखाना जोड्न ट्रयाक खुलेको छ । हतारमा वैकल्पिक मार्गमा प्रदेश सरकारले लगानी गरे पनि उक्त सडक चल्ने अवस्था देखिँदैन । झुम्साबाट १६ किमीमा धागो कारखाना निस्किन्छ । सुरूङमार्गले सडक डाइर्भसन सकेर टर्नेल पोर्टलको निर्माणको कामले तीव्रता पाएको बेला वर्षायामले अहिले काम रोकिएको छ । सुरूङमार्गका इन्जिनियर युधिष्ट पन्थी वर्षाले कामलाई अवरोध गरेको बताए । आयोजनाको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन हो ।

मृत्यु मार्गको उपमाले परिचित सिद्धबाबा क्षेत्रमा लामो समयदेखि सुरूङमार्ग निर्माणको चर्चा चले पनि यसै वर्षदेखि निर्माणको काम अगाडि बढेको हो । १ हजार १२६ मिटर लामो सुरूङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडियाखोला रामपिथेकस पार्कसम्म ल्याइने छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनी ठूलो दुर्घटना हुने गरेको छ ।

वर्षौँदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरूङमार्गको निर्माण अघि बढाएको हो । यो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ । स्विस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सुरूङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ । रातिको समयमा बाटो बन्द गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।