एमाले लुम्बिनी प्रदेश अधिवेशनः सर्वसम्मत नेतृत्व चयन र मिसन ०८४ मा केन्द्रित हुने प्रतिवद्धता

मेचीकाली संवाददाता

१७ भाद्र २०८०, आईतवार
242 shares

अमृत गिरी

बुटवल । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनका क्रममा बुटवलमा जुटेको शीर्ष नेतृत्वले पार्टीलाई अझ सुदृढ बनाउने र सबैखाले अतिवादका विरुद्ध एकताबद्ध भएर लड्ने प्रतिवद्धता जनाएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विशेष समारोहबीच लुम्बिनी प्रदेशको पहिलो अधिवेशनमा शुभकामना व्यक्त गर्दै पार्टीको शीर्ष नेतृत्वले सर्वसम्मत नेतृत्व छान्ने र त्यसो हुन नसके स्वच्छ लोकतान्त्रिक विधि अपनाइने स्पष्ट पारेको छ ।

अधिवेशनको उद्घाटन गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सबै प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनालाई आत्मसात गरेर सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिए । अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट पार्टी एकताको सन्देश दिनुपर्ने बताए ।
सुशासन र समृद्धिका लागि नेतृत्व गर्ने सरकार बनाउने, देश र जनताका लागि काम गर्ने पार्टी एमाले भएकाले पार्टीले सोहीअनुसार सन्देश दिने काम गर्नुपर्छ उनले भने । अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताए।

अध्यक्ष ओलीले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न पार्टीलाई सशक्त रुपमा अघि बढाउने बताउँदै सबैखाले अतिवाद र विग्रहकारीका विरुद्ध सशक्त रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको दाबी पनि गरे ।

प्रदेश अधिवेशन उद्घाटनमा अध्यक्ष ओलीसहित उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव एवम् लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिव गोकर्णराज विष्टलगायतका नेताहरूले बुटवलबाट सुरु भएको प्रदेश अधिवेशनले देशैभरी सुखद र उदाहरणीय सन्देश दिनुृपर्नेमा साझा धारणा व्यक्त गरेका थिए ।

अध्यक्ष ओलीले २०८४ को आम निर्वाचनबाट एमाले एक्लैको बहुमतको सरकार बन्ने र सुरु गरिएका समृद्धि तथा खुशहालीका लक्ष्यलाई साकार पारिने दावी गरे । उनले भने, ‘एमाले साना कुरामा अल्झिएर बाटो विराउने पार्टी होइन, आफ्नो उद्देश्यमा स्पष्ट योजना बनाएर अघि बढ्छ र मिसनमा केन्द्रित छ ।’
‘हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरू प्रतिबद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ उनले भने ‘१९ जना पदाधिकारीमा लुम्बिनीबाट ७ जना हुनुहुन्छ यस्तो ठाउँमा किन विवाद आउनुप¥यो ?’

एमालेमा गुटबन्दी छैन, गुट र पार्टी संगै हिँड्नै सक्तैनः विष्णुप्रसाद पौडेल
उपाध्यक्ष पौडेलले एमालेमा गुटबन्दी नरहेको दाबी गरे । उनले गुट र पार्टी संगै अगाडि बढ्नै नसक्ने भएकाले यसतर्फ पार्टीका जिम्मेवार नेता कार्यकर्ता सचेत रहेको उल्लेख गर्दै लुम्बिनीबाट सर्वसम्मत नेतृत्व छानेर बाहिर हल्ला चलाइएको गुटबन्दीलाई समान्त पार्नुपर्नेमा जोड दिए ।

अहिले बलियो पार्टी रहेको एमालेमा विग्रह चाहने अवसरवादीहरूका विषयमा एमाले प्रष्ट छ’ पौडेलले भने,(‘पार्टी र गुट विपरीत हुन्, हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ । एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई नभएको र गुट(उपगुटका रंगिन समाचारबाट सबै प्रतिनिधि सचेत हुनुपर्ने अवस्था छ ।’ ‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ’ उपाध्यक्ष पौडेलको भनाइ थियो ।

