स्वास्थ्यका लागि जीवनशैली बदलौं

मेचीकाली संवाददाता

२ भाद्र २०७८, बुधबार
595 shares

कोरोना महामारीले पनि अहिले मानिसलाई स्वास्थ्यप्रति संवेदनशील बन्न सिकाएको छ । लापरवाही र असावधानी महँगो पर्न जाने भएकाले पनि स्वास्थ्य सावधानी अपरिहार्य बनेको छ । महामारीका कुरा कहिलेकाहीँ भएपनि स्वास्थ्य संवेदनशीलताका विषय सधैंभरि उत्तिकै रहन्छन् । विश्व स्वास्थ्य संगठनले मानिसको हृदयाघात भएर हुने आकस्मिक मृत्युको कारणका विषयमा पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार मानसिक चिन्ता, उच्च रक्तचाप र कोलेस्टेरोल बढ्दै जानु खतराको रुपमा औँल्याएको छ । यही कारण संगठनले सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ ।

विश्वमा उच्च रक्तचाप रोकथाम, परीक्षण र उपचारका लागि अभिप्रेरित गर्नु तथा त्यसका कारण हुनसक्ने मस्तिष्कघात, पक्षघात, हृदयाघात र मिर्गाैलाको खराबीजस्ता रोगहरूको रोकथामका लागि समेत स्वास्थ्य संगठनले सचेतता अपनाउनु पर्ने जनाएको छ । वास्तवमा उच्च रक्तचाप विश्वकै समस्या हो । बालबालिकादेखि वृद्धवृद्धा यसको चपेटामा परेका छन् । स्वास्थ्यका लागि जीवनशैली बदलौं ।

चिकित्सकहरुले यो रोग आधुनिक सभ्यताद्वारा सिर्जित मानसिक तनाव एवं जीवनशैलीमा आएको परिवर्तनको नतिजा हो भन्ने गरेका छन । ३०–५० प्रतिशत व्यक्तिहरूमा उच्च रक्तचापको लक्षण नदेखिने तथा पछि हृदयाघात, पक्षघात, मिर्गौला खराबजस्ता गम्भीर असर गर्ने भएकाले यो रोगलाई ‘मौनघातक’ का रूपमा लिने गरिएको छ । मुटु तथा रक्तनलीका विभिन्न रोगहरूमध्ये उच्च रक्तचाप संसारमा नै सबैभन्दा बढी देखिएको समस्या हो । उच्च रक्तचाप मुटु, रक्तनली, हृदयाघात तथा मिर्गौला फेलरको प्रमुख कारक हो । त्यस्तै यो रोग कम उमेरमा हुने मृत्यु र अचानक हुने मृत्युको प्रमुख कारक तत्व पनि हो ।

कोरोनाको बढ्दो महामारीको बेलामा उक्त रक्तचापको खतरा बढाएको छ । एकातिर लापरबाही गर्ने र अर्कातिर उपचारमा हेलचेक्र्याइँ गर्ने प्रवृत्ति बढिरहेको छ । यसलाई रोकौं । विश्वमै उच्च रक्तचाप मानिसको मृत्युको सबैभन्दा प्रमुख कारण बनेको अवस्थामा महामारी थपिएको छ । यसबाट सजग बनौं । खासगरी बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ र व्यस्त जीवनशैलीका कारण मानिसलाई तनावयुक्त बनाउँदै लगेको छ । त्यसैले महामारीमा रोग लाग्न नदिन, उच्च रक्तचाप हुन नदिन र शरीर स्वस्थ राख्न उचित खाना, दैनिक योग, व्यायाम, खेलकुद जस्ता क्रियाकलाप गर्ने, सकारात्मक सोच राख्ने र अनावश्यक मानसिक तनावबाट मुक्त रहनु अहिलेको आवश्यकता हो । स्वास्थ्य नै ठूलो धन हो ।