पार्वती आचार्य
कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले भाईरलको रुपमा बढ्दै गईरहेको आँखा पाक्ने र डेंगु रोगको निःशुल्क चेकजाँचको व्यवस्था गरेको छ । डेंगु र आखाँ पाक्ने रोगको प्रकोप बढ्दै गएपछि पालिकाले नगरबासीहरुका लागि उक्त व्यवस्था मिलाएको हो ।
बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले नगरबासीको स्वास्थ्यमा पालिका सधै गम्भीर रहेको बताए । एक्कासी आँखा रातो हुने र पाक्ने समस्या नागरिकहरुमा देखिन थालेपछि पालिकाले नगरबासिका लागि निशुल्क चेकजाँचको व्यवस्था मिलाएको नगर प्रमुख श्रेष्ठले बताए । नगरपालिकाको ल्याब रहेको स्वास्थ्य चौकीमा डेंगुको निःशुल्क चेकजाँच समेत हुने गरेको उनको भनाई छ ।
उपप्रमुख मिरा कुमारी थारुले नगरवासिहरुले सरसफाईमा ध्यान दिनुपर्ने बताइन् । लामखुट्टेको टोकाइबाट बच्नका लागि काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली लगाउन र सधैँ झूलको प्रयोग गरेर मात्र सुत्न नगरवासीलाई आग्रह गरीन् ।
यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु देव खनालले डेंगु सङ्क्रमित लामखुट्टेको टोकाइबाट बच्न घर, कार्यालय वरपर पानी जम्न नदिने, जथाभावि फोहोर फाल्न नदिने, सङ्क्रमित व्यक्तिलाई संक्रमित लामखुट्टेको टोकाईबाट बचाउने कुरामा विशेष ध्यान दिए डेंगुको संक्रमणबाट बच्न सकिने बताए । यस समयमा खेतबारीको काममा व्यस्त हुने र व्यक्तिको सरसफाइमा त्यत्ति ध्यान नपुग्दा भाइरसले चाँडो आक्रमण गर्ने खनालको भनाई छ ।
स्वास्थ्य शाखा अधिकृत गोकर्ण अर्यालले आँखा रातो हुनु, कोश सुनिनु लगायतका समस्या देखिनु भाइरलका कारण मात्रै सङ्क्रमण भएको ठोकुवा गर्न नमिल्ले बताए । ब्याक्टेरिया सङ्क्रमण हुँदा पनि आँखा रातो हुने, आँखाको कोशहरू सुनिन सक्ने भएको हुँदा समयमा नै आँखाको जाँच गराउन जरुरी भएको स्वास्थ्य अधिकृत अर्यालको भनाई छ । पालिकाको सम्पूर्ण वडाहरुमा आँखा पाक्ने रोगको विषयमा जनचेतना मूलक कार्यहरु निरन्तर गरिरहेको अधिकृत अर्यालले बताए ।
नगरपालिकाले पानी जमेको ठाउँमा लामखुट्टेले अण्डापर्ने भएको हुँदा सोको खोजगरी नष्ट गर्ने अभियान संचालन गरेको छ । यस्तै आँखाको उपचारको लागि निशुल्क औषधी वितरण गर्ने कार्य पालिकाको सबै स्वास्थ्य संस्थाहरुबाट बितरण भैरहेको छ । यस्तै पालिकाका सम्पूर्ण संस्थागत र सामुदायिक बिद्यालयहरुमा स्वास्थ्यकर्मीबाट आँखा पाक्ने तथा डेंगु रोगको रोकथाम तथा जनचेतना मूलक कार्यक्रमहरु संचालन गरेको बुद्धभूमि नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।