मायादेवीमा मानव अधिकारका समस्या पहिचान तथा कार्ययोजना तयार

मेचीकाली संवाददाता

२८ भाद्र २०८०, बिहीबार
499 shares

सुनिल आचार्य

कपिलवस्तु । मायादेवी गाउँपालिका–१ मा मानव अधिकारका लागि समस्या पहिचान तथा कार्ययोजना बैठक बुधबार सम्पन्न भएको छ । इन्सेक मानव अधिकार समूह मायादेवीको आयोजना तथा मायादेवी–१ को सहकार्यमा कार्यक्रम भएको हो । मायादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण र लैंगिक विभेदसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना तयार पारिएको छ ।

मानव अधिकार समूहले शिक्षा क्षेत्रका विद्यालयमा भएका अनिमियता, बिद्यार्थीहरुका लागि वसाई व्यवस्थापन नहुनु, शौचालय, खानेपानी र विषयगत शिक्षक अभाव, विद्यार्थीहरु निरन्तर नहुनु, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन जस्ता समस्या पहिचान गरेका छन् । यस्तै पालिकाको धेरै जसो घरधुरी र विद्यालयहरुमा शुद्ध पिउने पानीको समस्या, शुद्ध पिउने पानीको ट्यांकी निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआएको बैठकमा समस्याहरु पहिचान गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा सरकारले दिने नि:शुल्क औषधी प्रयाप्त मात्रामा उपलब्ध नहुनु, स्वास्थ्यसम्बन्धी सचेतनामा कमी , सरकारले दिने स्वास्थ्य सेवाबारे नागरिकलाई जानकारी नहुनु र गाउँपालिका खुला दिशा मुक्त भए पनि ग्रामीण क्षेत्रमा शौचालय नभएका कारण वातावरण दुर्गन्धित भएको, फोहोर व्यवस्थापन हुन नसक्नु, स्थानीय तहले वातावरणसम्बन्धी कानुन बनाउन नसकेको, शुद्ध खानेपानीको व्यवस्था प्रयोग गर्न नपाउने जस्ता समस्या पहिचान गरेका थिए ।

यसैगरी, लैंगिक विभेदविरूद्ध घरेलुहिंसा र जातीय विभेदसम्बन्धी सचेतनामा कमी भएका कारण समाजमा घटनाहरू भइरहेको समस्या पहिचान गरिएको मानव अधिकार समूहका सचिव सुन्दरी लोनियाले बताइन् । कार्यक्रमका मायादेवी गाउँपालिका अध्यक्ष मुहम्मद इसहाक मुसलमानले समुदायमा बढ्दै गइरहेको मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुको न्यूनीकरणका लागि सरोकारवाला निकाय समक्ष ल्याएर मानव अधिकार समूहले सहयोग गरिदिन आग्रह गरे ।

अध्यक्ष मुसलमानले कानुनको सदुपयोग र मानव अधिकार सुनिश्चित गर्न मानव अधिकार समूहले पुलको काम गर्नुका साथै स्थानीय तहले समस्या समाधानका लागि छलफल तथा संवाद गरी समस्या न्यूनीकरण गर्नेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै समूहका अध्यक्ष सतीशप्रसाद पाण्डयले समस्या समाधानका लागि वातावरण सम्बन्धी कानुुन बनाउन डेलिगेसन जाने, शुद्ध खानेपानी र शौचालय नभएका घरधुरी सर्वेक्षण गर्न पालिका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने, विद्यालय, स्वास्थ्य चौकीमा अनुगमन गर्ने, हिंसामा परेका महिला बालबालिकालाई सहयोग गर्ने र गाउँपालिकासँग समन्वय सहकार्य गर्ने गरी कार्ययोजना बनाएको बताए ।

इन्सेक प्रतिनिधि पार्वती आचार्यले इन्सेक अभियानको बिषयमा जानकारी दिँदै इन्सेकले शिक्षा, स्वास्थ्य, लैंगिंक विभेद, वातावरणको बिषयमा निरन्तर मानव अधिकारको क्षेत्रमा वकालत गर्दै आइरहेको बताइन् । कार्यक्रममा वडा सदस्यहरु, समूहका पदाधिकारीहरु, संचारकर्मी, बालअधिकार चेतना समूहका सदस्यहरुलगायतको उपस्थित रहेको थियो ।