सहायताको चित्कार हो ‘हिस्टेरिया’

मेचीकाली संवाददाता

२९ श्रावण २०८०, सोमबार
519 shares

ओम बानियाँ

२७ वर्षीया सम्झना (नाम परिर्वतन), एक विवाहित महिला हुन् । उनी हालै एक बैंकमा अधिकृत पदमा कार्यरत छिन् । तर उनीसँग ३ वर्ष पहिलाको एक मानसिक समस्याको कटु अनुभव छ । उनी भन्छिन्, ‘यदि मैले समयमै उचित मनोवैज्ञानिक सेवा नपाएको भए साहेद म देवीको रुपमा बाहिरबाट पूजनीय, तर भित्रभित्र घुट्न र अन्तद्र्वन्द्वको जीवन बाँच्न वाद्य हुने थिएँ ।’
कुरा ३ वर्ष पहिलाको हो । निम्न मध्यम परिवारकी सम्झनाको एक निम्न मध्यम परिवारका लेखा अधिकृतसँग विवाह भयो ।

उनका पति तीन भाइहरूमा जेठा थिए । उनका दुवै जना देवरहरूले पढ्दै थिए । व्यावस्थापनमा स्नातक सम्झनालाई एमबीए गर्ने ठुलो धोको थियो । तर आफ्नो पतिको जिम्मेवारी र घरको आर्थिक स्थिति देखेर उनले आफ्नो एमबीए पढ्ने इच्छा पति र सासुूससुरासामु व्यक्त गर्न सकिहरकी थिइनन् । यसरी समय बित्दै गयो, आफ्नो धोको पूरा नहुने देखेर उनी ज्यादै चिन्तित र परेशान हुन थालिन् । एक दिन काम गर्दागर्दै अचानक उनी वेहोश भइ भुइँमा लडिन् । केही समयपछि हातखुट्टा फाल्दै हल्लिन थालिन् । उनी एउटा खुट्टा चल्न छोड्यो । त्यो देखेर परिवारका सदस्यहरू जम्मा भए र तुरुन्त अस्पताल पु¥याए । अस्पतालमा उनको सम्पूर्ण मेडिकल परीक्षण भयो । तर सबै मेडिकल रिपोर्टहरू सामान्य देखिए । अनि फिजिसियनले उनलाई मानसिक रोग विभागमा पठाए ।

तर सम्झनाका सासूससुरा तथा आमाबा सम्झना मनोरोगबाट पीडित भएको मान्न तयार भएनन् । उनीहरूले सम्झना भूतप्रेतको वाधाअड्चनद्वारा पीडित भएको दावी गर्दै उनलाई धामीकहाँ लिएर गए । धामीले झारफुक गर्न थाले । सम्झना पनि धामीसँगै हल्लिन थालिन् । एकाएक उनको आवाज फेरियो । उनले जोडजोडले हाँस्दै आफू कालीदेवी भएको र आफ्ना कुरा नमानेको खण्डमा ठुलो वित्यास पर्ने दावी गर्न थालिन् । सबै आश्चर्यचकित भए । गाउँभरि हल्ला फैलियो । अनि सम्झनालाई देवीको रुपमा पुज्न थालियो । पूजापाठ तथा स्वस्तीशान्ति पनि गरियो । तर उनको समस्या जस्ताको तस्तै थियो । त्यो किनभने सम्झनामा देवी उत्रिएको थिएन । उनी त एक मनोवैज्ञानिक रोग कनभर्जन डिस्अर्डर (हिस्टेरिया) बाट पीडित थिइन् ।

के हो हिस्टेरिया ?
हिस्टोरिया ग्रीक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । आजभन्दा दुई हजार वर्ष अगाडि हिप्पोक्रेटस भन्ने ग्रीक चिकित्सकले यो समस्या महिलाहरूमा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामाकरण गरे । वर्षौँसम्म यो समस्यालाई यसै प्रकारले हेरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको र यो समस्या तनावसँग सम्बन्धित भएको देखाए । तनाव नभई हिस्टेरिया हँुदैन, तनावको प्रकार चाहिँ जस्तो पनि हुन सक्दछ । जस्तैः पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक तथा समाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापुर्ति नहुँदाको तनाव, इज्जतप्रतिष्ठाको तनाव आदि । यौनसम्बन्धी समस्याहरुले पनि तनाव उत्पन्न गर्न सक्दछ । नेपाल जस्तो संकीर्ण समाजमा यौनसम्बन्धी समस्याहरुको तनाव निकै हुने गर्छ ।

