व्यवस्था मात्रै होइन, जनताको अवस्था फेरिनुपर्छ

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
397 shares

पछिल्लो समयमा जनतामा एकप्रकारको निराशा र आक्रोस चुलिएको छ । खासगरी नयाँ राजनीतिक व्यवस्था बहाली भएपनि जनताको अवस्थामा कुनै परिवर्तन नभएका कारणले पनि आक्रोस मिश्रित निराशा चुलिएको हो । यसलाई सामान्य रुपले लिनुहुँदैन । अब राज्य सञ्चालनको जिम्मेवारीमा रहेका सबै दलले यसलाई गम्भीर रुपमा लिएर जनताको अवस्था बदल्ने काममा जुन प्रतिबद्धता जनाइएको थियो, त्यसलाई कार्यान्वयन गर्न फेरि एकजुट हुनुपर्ने भएको छ । मुलुकको राजनीतिक व्यवस्था फेरियो तर जनताको अवस्था फेरिएको छैन । यसैकारणले जनतामा निराशा र आक्रोस बढाएको हो ।

अब फेर्नुपर्ने छ । अनेक दुःख र बिलौना लेखेर काठमाण्डौ बानेश्वरमा प्रेम आचार्य नामका एक युवाले केही महिनाअघि काठमाण्डौमा आत्मदाह गरे । आत्महत्याका कैयन् दर्दनाक घटना पनि उस्तै छन् । यस्ता घटनाले एक प्रकारको बहसको समेत आरम्भ गराएका छन् । खासगरी समाजमा विद्यमान अवस्थामा रोजगारीको अभाव र आर्थिक संकटले धेरै युवालाई पिरोलेको छ । यस्ता दर्दनाक घटना हुन नदिन राज्यले लोककल्याणकारी काम गर्नुपर्ने छ । समाजवाद आएझैं भरखरै सबै काम फत्ते हुँदैनन् । तर, आधारभूत विषयमै आपत् भोगिरहेका जनताका लागि भने तत्कालै राहतसहितका कार्यक्रमको खाँचो छ ।

बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा विचार, नीति, सिद्धान्त र कार्यक्रम लिएर जनतामा जाने हो । जनताले तिनै कार्यक्रम हेरेर, विगतमा अवसर पाउँदा भएगरेका कामको सूची हेरेर र भोगेर अभिमत प्रकट गर्न सक्छन् । घोषणापत्रमार्फत राष्ट्रिय हित तथा जनताका सुख सुविधाका लागि जे जस्ता काम गरियो, जे जस्ता योजना अगाडि सारियो र अब जे जति र जसरी गर्न सकिने हो, त्यसलाई प्रस्तुत गर्नुपर्छ । नयाँ व्यवस्था कायम भएपछि जनतामा परिवर्तनको सही अनुभूति हुनुपर्ने छ । जनतामा एक प्रकारको निराशा र आक्रोस चुलिएको छ जसलाई कम गर्नका लागि पनि जनताका दैनिक समस्याको सम्बोधन हुनेगरी तत्कालै राहतका प्रभावकारी कार्यक्रम बनाउनुपर्ने छ ।

हामीकहाँ स्वतन्त्रका नाममा अरुलाई गाली गर्ने, अविश्वसनीय प्रतिबद्धता र सस्तो लोकप्रियता देखाउने काम पनि भइरहेको छ । हरेक नागरिकलाई राजनीतिक अधिकार छ । संवैधानिक सीमा र प्रावधानमा रहेर दल बनाउने र संगठन विस्तार गर्ने अधिकार सबैलाई छ । तर, समाज भाँड्ने, भड्काउने, द्वेष पैदा गर्न पाइँदैन । अधिकारका कुरा मात्रै गर्ने होइन हरेक नागरिकले आफ्नो कर्तव्यको पनि पालना गर्नुपर्ने छ । अधिकारसँगै नागरिकमा कर्तव्यको पनि सही पालना गराउनुपर्ने छ ।