‘प्रथम अधिवेशन ऐतिहासिक हुनेछ र नेतृत्व सर्वसम्मत चयन हुनेछ’

मेचीकाली संवाददाता

१७ भाद्र २०८०, आईतवार
261 shares

लिला गिरी
पोलिटब्युरो सदस्य, नेकपा एमाले

एमाले लुम्बिनीको प्रथम प्रदेश अधिवेशनबारे केही बताउनुहोस् न ?
नेपाल कम्युष्टि पार्टी (एमाले) को लुम्बिनी प्रदेश अधिवेशनलाई चासोका साथ हेरिएको छ । जिल्ला–जिल्लाबाट प्रतिनिधि आउनुभएको छ र प्रदेशभित्र रहनुभएका केन्द्रीय नेताहरु पनि बुटवलमा जुट्नुभएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको छ ।

संघीयता कार्यान्वयनका क्रममा केन्द्रीय कमिटीद्वारा नै हालको यो प्रदेश कमिटीलाई तदर्थ कमिटीका रुपमा मनोनयन गरिएको थियो । यसपटक हामीले प्रदेशका प्रथम अधिवेशनहरु गर्दै छांै । जसमध्ये लुम्बिनी प्रदेशको अधिवेशन अन्य प्रदेश भन्दा पहिले नै हुँदै छ । यसर्थ यो अधिवेशन अन्य प्रदेशका लागि पनि सिकाइ हुुनेछ भन्ने हाम्रो बुझाइ छ । हामीले अधिवेशनबाट नेतृत्व चयन गर्नेछौं । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले कम्युनिष्ट आन्दोलनभित्रका धेरै मुद्दाहरु र धेरै विषयवस्तु सम्बोधन गर्ने ढंगले तत्कालीन र दीर्घकालीन नीति पारित गरेको छ । उक्त नीतिका आधारमा नै हामीले प्रदेशको राजनीतिक कार्यक्रम पारित गर्नेछौं । हाम्रो नेतृत्वमा तय भएका समृद्धिका आधारहरुलाई साकार पार्ने कार्यक्रमको समीक्षा गर्दै थप प्रभावकारी बनाउनेतर्फ ध्यान दिनेछौं ।

नेतृत्व चयनको कुरा गर्नुभयो । यसको तयारी कस्तो चल्दै छ ?
यहाँले अत्यन्तै राम्रो कुरा गर्नुभयो । अधिवेशनले नेतृत्व चयन गर्ने छ । जसको तयारीमा हामी जुटिसकेका छौं । पार्टीका केन्द्रीय कमिटी सचिव तथा प्रदेश इञ्चार्ज कमरेड पद्मा अर्यालको संयोजनमा प्रदेशबाट प्रतिनिधित्व गर्ने पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरुका बीचमा अधिवेशनको सफलताका बारेमा विशेष छलफल भइरहेको छ । यस प्रदेशमा रहेका पोलिटब्यूरो र केन्द्रीय सदस्यहरु सबैका बिचमा विशेष बैठकसमेत भएको छ । हामी सर्वसम्मत नेतृत्व चयन गर्ने र पार्टीका कार्यक्रमलाई अझ सुदृढ बनाउनेतर्फ केन्द्रित भएका छौं । पार्टीमा चौतर्फी घेराबन्दी भइरहेका बेलामा आन्तरिक एकता कायम गर्ने कार्यमा हाम्रो ध्यान गएको छ ।

सामाजिक सञ्जालहरु तातेका छन्, सर्वसम्मत नेतृत्व चयनको सम्भावना रहला र ?
तमाम कार्यकर्ताहरु आबद्ध रहेको एउटा विशाल र जीवन्त पार्टीमा आन्तरिक लोकतन्त्रको प्रयोग गर्दै आन्तरिक रुपमै स्वस्थ प्रतिस्पर्धा हुनु अस्वभाविक होइन । सामाजिक सञ्जालहरुमा आएका कतिपय संवेदनशील विषयहरुलाई पार्टी नेतृत्वले नोटिसका रुपमा लिने नै छ । जहाँसम्म नेतृत्वको कुरा छ सकेसम्म सर्वसम्मत नै हुन्छ । यदि सर्वसम्मत हुन सकेन भने विधि, पद्दति र लोकतन्त्रको सुन्दर पक्षको प्रयोग गर्दै स्वस्थ रुपमा चुनाव हुन्छ । हाम्रो पार्टीमा निश्चित विधि छ । बन्दशत्रबाट प्रतिनिधिहरुका बिचबाट नेतृत्व चयन हुने हो । बाहिर कतिपय सञ्जाल, कतिपय अनलाइन मिडियाहरु र कतिपयका प्रोपोगाण्डाका आधारमा पार्टीका जिम्मेवार कार्यकर्ताहरुले धारणा बनाउने छैनन् भन्नेमा म विश्वस्त छु । ढुक्क भएर अधिवेशनमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।