हिस्टोरिया ग्रीक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । आजभन्दा दुई हजार वर्ष अगाडि हिप्पोक्रेटस भन्ने ग्रीक चिकित्सकले यो समस्या महिलाहरूमा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामाकरण गरे । वर्षौँसम्म यो समस्यालाई यसै प्रकारले हेरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको र यो समस्या तनावसँग सम्बन्धित भएको देखाए । तनाव नभई हिस्टेरिया हुँदैन, तनावको प्रकार चाहिँ जस्तो पनि हुन सक्दछ । जस्तैः पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक तथा समाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापुर्ति नहुँदाको तनाव, इज्जतप्रतिष्ठाको तनाव आदि । यौनसम्बन्धी समस्याहरुले पनि तनाव उत्पन्न गर्न सक्दछ । नेपाल जस्तो संकीर्ण समाजमा यौनसम्बन्धी समस्याहरुको तनाव निकै हुने गर्छ ।

अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) हुने हुनाले आजकाल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै वास्तवमा हिस्टेरिया हो । वास्तवमा हिस्टेरिया अवचेतन मनको खेल हो जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनु जस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।

हिस्टेरियाका लक्षणः
हिस्टेरियामा विभिन्न लक्षणहरु देखा पर्न सक्छन् । जस्तैः बेहोश हुने । अदृश्य शक्तिले छोप्ने । हात खुट्टा झम्झमाउने र लाटो हुने । घाँटीमा डल्लो अड्केको महसुस हुने । वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने । छिटोछिटो सास चल्ने । हात र खुट्टा नचल्ने । आवाज बन्द हुने । आँखा नदेख्ने । रुने, चिच्याउने, काम्ने । उत्तेजित हुने । कुटपिट गर्ने, कपडा च्यात्ने । सम्झना शक्ति हराउने आदि । कतिपय बिरामीले आफूलाई देविदेउताको रुप र अवतारसम्म पनि भन्ने गरेको देखिएको छ । हिस्टेरियाका लक्षणहरुलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरुबीच फरक हुन सक्छन् ।

हिस्टेरियाका कारणः
जब कुनै व्यक्तिलाई हिस्टेरियाका लक्षण देखिन्छ भने उक्त व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ । तर यो बुझाइ गलत हो । त्यो किनभने हिस्टरिया अनेक कारणहरु उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणहरुले गर्दा साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।

साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरु सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरुले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । यस क्रममा मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञहरुले विभिन्न प्राविधिक उपायहरु पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरुले हुन सक्छ ।

महिलालाई किन बढी ?
महिलाले पुरुष जसरी आफ्ना कुरा व्यक्त गर्न नसक्ने हुनाले उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ । यही कारणले गर्दा महिलामा यो समस्या बढी हुन्छ । यो समस्या किशोरीमा किशोरमा भन्दा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तनसँगै परिवार र समाजबाट बढी नियन्त्रण हुनु हो । महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यताका कारण पनि महिला बढी अन्तरमुखी बन्न बाध्य हुन्छन् । पढ्ने, जीवन साथी रोज्ने र आफ्ना समस्याहरुलाई नडराई, नलजाई भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम भएको देखिन्छ ।

हिस्टेरिया र अन्य मनोरोगः
हिस्टेरियाको अन्य मानसिक रोगस“ग गहिरो सम्बन्ध छ । केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ । केही मानसिक रोगहरूले व्यक्तिको तनाव बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुनसक्ने सम्भावना बढाइदिन्छन् । हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हनु सक्छ । यस्तो व्यक्ति आफुले तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायताविना ठीक हुन मुस्किल नै हुन्छ । यदि हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध उत्पन्न हुनेदेखि विभिन्न प्रकारका मानसिक रोगहरु (डिप्रेसन, आत्तिने रोग इत्यादि) उत्पन्न हुन सक्दछन ।

अन्धविश्वास, कुरीति, चेतनाको कमी नै हाम्रो जस्तो अविकसित देशमा हिस्टेरियाको कारण र उपचारमा ढिलाई हुने मुख्य कारणमध्ये एक हो । देवीदेउता उत्रेको, नाग लागेको तथा विभिन्न किसिमका भूतप्रेतहरुमाथिको अन्धविश्वासले गर्दा यो रोग लाग्न मात्र होइन यस रोगको राम्रोसँग उपचार गराउन पनि समस्या देखिएको छ ।

