स्वास्थ्य क्षेत्र सरकारको प्राथामिकतामा पर्नुपर्छः नेता गिरी

मेचीकाली संवाददाता

२७ श्रावण २०८०, शनिबार
275 shares

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा एमाले रूपन्देहीको आयोजनामा शनिबार स्वास्थ्य विषयक गोष्ठी तथा (मृगौला रोगसम्बन्धी) सीएमई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । राजनीतिक पार्टीहरु संगठन निमार्ण गर्नेमात्र नभई सामाजिक विषयवस्तुमा समेत अग्रसर हुन जरुरी रहेको उनले बताए ।

कार्यक्रमबारे जानकारी गराउँदै स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा एमाले रूपन्देहीका प्रमुख सुनिल श्रेष्ठले एक वर्षमा गर्ने बिभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । अध्ययन र छलफलबाट कार्यक्रम तय गरिएको भन्दै उनले आम नागरिकको जीवनमा छुने गरी स्वस्थ्यसँग जोडेर कार्यक्रम गर्ने बताए । एक विद्यालय एक स्वास्थ्यकर्मी, बिरामीहरुका लागि निःशुल्क रगत, जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा दक्ष जनशक्तिका लागि पहल, जनतासँग चिकित्सक कार्यक्रम, अस्पतालहरुमा दरबन्दी अनुसारका डाक्टरको व्यवस्थाका लागि पहल गर्ने श्रेष्ठ बताए । मानिसको स्वास्थ्य राम्रो भयो भने मात्र सहजरुपमा अन्य कामहरु गर्न सक्ने भएकाले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा.सागर न्यौपानेले रूपन्देहीको समग्र स्वास्थ्यको अबस्थाबारे जानकारी गराएका थिए । रुपन्देहीका १६ वटा पालिकाका १५५ वडामध्ये १४३ वडामा आधारभुत स्वास्थ्य संस्था रहेको उनले जानकारी दिए । अस्पतालमा आउने बिरामीहरुले अझैपनि सहजरुपमा सेवा लिन नसकिरहेको अबस्थामा यसलाई सहज बनाउन सबैको साथ र सहकार्य आबश्यक रहने उनले बताए ।

अस्पतालहरुमा आबश्यक औषधि, चिकित्सकको अभाव, न्यूनतम मापदण्ड बिनाका प्रयोगशाला तथा आबश्यक उपकरण अभाव जस्ता कारणले बिरामीहरुले समस्या भोग्नुपरेको उनले जानकारी गराए । स्वास्थ्य सेवालाई सहज बनाउन स्वास्थ्य स्वयमसेविकाको भुमिका महत्वपूर्ण हुने भएकाले सरकाले उनिहरुको सेवा सुविधामा बिशेष ध्यान पिदनुपर्ने उनको भनाई थियो ।

त्यस्तै, कार्यक्रममा बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले पछिल्लो समय मृगौला रोग सबै उमेर समूहका मानिसहरुमा देखिएकाले हरेक नागरिक सचेत हुनुपर्ने बताए । नेपालको कुल ३ करोड जनसंख्यामा ३० लाख मानिसको मृगौलामा समस्या रहेको चिकित्सकहरुको तथ्यांकमा देखिएको उनले दाबी गरे ।

विश्वब्यापी रुपमा हेर्दा १० प्रतिशत जनसंख्यामा मृगौलाको समस्या देखिएको उनले बताए । मृगौला फेल हुनुको मुख्य कारणमा मधुमेह र उच्च रक्तचाप हुने देखिएको भन्दै खानपान रहनसहनमा ध्यान दिनुपर्ने बताए । ‘दैनिक २ सय लिटर ब्लड छान्ने मृगौलालाई हाम्रो ध्यान गएको छैन ।’, उनले भने, ‘जन्मदिनमा केक हैन मृगौला जाँच गरौँ ।’

यसैगरी मृगौला खराबसंगै नसा, मुटु र टाउकोका रोगहरु ल्याउने भन्दै उनले यसबारे सचेत हुन सुझाव दिए । अहिले २० जना बिरामीमध्ये ५ जनामा पथ्थरीको समस्या हुने गरेको उनले बताए । चिकित्सकको अनुमति बिना आफूखुसी औषधि सेवन गर्दा मृगौलाको समस्या बढ्दै गएको डा.बस्नेतले बताए ।

मृगौलामा समस्या हुँदा सुरुको अबस्थामा लक्षणहरु केही नदेखिने भएकाले हरेक नागरिकले कम्तीमा ६÷६ महिनामा मृगौला, पिसाब जाँच गर्नुपर्ने उनले बताए । ‘समय समयमा आफ्नो स्वास्थ्य जाँच गर्ने, दैनिक १०–१२ गिलास पानी पिउने, सुगर, रक्तचाँप नियन्त्रण गर्ने, नुनको कम प्रयोग गर्ने हो भने पनि मृगौला रोगबाट बच्न सकिन्छ ।’ डा.बस्नेतले भने । सुगरको समस्या भएका ३ जना बिरामीमध्ये एकजना र उच्च रक्तचाप भएका ५ जना बिरामीमध्ये एक जनामा मृगौलामा समस्या देखिएको उनले बताए ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, केन्द्रिय अनुशासन आयोग उपाध्यक्ष नेत्र पन्थी, केन्द्रिय सदस्य शिवराज सुवेदी, एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी लगायतले बोल्दै स्वास्थ्यको विषयमा गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा स्वस्थ्य क्षेत्रमा योगदान दिएका नेपाल फार्मेसी संघको केन्द्रीय अध्यक्ष किरण ढकाल र नेपाल औषधी व्यवसायी संघ रुपन्देही जिल्ला शाखाका उप–कोषाध्यक्ष केदार नेपाललाई सम्मानपत्र र खादाबाट सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य तथा जनसंख्या विभाग सचिव केदार नेपालले गरेका थिए ।