रुपन्देही र बाँकेबाट ४९ लाखको अवैध सामान बरामद

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
265 shares

बुटवल । प्रहरीले रुपन्देही र बाँकेबाट ४९ लाख भन्दा बढि मूल्यको अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि गरेर ल्याएको ४९ लाख ३१ हजार ९४० रुपैयाँ बराबरको बिभिन्न सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रुपन्देहीको मायादेवि गाउँपालिका ६ बेथरीबाट शुक्रबार २७ लाख ४७ हजार ४ सय बराबरको अवैध सामान बरामद गरिएकोे रुपन्देही प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले ना ३ ख ४४१३ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको अवस्थामा थानको कपडा १ हजार ५१४ मिटर, साडी ४७४ पिस, सुट ५०८ पिस, ब्लाउज ५५ पिस लगायतका सामान बरामद भएको प्रहरी उपरीक्षक विकले बताए । प्रहरीले ट्रक चालक स्याङ्जाको पुतलीबजार नगरपालिका १३ का ४० वर्षीय लालबहादुर विकलाई प्रक्राउ गरेको छ ।

यस्तै, बिहिबार रुपन्देहीको रोहिणी गाउँपालिका ३ सेमरहवा चोकबाट १२ लाख ६२ हजार २ सय बरावरको सामान बरामद भएको छ । प्रहरी उपरीक्षक विकका अनुसार इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले लु १ च ५८३१ नम्बरको पिकअपमा ल्याउँदै गरेको अवस्थामा माला, लेमिनेसन पेपर पेटी र क्लिप नियन्त्रणमा लिएको हो । प्रहरीले गाडी चालक नवलपरासीको सुनवल नगरपालिका ८ का ३७ वर्षीय संगितकुमार खरविनलाई प्रक्राउ गरेको छ । बरामद सामान र सवारी साधनलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरी उपरीक्षक विकले बताए ।

त्यस्तैगरी, प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीबाट अवैध रुपमा दाङतर्फ ल्याउँदै गरेको ९ लाख बढि मूल्यको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रा १ ज ३८१ नम्बरको बोलेरो पिकअप गाडीमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको अबस्थामा ९ लाख २२ हजार २५० बराबरको जुत्ता, चप्पल बरामद गरेको हो ।

प्रहरीले गाडी चालक दाङको तुलसिपुर उपमहानगरपालिका ९ का २४ वर्षीय कमल विकलाई प्रक्राउ गरेको छ । प्रहरीले बरामद सामान र सवारी साधनलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय नेपालगञ्ज पठाएको जनाएको छ ।