एफडब्लूएलडीद्वारा बुटवलमा कानूनी पहिचान सम्बन्धी छलफल

मेचीकाली संवाददाता

७ भाद्र २०८०, बिहीबार
239 shares

बुटवल । महिला कानून तथा विकास मञ्च (एफडब्लूएलडी) ले बिहीबार बुटवलमा कानूनी पहिचान (नागरिकता र जन्मदर्ता ) सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका जनप्रतिनिधि र वडा सचिवहरूलाई कानूनी पहिचान सहजताका लागि छलफल/अन्तरक्रिया गरेको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कानूनभन्दा दायाबाया नगरी काम गर्नुपर्ने बताए ।

पाण्डेयले नागरिकताका विषयमा समस्याहरू आउने गरेको बताउँदै संविधान र कानूनमा टेकेर काम गर्नुपर्ने बताए । समय समयमा कर्मचारी र जनप्रतिनिधिहरुलाई कानूनी सचेतना आवश्यक रहेको मेयर पाण्डेयले जोड दिए । रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले नागरिकलाई पाउनुपर्ने सेवा सहज रुपमा पाउनुपर्ने र नमिल्ने कुरा गर्न नहुने कर्मचारी र वडा अध्यक्षहरुलाई आग्रह गरे । अर्यालले नागरिकताका विभिन्न सिफारिसहरुमा संवेदनशील बन्न सबैलाई आग्रह गरे । कार्यक्रममा प्रस्तुतीकरण व्यक्त गर्दै अधिवक्ता सविन श्रेष्ठले विभिन्न घटनाक्रम दर्ता विवरणहरु थप भएको बताउँदै अध्ययन गर्नुपर्ने बताए ।

कार्यक्रममा महिला कानून तथा विकास मञ्च रुपन्देही जिल्ला संयोजक नागेन्द्र बस्याल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, महिला कानून तथा विकास मञ्चका कार्यक्रम अधिकृत विनोदचन्द्र देवकोटा लगायतले बोलेका थिए । कार्यक्रममा वडा अध्यक्षहरू र वडा सचिवहरू सहभागी थिए ।