तानातानमा वली र शाहीः पदमुक्त गर्न एमालेले सभामुखलाई गर्‍यो पत्राचार

मेचीकाली संवाददाता

१ भाद्र २०७८, मंगलवार
800 shares

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका २ सांसदलाई पदमुक्त गर्न लुम्बिनी प्रदेशसभा सचिवालयमा पत्राचार गरेको छ । प्रदेश सरकारमा नवनियुक्त विना विभागीय मन्त्री अजय शाही र सांसद विमला वली खत्रीलाई कारवाही गर्न माग गर्दै एमालेले मंगलवार लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।

शाही र वली दुवै जना सूर्य चिह्नबाट निर्वाचित सांसद हुन् । शाही स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चिह्न लिएर तथा वली एमाले र माओवादी विभाजन नहुँदै नेकपाबाट निर्वाचित सांसद हुन् । वली सूर्य चिह्न लिएर दाङ जिल्लामा उपनिर्वाचन जितेकी हुन् ।

वली र शाहीले लुम्बिनीमा नयाँ सरकार बन्दा कूलप्रसाद केसी नेतृत्वको गठबन्धनलाई साथ दिएपछि बहुमत पुगेको थियो । उनीहरूको साथले नै अहिले लुम्बिनीमा नयाँ सरकार बनेको छ । उनीहरू विगतदेखि नै तानातानमा थिए ।

प्रदेश सभामा एमालेका प्रमुख सचेत भूमिश्वर ढकालले एमालेको सूर्य चिह्न लिएर निर्वाचित शाही र विमला वलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको बताए ।

वलीले अहिले माओवादी केन्द्र रोजेकी छन । ‘दुवै सांसद एमालेको संसदीय दलको बैठकमा पनि सहभागी हुँदै आएका र एमाले सांसद रहेकाले पार्टीको निर्णय विपरीत गएकाले कारवाहीको लागि पत्राचार गरिएको हो,’ ढकालले भने ।

सांसद अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नम्बर १९२० बाट सूर्य चिह्न लिएर निर्वाचित भएका थिए । वली एमाले नेता उत्तरकुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३९२० बाट निर्वाचित भएकी थिइन् । शाहीले आफू स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्वीप नलाग्ने दाबी गर्दै आएका छन् ।

शाहीले आइतवार विज्ञप्ति जारी गरी आफूलाई एमालेको ह्वीप नलाग्ने बताएका थिए । वलीले आफू निर्वाचित दल अहिले अस्तित्वमा नरहेकाले आफूले अहिले माओवादी केन्द्र रोजेको बताइन् । वलीलाई पनि लुम्बिनी प्रदेशमा अब विस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बनाउने तयारीमा प्रदेश सरकार लागेको जनाइएको छ ।