अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गमैत्री सहायक सामग्री हस्तान्तरण

मेचीकाली संवाददाता

२३ श्रावण २०८०, मंगलवार
406 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिकाले शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गमैत्री सहायक सामग्री हस्तान्तरण गरेको छ । पालिकाले एक कार्यक्रमको आयोजना गरी अपांग उत्थान समाज कपिलवस्तुलाई सामग्री हस्तान्तरण गरेको हो । सहायक सामग्री नगर प्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालद्वारा हस्तान्तरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले सहायक सामग्री हस्तान्तरण गर्दै यस्ता सामग्रीले अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक जीवनयापन गर्न थप सहजहुने विश्वास व्यक्त गर्नु भयो । उहाँले हिडडुल गर्न समस्या भएका व्यक्तिहरुलाई सहायक सामग्रीले बाहिरी वातावरण सम्म समाबेस हुन सहयोग पुग्ने बताउनु भयो । बाणगंगा नगरपालिकाले विगतका वर्षदेखि नै अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने कार्य गर्दै आएको नगर प्रमुख अर्यालले बताउनु भयो ।

अपांगता भएका व्यक्तिहरुलाई सबैले सहयोग गर्नुका साथै सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने बताउँदै आगामी दिनहरुमा समन्वय सहकार्यका लागि प्रतिवद्धता जनाउनु भयो । साथै अपाङ्गमैत्री नगर बनाउन नगर प्रतिवद्ध रहेको समेत दाबी गर्नु भयो । आगामी दिनमा नगरपालिकाले नगरमा बनाउने सरकारी संरचना अपाङ्गमैत्री बनाउँदै जाने उहाँको भनाई छ ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारको संरक्षण गर्न नगरपालिका लागिपरेको बताउनु भयो । अपाङ्गताको क्षेत्रमा काम गर्ने हरेक निकायसंग समन्वय गर्न नगर सधै तयार छ,’ उहाँले भन्नु भयो । अपाङ्गता भएका ब्यक्तिहरुको सहजताका लागी सबै सरोकारवालाहरु लाग्नुपर्ने बताउँदै उनीहरुले अवसर पाएमा क्षमता अनुसारको काम गर्न सक्ने बताउनु भयो ।

नगरपालिकाले सेवाग्राहीको माग अनुसार ६ वटा ह्वील चियर, १० सेट बैशाखी, १० वटा सेतो छडी, १ वटा अपांगमैत्री ट्वाइलेट चियर अपाङ्ग उत्थान समाज कपिलवस्तुका निवर्तमान अध्यक्ष हेमनाथ ज्ञवाली र संस्थाका कर्मचारी गोमा पन्थीलाई हस्तान्तरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुसिला पन्तले जानकारी दिनु भयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पन्तले हस्तान्तरण गरिएका सामग्री बाणगंगा नगरपालिका भित्रका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिने बताउनु भयो । उहाँका अनुसार नगरपालिका र अपांग उत्थान समाज कपिलवस्तुमा सामग्रीकालागी माग भएपछि नगरपालिकाले एक लाख बराबरको सामग्री खरिद गरि हस्तान्तरण गरेको हो । बाणगंगा नगरपालिकामा ४ सय ३ जना पुरुष र ३ सय २० जना महिला गरि कुल ७ सय २३ जनाले अपांगता परिचयपत्र लिएको नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ ।