उच्च स्तरीय स्वतन्त्र छानबिन समितिमै एमालेको जोड

मेचीकाली संवाददाता

२८ श्रावण २०८०, आईतवार
488 shares

काठमाडौं । तस्करी र अनियमिततामा राज्य नियन्त्रित संरक्षण भएको भन्दै एमालेले उच्च स्तरीय स्वतन्त्र छानबिन समिति गठनमा जोड दिएको छ । यहीँ माग राख्दै साउन १० देखि सदनमा एमालेले सशक्त विरोध समेत जनाइरहेको छ ।

यिनै विषयमा स्पष्ट पार्न एमालेले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सोही पत्रकार सम्मेलनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उच्च स्तरीय स्वतन्त्र छानबिन समिति गठन हुनुपर्नेमा जोड दिए ।

सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने अध्यक्ष ओलीको भनाइ छ । वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने उनले बताए । ओलीले संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको बताए ।

‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’, उनले भने, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन ।’ ‘अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानबिन गर्न सक्दैन, दलिय गठबन्धन अगाडि आउँछ ।’

सत्ताको मोह छैन तर, सरकारले मनपरी गर्न पाउँदैन
चिन्ता सरकारको होइन, देशको हो । देशको अर्थतन्त्रको हो । जनताको सामाजिक, दैनिकीको हो । कुन अवस्थामा देश पुगेको छ ? उद्योगधन्दा के भइरहेका छन् ? आज निर्माण व्यवसायी गिरफ्तार गरिन्छन्, उनीहरूका भनाइ कसैले सुन्दैन । निर्माण व्यवसायी सडकमा आउनुपर्ने अवस्था सरकारले गरेको हो,’ उनले भने ।
मुलुकको अर्थतन्त्रको अवस्था कमजोर रहेको व्यवसायी सडकमा आउनुपरेको ओलीको भनाइ छ । उनले एमालेको चिन्ता देश र अर्थतन्त्रको रहेको बताए । ‘एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुपता छैन । हामीलाई सत्तातिर हेर्नु पनि छैन । तर, यसको अर्थ सरकारले हामीले हेरेको छैन भनेपछि ‘ए ढुक्कै रहेछ नि त जे गरे पनि हुन्छ’ भन्ने कुरा चल्दैन । जे पनि गर्न पाउँदैन,’ उनले भने ।

‘एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुप्ता, सत्तातिर हामीले हेरेका छैनौं , हामीलाई हेर्नु पनि छैन’, उनले भने, ‘तर, यसको अर्थ सरकारले ढुक्कै रहेछ । जे पनि गरे हुन्छ भन्ने चल्दैन । जे पनि गर्न पाउँदैन ।’
एमालेको प्राथमिकता सरकारमा जानु नरहेको ओलीको स्पष्टोक्ति थियो । उनले अहिले एमालेले सत्तामा जानका लागि बोलिरहेको रुपमा नबुझ्न आग्रह गरेका छन् । पार्टीले सत्तातिर नहेरेको बताउँदै ओलीले एमालेलाई तत्कालका लागि सत्तामोह नरहेको स्पष्ट पारे ।

सुन तस्करीमा संलग्नता नभए किन तर्सियो सरकार ?
अध्यक्ष ओलीले नेकपा एमालेले संसद अवरोध नगरेको प्रस्टिकरण दिएका छन् । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले निश्पक्ष छानबिन आयोग गर्न किन नहुने भन्दै प्रश्नसमेत गरे । साथै उनले तस्करीको सुनमा सरकारको संलग्नता नभए किन आयोग बनाउन तर्सिएको भन्दै प्रश्न गरे । ‘सरकारको अयोग्यता, नालायकिपन वा लाचारी के हो ? सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ ? हामीले आफ्ना कार्यकर्ता राखेर होइन, न्यायिक छानबिन भनेका छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।

बहलवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने ओलीको माग छ । ‘एसपीको नेतृत्वमा छानबिन गर्दा एसएसपीले यसो नगर्नु भनेपछि गर्न सक्दैन । गोल्डेन टच पो भयो यो त । ‘ब्रेक सु छोयो अर्को छोयो सुन भन्सारबाट जे ल्याउँदा पनि सुन यस्तो अवस्थामा देश छ’, ओलीको भनाइ छ ।

सुन तस्करीको जरो माओवादीमा पुगेको दाबी
अध्यक्ष ओलीले सुन प्रकरणमा जोडिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन् । इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिँदासमेत छानबिन नगरेपछि ओलीले प्रश्न उठाए ।

सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यसका कनेक्सन कहाँ छ । टुप्पो टुप्पो मात्रै हेरेर हुँदैन । जरो कहाँ छ ? स्पष्ट देखियो त । २३४ पटक कुनै गिरोहसम्म निरन्तर संवाद कसरी हुन्छ मान्छेको ? यो निष्पक्ष छ । तैपनि सोधपुछ पनि गर्नुपर्दैन । यसरी पनि देश चल्छ ? अनि बाहिर स्टण्ट दिएको छ । गफ दिएको छ। भ्रमपूर्ण प्रचार गरेको छ ।’ उनले गृहमन्त्रीले भ्रमपूर्ण प्रचार गराएर स्टण्टमा रमाएको आरोप लगाए ।

३३ किलो सुनबारे अनुसन्धान होस्
अध्यक्ष ओलीले ३३ किलो सुन आफ्नो सरकार बन्नुभन्दा पहिला नै आएको बताए । उनले भने, ‘हामीले सुन नभेट्टाए पनि उनीहरूमाथि कारबाही ग¥यौँ । अहिले पनि जेलमा छन् । सुन बाहिर पठाएको रहेछ । पत्ता लगाउन सकिएन ।’ ओलीले क्वीन्टल सुनको तस्करीको छानबीन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन हुनुपर्ने माग गरे ।

सरकारले स्वतन्त्र छानबिन गर्न नसक्ने बाध्यता बुझ्न अप्ठेरो नरहेको उनको भनाइ छ । उनले अहिलेसम्म संसदमा कुनै विधेयक आउनेबारे छलफल नगरिएको बताए । संसद प्रतिपक्षले अवरोध गरेको भनेर आरोपमात्रै लगाइएको बताउँदै ओलीले भने, ‘अहिलेको संसदले संसदीय मर्यादा राख्न सक्दैन ।’

संसद्मा सत्तापक्षकै कारण अवरोध
संसद् चलाउन खोजेको दाबी गर्दै ओलीले सत्तापक्षको अवरोधका कारण चल्न नसकेको दाबी गरे । उनले संसद् अवरोध एमालेले नगरेको बताए । साउन १० यता संसद्को बैठक तस्करीका विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने माग गर्दै अवरोध भइरहेको छ । सत्तापक्षले नै संसद् चल्न नदिएको ओलीको दाबी छ । ‘संसद् अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । संसद् देश र जनताका लागि काम गर्ने थलो हो । संसद्ले निर्वाध ढंगले काम गर्न पाउनुपर्छ ।’

‘संसद्ले देश र जनताका पक्षमा बोल्ने, आवाज उठाउने हो,’ उनले भने, ‘अहिलेको संसद्को अवरोध तपाईंहरूले देख्नुभएको छ । हामी चलाउन खोजिराख्या छौं । तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्ने ।’
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसद्का दुवै सदनको काम कारबाहीमा अवरोध गरिरहेको बताउँदै अध्यक्ष ओलीले थपे, ‘संसद् अवरोध हामीले गरेको होइन ।’ सुन तस्करीले देशलाई अप्ठ्यारोमा पारेको उनले बताए । मुलुकको अर्थतन्त्र, सुशासन, प्रशासनमाथि प्रहार भइरहेको ओलीको भनाइ छ ।

गृहमन्त्रीले जवाफदेहीता छाडेर स्टण्ड देखाए
गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करीका बारेमा तथ्यमा नपुगी स्टण्ड मात्रै देखाएको ओलीको आरोप छ । गृहमन्त्रीले जुन जवाफदेहीता वहन गर्दै छानबिनमा लाग्नुपर्ने हो त्यसो नगरी स्टण्ड देखाउने काम गरेको ओलीले बताए । जवाफदेहीता वहन नगर्ने गृहमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको बताउँदै ओलीले सुन तस्करी प्रकरणले गृहमन्त्रीको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको बताए ।

‘राजीनामा बाहेक गृहमन्त्री आफैँ रोस्ट्रममा उभिन जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ‚ सुन भनेर पक्रिएर राख्यो, राखेको ठाउँबाट हराउँछ,’ अध्यक्ष ओलीले भने, ‘गृहमन्त्रीको जवाफदेहीता होइन त्यो ? क्विन्टलका क्विन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ । त्यस्ता कम्पनी कतिवटा छन् ? सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई नागरिकता कसले दियो ? त्यस विषयमा गरिएको छानबिन गायब गरियो’ अध्यक्ष ओलीको प्रश्न थियो ।

‘तार काट्ने क्यामेराको मुन्टो अर्कोतर्फ फर्काउने, घाटी मर्काउने कस्तो सरकार हो यो,’ उनले भने । उनले गृहमन्त्री र अर्थमन्त्रीले यस्तो अवस्था हुँदा पनि राजीनामा नगरी कसरी बस्न सकेको हो भन्ने पत्रकार प्रश्न गरे । ‘यो आठौं होइन नवौं आश्चर्य हो । त्यसमाथि पनि गृहमन्त्री जसको अभिभारा हो र जिम्मेवारी हो उसले विल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर राष्ट्रिय झण्डा हल्लाएर हिड्न अफ्ठ्यारो लाग्दैन ?’ ओलीले प्रश्न थियो ।