गठबन्धन सरकारले भ्रष्टाचार र बेथिति बढायोः पूर्वमुख्यमन्त्री गिरी

मेचीकाली संवाददाता

३२ श्रावण २०८०, बिहीबार
210 shares

बुटवल । लुम्बिनीका पूर्वमुख्यमन्त्री प्रमुख प्रतिपक्षी दलका नेता लिला गिरीले तीन तहकै सरकार विकास र सुशासनका मामिलामा कमजोर देखिएको बताएका छन् । सरकारी अड्डा नै भ्रष्टाचारका अखडा बनेको उनको भनाइ थियो । उनले गठबन्धन सरकारका कारण बेथिति, अनियमितता र गलत प्रवृत्ति हाबी भइरहेको बताए ।

नेकपा एमालेले बुधबार बुटवलमा आयोजना गरेको विस्तारित भेला कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री एव्म एमाले संसदीय दलका नेता गिरीले भ्रष्टाचारीलाई जोगाउन सरकारी संयन्त्र नै लागेको दाबी गरे । उनले जनस्तरबाट समेत स्वतन्त्र छानबिन समिति बनाउने विषयमा आवाज उठिरहेका बेलामा सरकारले त्यसतर्फ चसो नदिएर बेथितिमा सरिक भएका आफ्ना दलका नेताहरुलाई जोगाउन लागेको आरोप पुष्टि भएको बताए ।

अघिल्ला सरकारले सुरु गरेका कामसमेत नगरेको, नागरिकका माग सम्बोधन नभएको र अराजकता एवं बेथिति बढेको उनले दाबी गरे । उनले भ्रष्टाचारका घटनामा आफ्ना नेता पर्दा जोगाउनुले देशकै सुशासन खलबलिएको बताए । उनले नागरिकको शिक्षा, स्वास्थ्य र जीविकोपार्जन नसुधारिएसम्म विकासको अर्थ नहुने समेत बताए ।

एमाले शाखा कमिटी बुटवल–९ को आयोजनामा भएको बिस्तारित भेलामा बोल्दै गिरीसहितका अन्य नेतहरुले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामलाई जनस्तरमा प्रचारमा लैजान र अहिलेको गठबन्धनले गरेको भ्रष्टाचारको भण्डाफोर गर्न आग्रह गरेका थिए ।

एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसांसद दधिराम न्यौपानेले बेथिति, भ्रष्टाचार र अनियमिततामा गठबन्धन सरकारका संलग्न रहेको र उसले आफ्ना नेताहरुलाई जोगाउने गरी पूर्वाग्रही काम गरिरहेको बताए । शाखा कमिटी अध्यक्ष शेषकान्त बेलबासेले वडाका अगुवा नेता कार्यकर्ताहरुलाई एमाले नेतृत्वमा भएका विकास निर्माणका काम र अबको बाटोका बारेमा जानकारी गराउने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य आरसी आचार्य, प्रदेश कमिटी सदस्यहरू माधव नेपाल, भोजबहादुर बुढाथोकी, यमलाल खनाल, प्रदेश सल्लाहकारहरु किशोर ज्ञवाली, बद्रीनाथ पान्डे, अमृत काफ्ले, मोहनलाल पान्डे तथा जिल्ला कमिटी सचिवालय सदस्य बाबुराम पन्थी, बिमला श्रेष्ठ, जिल्ला कमिटी सदस्य समुन्द्र जिसी, जीवन बन्जाडेलगायतले पार्टीका विभिन्न विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रम सञ्चालक ऋषिराम घिमिरेले गरेको थिए ।