सुनिल आचार्य
कपिलवस्तु । कपिलवस्तु प्रहरीले बिभिन्न मुद्दामा संलग्न रहेका ४ जना फरार प्रतिवादीहरुलाई जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीकालागि जिल्ला अदालतमा बुझाईएको जानकारी दिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले लागू औषध मुद्दामा फरार प्रतिवादीहरुलाई वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भदौ २३ गते शिवराज नगरपालिका ५ बालापुरबाट एक जनालाई पक्राउ गरेको हो ।
फरार प्रतिवादीलाई जिल्ला अदालतबाट लागु औषध (चरेश) मुद्दामा २ बर्ष १० महिना १० दिन कैद र रू.२० हजार रुपैयाँ जरिवाना तोेकिएको थियो । फरार प्रतिवादी रोल्पा जिल्ला सुनछहरी गाउँपालिका वडा २ फलबाङ घर भई हाल कपिलवस्तु शिवराज नगरपालिका वडा नं.५ बालापुर बस्ने ४६ वर्षीया गपि बुढा हुन । प्रतिवादी बुढालाई आबश्यक कारबाहीको लागि जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नावय उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै भदौ २४ ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरी टोलिले कृष्णनगर नगरपालिका ८ बहादुरगंज बजारबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाईएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनु भयो । फरार प्रतिवादी कृष्णनगर नगरपालिका ८ बहादुरगंज बस्ने ४२ वर्षीय राजु यादवलाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा १ बर्ष ११ महिना ८ दिन कैद र रु २ हजार रुपैंया जरिवाना तोकेको थियो । फरार प्रतिवादी यादवलाई पक्राउ गरी आबश्यक कारबाहीको लागि जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय पिपरा र प्रहरी चौकी गजेहडाबाट खटिएको संयुक्त प्रहरी टोलिले भदौ २४ गते बाणगंगा नगरपालिका ३ सिउटी बस्ने ४३ वर्षीय हरिसचन्द्र थारुलाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट बन मुद्दामा रु ९ हजार १ सय ८७ रुपैंया ३३ पैसा जरिवाना तोकिएको थियो । फरार प्रतिवादीलाई आबश्यक कारबाहीको लागि जिल्ला अदालतमा बुझाईएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनु भयो ।
यस्तै भदौ २४ गते ईलाका प्रहरी कार्यालय पिपरा र प्रहरी चौकी गजेहडाबाट खटिएको सयुक्त प्रहरी टोलिले बाणगंगा नगरपालिका ३ सिउटी बस्ने ३१ वर्षीय गोविन्द प्रसाद थारुलाई पक्राउ गरी आबश्यक कारबाहीको लागि जिल्ला अदालतमा बुझाईएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनु भयो । फरार प्रतिवादी थारुलाई जिल्ला अदालतबाट सवारी ज्यान मुद्धामा कैद भुक्तान गर्न बाँकी रहेको थियो ।