युवाशक्ति विदेशिएपछि भोलि के होला ?

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
394 shares

आजका युवाहरु दिगो विश्व निर्माणमा लाग्नुपर्ने अवस्था आइरहेको यस वर्षको नाराले पनि प्रमाणित गर्न खोजिरहेको छ । तर दुर्भाग्य हामी नेपाली युवाहरुले न त जीवन उपयोगी सीप नै सिक्न सक्यौं, न त प्राविधिक तथा व्यवसायिक सीप नै लिन सक्यौँ, नत जानेको सीपअनुसारको काम नै पाउन सकेको अवस्था छ । यसतर्फ राज्यले बेलैमा योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ ।

युवाहरुको विदेश पलायनले हाम्रो भविष्य अन्यौलग्रस्त बनाइहेको छ । युवालाई स्वदेशमै कुनै न कुनै कामको सुनिश्चितता गर्न सकेको भए, कुनै न कुनै सीप सिकाएर सीपअनुसारको कामको प्रबन्ध गरेका भए पक्कै पनि विदेशिनेको संख्या यसरी अस्वभाविक रुपमा बढ्ने थिएन । कक्षा १२ पास गरेका देखि मास्टर्ससम्म पास गरेका युवाशक्ति विदेश जान लालाहित छ । विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै जाँदा त्यसले भोलिको नेपालको भविष्य के होला ?

हिजोको हिंसात्मक द्वन्द्व, चरम अभाव र बेरोजगारी, अस्वभाविक महँगी र कालाबजारी जस्ता कारणले गर्दा युवा पुस्तामा निराशा छ । यो निराशा अहिले अझ बढेको छ । अनेक समस्याले विद्यार्थीहरु पढाइलाई बिचमै छाडेर विदेशिन थालेका छन् । राजनीतिक दलहरु पनि युवालाई उपयोग गर्नेमा मात्रै तल्लिन देखिएका छन् । अझ नयाँ भनिएका कतिपय दलका चटकी व्यवहार देख्दा त झन उनीहरुले क्षणभरमै सबै सम्भावनालाई साकार पार्नेजसरी हावादारी गफ दिइरहेका छन् ।

ग्रामीण भेग खाली हुँदै गएको छ । कैयौं गाउँहरु भग्नावेशमा परिणत भैरहेका छन् । एकातिर ज्येष्ठ नागरिक मात्रै गाउँमा छन् भने अर्कोतिर जंगली जनावरका कारण खेतीपाती लाउनेहरु पनि मारमा छन् । घरभित्रै बाँदर पसेर अन्नपात खाइदिन्छ । अनेकौं समस्यामा जेलिएको छ गाउँ । सहर पनि सहर जस्तो छैन । गाउँबाट सहरमा भविष्य देखेर आएकाहरु अभाव र पीडाले थलिएका छन् । बरु देशै छाडेर जानपाए हुन्थ्यो भन्ने उनीहरुलाई भइरहेको छ ।

उकुसमुकुस, अभाव, महँगी, संक्रामक रोग, बाढी, खडेरी, भोकमारी, बेरोजगारीका चरम समस्याले सहरबासीको पनि जीवन आक्रान्त छ । सहरका शिक्षित बेरोजगार युवाहरुको भयावह अवस्थाले वैदेशिक रोजगारीमा जानेको संख्या बढाएको छ । न गाउँमा सुख, न सहरमा सुखको अवस्थामा रहेका कैयन् युवाहरु देशप्रति नै दिक्क मान्दै परदेश पस्ने गरेका छन् । यसले भोलिको देशको हालत के होला ? कता लैजाला हाम्रो मुलुकलाई ? यसतर्फ राज्यसञ्चालकहरुको बेलैमा ध्यान जान जरुरी छ ।