पौडेलले केही समयअघि एमालेले जित्नै पर्ने क्षेत्र गुमाएका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए । साथै उनले एमालेले जित्नै पर्ने ठाउँ गुमेको, धेरै मतान्तरले जित्ने ठाउँमा कम मत आएको विषय प्रदेश अधिवेशनमा गम्भीर समीक्षा बन्नुपर्नेमा उनले जोड दिए । नेता पौडेलले अहिलेको सरकार विदेशीको इशारामा चलेकाले देशवासीले कुनै अपेक्षा गर्न नसक्ने बताए ।

नेतृत्व एकताबद्ध छ, गुटबन्दी देख्नु दृष्टि दोषः शंकर पोखरेल
महासचिव शंकर पोखरेलले आफ्नो पार्टी केपी शर्मा ओलीको नेतृत्वमा एकतावद्ध भएकोले यसमा गुटबन्दी देख्नु दृष्टिदोष मात्र भएको बताएका छन् । महासचिव पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूलाई जोडेर आएक अनेक थरी समाचार मिथ्या भएको बताए । महासचिव पोखरेलले गुटबन्दीका सन्दर्भमा आएका समाचारलाई मिथ्या सावित गर्न जारी अधिवेशनलाई एकताको अधिवेशनको रुपमा रुपान्तरण गर्न सम्पूर्ण प्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।

महासचिव पोखरेलले मुलुक सामु तीन प्रकारका चुनौती रहेको भन्दै मुलुकमा धेरै दल होइन बलिया दल हुनुपर्ने आवश्यकता रहेको बताए । उनले धेरै दलका कारण आज मुलुक अत्यन्त ठुलो सङ्कटबाट गुज्रिरहेको बताए । उनले भने, ‘मुलुकमा अहिले तीन प्रकारका चुनौती रहेका छन् । पहिलो चुनौती राजनीतिक अस्थिरता र अराजकता हो । २०४६ पछि मुलुकले २८ जना प्रधानमन्त्री बेहोरेको छ । तर जबसम्म बलियो सरकार बन्न पाउँदैन तबसम्म जनताको समृद्धिको आकांक्षा पुरा हुन सक्दैन ।’
पछिल्लो समय नेपालमा सांस्कृतिक मूल्यहरूको विघटन तीव्र गतिमा हुन थालेको उनले बताए । उनले माओवादी जनयुद्धका नाममा जातजातिका नाममा राज्य बाँड्ने माओवादीले प्रयासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलका कारण रोकिएको भन्दै अहिले फेरि मुलुकमा नयाँ ढङ्गले जातीय द्वन्द्व भड्काउने प्रयासमा प्रधानमन्त्री आफै लागेको बताए ।

अस्थिरता निम्त्याउने षडयन्त्र भइरहेको छ यसलाई परास्त गर्नुपर्छः प्रदिप ज्ञवाली
उपमहासचिव प्रदीप ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलहरूले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् ।

नेता ज्ञवालीले प्रमुख प्रतिपक्षविरुद्ध मोर्चाबन्दी गरेको विषय सामान्य नभएको बताए । ‘देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर बनाउन यसो गरिएको हो । देशमा अस्थिरता निम्ताउन यसरी एमालेविरुद्ध मोर्चाबन्दी गरिएको छ, हरेक एमालेका सचेत कार्यकर्ताले यो विषय बुझ्न जरुरी छ, यतिबेला पार्टी शान्तिपूर्ण युद्धमा छ, लुम्बिनीबाट देशका आम कार्यकर्तालाई सन्देश दिनुपर्ने छ, त्यसैले साथीहरुले यहाँबाट त्यो सन्देश दिनुहुनेछ ।’

