एसिय कप  क्रिकेटः भारतसँग नेपाल १० विकेटले पराजित 

मेचीकाली संवाददाता

१८ भाद्र २०८०, सोमबार
139 shares

बुटवल । विश्वस्तरको क्रिकेटमा उत्कृष्ट देश भारतका विरुद्ध नेपालले स्तरीय प्रदेर्शन गरेको छ । एसीया कपको दाबेदार मानिएको र विश्व वरियतामा लामो समय नम्बर वान रहेको भारतका सामु नेपाली युवा क्रिकेटरको प्रदर्शन सुधारिएको थियो । यद्यपि भारतसँग नेपाल १० विकेटले पराजित भयो । 

क्रिकेटका बादशाह मानिने भारत र पाकिस्तानसँग पहिलोपटक खेल्ने अवसर पाएको नेपालले पाकिस्तानको तुलनामा भारतसँगको खेलमा भने स्तरीय प्रदर्शन ग¥यो । वर्षाले पटक पटक अवरुद्ध भएको खेलमा नेपालले पहिले ब्याटिङ गरेर २ सय ३१ रन बनाएको थियो ।

भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पाकिस्तानसंग १०४ रनमा अलआउट भएको नेपाल भारतसँगको खेलमा भने २३१ रन बनाउन सफल भयो । ओपनरले सुरुआत राम्रो गरेपनि लय भने समात्न सकेनन् । ओपनर आसिफ शेखले अर्धशतक बनाउँदा उनलाई साथ दिने खेलाडी भने सस्तैमा पेभेलियन फर्किए । 

वर्षाले पटक पटक अवरुद्ध भएपछि डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो । जुन लक्ष्य भारतले २०.१ ओभरमा विना विकेटको क्षतिमा पार गर्यो । भारतको जितमा रोहित शर्मा र शुभमन गिलले अर्धशतक प्रहार गरे। रोहितले नटआउट ७४ रन र गिलले नटआउट ६७ रन जोडे ।

त्यसअघि टस जितेको भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३१ रनमा अलआउट भयो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए । उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए । उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने ।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । 
भुर्तेलविरूद्ध पहिलो ओभरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए । भुर्तेल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो ।

कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए । भीम सार्की पनि ७ रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड भए ।

छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए । उनले आसिफ शेखसँग पाँचौ विकेटका लागि  ३१ रनको साझेदारी गरे । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबीच सातौं विकेटका लागि ५० रनको साझेदारी भयो । दीपेन्द्रले हार्दिक पाण्ड्याको एलबिडब्लूको धरापमा पर्नुअघि २५ बलमा ३ चौकाको मद्दतमा २९ रनको योगदान गरे ।
आठौं विकेटको रूपमा आउट हुनुअघि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे। मोहमद सामीको बलमा ४७.२ ओभरमा आउट हुनुअघि उनले ४८ रन जोडे। सोमपालले ५६ बलमा १ चौका र २ छक्का हिर्काए । 

लगत्तै सन्दीप लामिछाने ९ रनमा रनआउट भएका थिए भने अन्तिम विकेटको रुपमा ललित राजवंशी शून्यमा आउट भए । बलिङमा भारतका जडेजा र मोहमद सिराजले ३–३ विकेट लिए ।