

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टी–२० विश्वकप २०२१ को खेल तालिका सार्वजनिक गरेको छ। आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने विश्वकपको मंगलबार खेल तालिका सार्वजनिक गरिएको हो।
सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्। जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर–१२ मा पुगेका छन्। सुपर–१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्। पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर(१२ मा पुग्नेछन्।
पहिलो चरणको खेलअन्तर्गत १७ अगस्टमा ओमान र पपुवा न्युगिनीबीच खेल हुनेछ। सोहि दिन बंगलादेश र स्कटल्यान्ड भिड्नेछन्। पहिलो चरणबाट चार टिम सुपर–१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ। जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन्। २४ अगस्टमा भारत र पाकिस्तानबीच खेल हुनेछ।
सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह–२ मा प्रतिस्पर्धा गर्नेछन्। समूह–१ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ।
प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्। प्रतियोगिताको सेमिफाइनल १० र ११ नोभेम्बरमा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ।
पहिलो चरण
समूह एः श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया
समूह बीः बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान
सुपर–१२
समूह १ः इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता, समूह बी उपविजेता
समूह २ः भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता, समूह बी विजेता