अहिले पनि नेपाली समाजमा अविवाहित महिलामा हिस्टेरियाको लक्षणहरु देखिएको खण्डमा विवाहले हिस्टेरिया ठिक गर्छ भन्ने गलत धारणा कायमै छ । विवाहले कसैकसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठिक पारेको हुन सक्छ । तर कतिपयलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न हुन्छ । कतिपयमा त विवाहपश्चात् हिस्टेरिया झनै उघ्र भएर आउँछ । त्यसैले हामीसबैले बुझ्नु पर्ने कुरा के भने विवाहले होइन तनावको निदानले नै हिस्टेरिया ठीक हुन्छ । त्यसैले हिस्टेरियाको उपचार आवश्यक छ ।

हिस्टेरियाको उपचार
हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको खेल हो । अर्का शब्दमा भन्ने हो भने यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरुद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरुप देखिएको मनको रोग हो । वास्तवमा यो रोग ‘म पीडित छु, मलाई सहायता गर’ भन्ने चित्कार हो । यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसहरूले संवेदनशील भएर बुझ्न खोज्नु आवश्यक छ ।
तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो । अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन जसले हिस्टेरियालाई ठिक पारोस् । तर औषधीहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्दछन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ । निदानको लागि तनावको पहिचान आवश्यक छ । तर तनाबको पहिचान गर्न त्यति सजिलो नहुन सक्छ । यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ । त्यसैले यसको उपचार मनोवैज्ञानिक पद्धतिद्वारा गर्नुपर्दछ ।

हिस्टेरियाको सर्वोत्तम उपचार माइण्ड–बडी मेडिसिन हो, साइकोथेरापी हो । त्यसैले मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी (सीबीटी), इएफटी तथा योग, ध्यान, प्राणायाम जस्ता यौगिक क्रियाहरूद्वारा नै मास हिस्टेरियाको उपचार गर्नुपर्दछ । त्यसो त बिरामीको मनको कुरा, उसको अवचेतनमा चलिरहेको द्वन्द्व थाहा गर्न नारकोथैरापी तथा हिप्नोटिज्म जस्ता विधिहरू पनि सहयोगी हुन्छन् ।

उपचारले मात्र मास हिस्टेरियाको स्थायी समाधान निस्किँदैन, उपचारको साथसाथै परिवेश नै ठीक राख्नु पर्दछ । जस्तो कि विद्यालयका छात्राहरूमा हिस्टेरियाको प्रमुख कारण पढाइको बोझ भएकाले विद्यार्थीको काँधमा भकारी भारी किताब बोकाउन छोडेर पढाइलाई जेल होइन कि खेल बनाउने हो भने मास हिस्टेरिया त्यसै ठीक हुन्छ ।

पुछारमाः सम्झनाको भित्री पीडा भित्रै थियो । तर उनलाई देवी भनेर पुज्नेहरु बढ्दै थिए । यसरी नै ४ महिना बित्यो । विदेशबाट एमबीबीएस गरेर फर्केका सम्झनाका भाइले उनको मेडिकल रिपोर्ट र अवस्था देखेर अमेरिकाबाट सीबीटीमा विशेष परिक्षण प्राप्त मनोचिकित्सक कहाँ लिएर गए । मनोचिकित्सकले सबैभन्दा पहिला परिवारका सम्पूर्ण सदस्यहरूलाई खास गरी, सासूससुरा र पतिलाई यस रोग र मनोचिकित्साको वारेमा सम्झाए–बुझाए र उनीहरूलाई विश्वासमा लिने कार्य गरे । परिवारका सदस्यहरूलाई उनीहरूले गर्नुपर्ने सहयोग र भूमिकाका बारेमा बताए । अनि उनले सीबीटीलाई सम्झनाको अनुकुल परिमार्जित गरे चिकित्सा सत्र शुरु गरे ।

सम्झनाको औषधीप्रतिको विश्वासलाई ध्यानमा राखेर औषधीको रुपमा प्लेसबो पिल दिए । तीन चिकित्सा सत्रपछि सम्झनालाई निकै आराम महसुस हुन थाल्यो । उनको मनभित्र गुम्सिएको कुण्ठा तथा अन्तद्र्वन्द निकै घट्दै गयो । १२ चिकित्सा सत्रपछि उनी बिलकुल ठिक भइन् । अनि परिवारको सल्लाहबमोजिम उनले एमबीए पढ्न थालिन् । घरधन्दा र एक छोराको रेखदेख गरेर पनि उनले २ वर्षमा प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरी बैंकमा जागिर प्राप्त गर्न सफल भइन् ।

(द्रष्टव्यः हिस्टेरिया शब्द प्रयोग गर्नु उचित होइन । यो रोग कन्भर्जन डिस्अर्डर हो । तर आमपाठकलाई बुझ्न सजिलो होस् भन्ने उद्देश्यले मात्र यस लेखमा हिस्टेरिया शब्द नै प्रयोग गरिएको छ ।)