आकांक्षी धेरै होलान्, व्यवस्थापन कसरी गर्नुहुन्छ ?
यहाँले सान्दर्भिक प्रसङ्ग उठाउनुभयो । यहाँले भनेजस्तै ठूलो आकारको समितिलाई सानोमा सीमित गर्दा धेरै आकांक्षी व्यवस्थापन गर्नु हाम्रा लागि चुनौती पक्कै पनि छ । यद्यपि यसलाई सही ढंगले व्यवस्थापन गर्ने र समस्याको उपयुक्त समाधान गर्नेगरी छलफल गरिएको छ । नेतृत्वले वैज्ञानिक रुपमै योजना बनाएको पनि छ । जिल्लागत रुपमा हामीले सदस्य संख्या छुट्याउने कि अरु कुनै विधि अपनाउने भन्नेमा पनि छलफल जारी छ । जिल्लाहरुबाटै सर्वसम्मति खोजेर सहज बनाउने बाटो उपयुक्त हुनसक्छ । जिल्लाले नसकेको खण्डमा उपल्लो तहका नेताहरु बसेर समन्वयमा छलफल चलाउने छौं । यस लगत्तै जिल्ला अधिवेशन हुनेछन् । यहाँ नअटाएका साथीहरु जिल्लामा समेटिनुहुनेछ । त्यसैले म फेरि दोहो¥याउँछु–प्रदेश कमिटी सर्वसम्मतिमै चयन हुन्छ र हुन सकेन भने लोकतान्त्रिक विधि त छँदैछ नि ।

कार्यकर्ता तहमा एक प्रकारको आक्रोस र निराशा छ, यसलाई सम्बोधन गर्ने कार्यक्रम बन्लान् त ?
हो, अहिले मुलुकमा विषम परिस्थिति छ, आर्थिक मन्दीले सबैक्षेत्र प्रभावित भएको छ । लामो समयदेखिको राजनीतिक अस्थिरताका कारणले पनि धेरैक्षेत्र प्रभावित भएको अवस्था छ । बेरोजगारी, महँगी, अभाव चुलिएको छ । हरेक नेपालीको चुल्होसम्मै कष्टकर अवस्था सिर्जना भएको छ । यी तमाम समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ र उपयुक्त नीति कार्यक्रम बनाउनुपर्छ भनेर हामीले भन्दै आएका छौं । तर, वर्तमान गठबन्धन सरकारले पूर्वाग्रही रुपमा सबै क्षेत्रमा बेथिति निम्त्याउनेगरी प्रस्तुत भइरहेको छ । यसलाई रोक्नुपर्ने छ ।

हामीले समाजवादउन्मुख संविधान भनेर नै सुरुआत गरेका छौं र जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गर्न सकिने भनेर कार्यक्रम पनि तय गरेका छौं । आजको भोलि नै जादुसरी सबै समस्याको एकैपटक समाधान गर्न सकिँदैन । प्राथमिकता निर्धारण गरेर समस्याको समाधान गर्दै जाने हो । यो अधिवेसनको बन्दशत्रबाट हामीले महत्वपूर्ण निर्णय गरेर अगाडि बढ्ने कार्यकर्ता पंतिलाई म विश्वस्त तुल्याउन चाहन्छु । अब रह्यो नेतृत्वले नै गुटबन्दी सिर्जना गरेको भन्ने विषयमा यहाँको जिज्ञासाका बारेमा हामीले गम्भीर समिक्षा गर्नेछौं । पार्टीभित्रका खराब प्रवृत्ति त्यागेर अगाडि बढ्नेछौं ।