गुल्मी महोत्सव, रेसुङ्गा युथ फेस्टिभल र भलिबल कप हुँदै

मेचीकाली संवाददाता

२४ भाद्र २०८०, आईतवार
356 shares

टोपलाल अर्याल

गुल्मी । पछिल्लो समय तम्घास बजार सुनसान हुँदै गएको छ । दशै र तिहारमा गाउँमा रमाइलो हुँदा पनि तम्घासमा रौनक देखिँदैन किनकि अधिकांश नागरिक सदरमुकाम बाहिरबाट आएका छन् । मानिसको चहलपहल नभएपछि व्यावसायीहरु आत्तिन थालेका छन् ।

त्यसको पहिलो कारण तम्घासमा आकर्षणका कामहरु नहुनु । यो वर्ष भने दशैँ–तिहारलाई मध्येनजर गरेर गुल्मी महोत्सव, रेसुङ्गा युथ फेस्टिभल र पालिकास्तरीय भलिबल कप–२०८० आयोजना भएपछि नागरिकमा केही नयाँ आशा पलाएको छ । केहि समय मात्रै आयोजना हुने मेला महोत्सव स्थायी आर्कषण होइनन् । नेतृत्वले तम्घासलाई चलायमान बनाउन बेलैमा दिर्घकालिन योजना ल्याउनु आवश्यक छ ।

गुल्मी महोत्सव
गुल्मी उद्योग संघले आगामी कार्तिक १५ देखि २५ गतेसम्म औद्योगिक एवं व्यापार मेलाको आयोजना गरेको छ । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा साना मझौला उद्योगको प्रर्वद्धन, कला संस्कृतिको पहिचान र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारको लागि महोत्सवको आयोजना गरिएको आयोजक गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए । गुल्मी जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पुराउने र सदरमुकामलाई थप चलायमान बनाउन महोत्सवको आयोजना गरिएको अध्यक्ष भुसालले बताए । महोत्सव रेसुंगा नगरपालिका–९ को उपल्लो तम्घासमा हुनेछ ।

रेसुङ्गा युथ फेस्टिभल
गुल्मीमा सात युवा क्लबहरुको आयोजनामा रेसुङ्गा युथ फेस्टिभलको आयोजना गरिएको छ । सफल डायरिजको संयोजनमा अन्टेष्ट युवा क्लब, फोर्टिन स्टार युवा क्लब, पुल्चोक स्पोर्टस क्लब, खुकुरी ब्याण्ड, कोब्रा ग्रुप र योङ्ग व्याइजको रेसुङ्गा युथ फेस्टिभलको आयोजना गरिएको छ ।

असोज ५ र ६ गते आयोजना गरिएको रेसुङ्गा युथ फेस्टिभलमा चित्रकला प्रतियोगीता, कविताबाचन, वृत्तचित्र प्रर्दशनी, नेपालका ख्याती प्राप्त सम्भोज मल्ल, रोनी दाहाललगायत कालरात्री र खुकुरी व्याण्डको सडक कला र सङ्गीत प्रर्दशनी एवम् लागुऔषध दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न हुने सफल डायरिजका अध्यक्ष सफल श्रेष्ठले जानकारी दिए । उनले युवाहरुको भावनालाई एकीकृत गर्ने र जिल्लाको पहिचान दिलाउने उदेश्यले फेस्टिभल आयोजना गरिएको बताए । रेसुङ्गा युथ फेस्टिभल बुढाथोकी बसपार्क र चिदिचौरमा आयोजना गरिएको छ ।

भलिबल कप–२०८०
जिल्ला भलिवल संघ गुल्मीले पालिकास्तरीय भलिबल प्रतियोगीताको आयोजना गरेको छ । आगामी कार्तिक १५ गतेदेखि १५ गतेसम्म प्रथम गुल्मी जिल्ला भलिबल कप–२०८० सञ्चालन हुने संघका महासचिव नारायण आचार्यले जानकारी दिए । उनले नेपालको राष्टिय खेल भलिबलको विकास तथा बिस्तार र राष्ट्रिय एवं अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले चिदिचौरमा पालिकास्तरीय भलिबल प्रतियोगीता आयोजना गरिएको बताए ।