एमालेभित्र कुनै समूह बनाउने छुट कसैलाई छैनः गोकर्ण विष्ट
सचिव गोकर्ण विष्टले एमालेभित्र कुनै समूह बनाउने छुट कसैलाई नभएको बताए । नेतृत्व एकताबद्ध रहेको र एकतामै पार्टी र देशको भविष्य रहेकोमा विश्वस्त रहेको बताए ।

उनले कुनै नाममा पार्टीभित्र समूह, गुट बनाउने छुट नभएको बताउँदै सर्वसम्मतबाट नेतृत्व छानेर देशैभरी सन्देश दिनुपर्नेमा जोड दिए । ‘एमालेका दुई नेताको विवादलाई जोडेर मिडियामा आयो, एमालेका आम कार्यकर्तामाथि यो विश्वास हुने कुरा हुँदैन, पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यो देशवासीमाथि बेइमानी हुनेछ, कार्यकर्ताले एकता खोजेको छ, कुनै समूह खोजेको छ, यसमा कसैलाई छुट हुनेछैन ।’ विष्टको भनाइ थियो ।

भ्रामक र पूर्वाग्रहीका कुरा नपत्याउनुहोसः पद्मा अर्याल
एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीमा नेता विष्णु पौडेल र शंकर पोखरेलको नाममा विवाद खोज्नेहरूलाई लुम्बिनीबाट नै असफल पार्ने बताइन् । एमालेभित्र गुटबन्दी गरेर कमजोर बनाउने तत्वहरुबाट यस्तो अनावश्यक हल्ला गरिएको बताउँदै सचिव अर्यालले भ्रामक र पूर्वाग्रहीका हल्लाका भरमा कार्यकर्ता प्रभावित नहुने दाबी गरिन् । एमालेको लालकिल्ला लुम्बिनीमा पार्टीलाई कमजोर बनाउन अनेक प्रकारका प्रोपोगाण्डा गरिएको छ, यसबाट पार्टीका कोही पनि कार्यकर्ता विचलित हुनेछैनौं र पार्टीलाई अझ एकताबद्ध बनाउने छौं’ उनको भनाइ थियो ।

बन्द शत्र व्यवस्थित हलमा, उद्घाटन शत्रमा गर्मीले प्रभावित
बन्द शत्र व्यवस्थित, सुविधा सम्पन्न र आधुनिक हलमा गरिए पनि उद्घाटन भने सोही हलको बाहिर टेन्ट लगाएर गरिएको थियो । शनिबार दिउसो भएको उद्घाटन शत्रमा सम्मेलन केन्द्र परिसरमा झकिझकाउ पारिएको थियो । यद्यपि चर्को गर्मी र जनसहभागिता धेरै भएका कारण सहभागीले असहज मशसुश गरेका थिए । उद्घाटन शत्रमा अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्यलगायतले बोल्दै प्रदेशको तदर्थ कमिटीमा रहेर कुशलतापूवर्क जिम्मेवारी निर्वाह गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बन्द शत्रमा प्रतिवेदन प्रस्तुत
बन्द शत्रमा शनिबारै बेलुका सुरु भएको छ । बन्द शत्रमा पार्टीको राजनीतिक तथा सांगठानिक प्रतिवेदन हालको कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले प्रस्तुत गरेका छन् । पार्टीका इन्चार्ज पद्मा अर्यालको संयोकत्वमा अध्यक्ष मण्डल गठन भएको हो । उक्त मण्डलमा सूर्य थापा, दलबहादुर राना, काशिराज अधिकारी, नरुलाल चौधरी, शान्ता चौधरी, साबित्रा अर्याल र सरिता खनाल रहेका छन् । सोही अध्यक्ष मण्डलले आचारसंहीता प्रस्तुत गर्दै अबको बन्द शत्र अगाडि बढाउने छ । प्रतिवेदनहरु पारित गर्दै नेतृत्व चयनका प्रक्रिया अगाडि बढाइने अध्यक्ष मण्डलका नेता तथा पार्टी पोलिटब्यूरो सदस्य सूर्य थापाले बताए ।