वृद्ध दम्पतीको पीडाः ऋण तिर्न घर बेचे, तर दुई वर्षसम्म पनि पाएनन् पैसा

मेचीकाली संवाददाता

३१ भाद्र २०८०, आईतवार
197 shares

बुटवल । रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ की ५९ वर्षीया मनरूपा रेग्मीले आफ्नो घर बेचेको २ वर्ष पुग्न लाग्यो । १५ धुर जग्गामा बनेको एकतले घर ६४ लाखमा किनबेच भएपनि आफूले पाउनुपर्ने पैसा नपाउँदा उनको परिवार यतिबेला तनावमा छ ।
मनरुपाको घर २०७८ मंसिर १५ मा कपिलवस्तु ४ नम्बरका खुमवज गिरीले खरिद गरेका थिए । तर, खरीद गर्दा विभिन्न मितिको ६३ लाखको चेक दिएपनि उक्त चेकको रकम मनरुपाले हालसम्म पाएकी छैनिन् । चेकको विश्वासका आधारमा आफ्नो घर खुमवजको नाममा पास गरिदिएकी मनरुपाको परिवार यतिबेला न्यायको खोजिमा भौतारीएको छ । उनका श्रीमान् रत्नखर ७२ वर्षका भए । वृद्ध रेग्मी दम्पतिका ६ जना छोरीमध्ये ५ जनाको विहे भइसकेको छ भने कान्छी छोरी आशा उनीहरुसँगै छिन् ।

आफ्नो १० कठ्ठा खेत बेचेर बाँकी ऋणमा घर किनेका रेग्मी दम्पतिले सोही ऋण तिर्न नसकेपछि घर बेच्ने निधो गरेका थिए । तर, दलालले घर जग्गा कुम्ल्याएपछि उनीहरुले नत साहुको ऋण तिर्न सके न त घरनै आफ्नो नाममा रह्यो । बुटवल–१२ तामनगरकी माया सुवेदीले घर खरीद गर्ने खुमवजलाई घरधनी मनरुपाका माइला ज्वाइँ राजेश लम्सालसँग सम्पर्क गराएकी थिइन् । घरधनी मनरुपाले आफ्नै ज्वाइँको विश्वासको आधारमा घर पास गरिदिएको बताइन् । ज्वाइँ राजेशले सामान्य चिनजान भएकी माया सुवेदीको विश्वासको आधारमा घर पास गर्नका लागि आफ्ना ससुरालीलाई सहमत गराएका थिए ।

०७८ मंसिर १५ मा मालपोत कार्यालय भैरहवामा गएर रेग्मी दम्पतिले कपिलवस्तुका खुमवजलाई घरजग्गा पास गरिदिएका थिए । घर पास गर्दा गिरीले सोही दिनको मितिमा १० लाख रुपियाँको चेक काटेका थिए । तर सो चेक पनि नसाटिएको र त्यसबापतको ४ लाख रुपैयाँ नगद ल्याएर दिएको घरधनी मनरुपाले बताइन् । त्यस्तै ०७८ माघ १५ गतेको मितिमा २५ लाख रुपियाँको दोस्रो चेक काटिएको छ भने, ०७८ चैत ३० गतेको मितिमा २८ लाख रुपैयाँको तेस्रो चेक काटिएको छ । ती सबै चेकको रकम जोड्दा ६३ लाख हुन आउँछ । त्यसबाहेक एक लाख रुपैयाँ छुट्टै नगद दिएकाले ६४ लाख रुपैयाँ घरधनी मनरुपाले पाउने गरी घर खरीद बिक्री भएको देखिन्छ ।

तर, घर खरीद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ । बाँकी ६ लाख रुपैयाँ कारोबार गरिदिने मायाले कमिशन खाने मनसाय राखेको देखिएको छ । घर किनबेचमा मुख्य पात्रको रुपमा देखिएकी मायालेनै आफूलाई धोका दिँदा ससुरालीसँगको पारिवारिक सम्बन्धसमेत बिग्रिने अवस्थामा पुगेको ज्वाइँ राजेशले बताए । ‘म विदेश बसेर आएको मान्छे, जग्गाको कारोबार अहिलेसम्म गरेको थिइनँ, आफ्नै ससुरालीको घर बिक्रीका लागि माया सुवेदीले घर खरीद गर्ने मान्छे ल्याएपछि म पनि विश्वासमा परेर खरीद बिक्रीको काम भएको हो ।’, उनले भने ।

मनरुपाका श्रीमान् रत्नखरले पैसा प्राप्त नहुँदासम्म आफूले घर पास नगरिदिन आग्रह गरेको तर ज्वाइँले भनेपछि पास गरिदिएको बताए । पीडित परिवारले चेक बाउन्समा उजुरी हाल्ने तयारी गरेपनि घर किन्ने खुमवजले नगद ल्याएर दिन्छु भन्दै झुलाएर ६ महिना कटाएको र अहिले काठमाडौंमा बस्दै आएको बताएका छन् । चेक काटेको मितिले ६ महिना नाघेमा चेक बाउन्समा उजुरी नलाग्ने कानुनी व्यवस्था रहेको छ । पीडितले आफूहरुमाथि ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दर्ता गराएका छन् तर, प्रहरीले यसबारेमा कुनै कारवाही अघि बढाएको पाइएको छैन ।

दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलेकी मायाले खुमवजले घर खरीद गरेर पैसा नतीर्दा आफूसमेत तनावमा परेको बताइन् । ‘मैले नै कारोबार गराएकी हुँ तर खरीद गर्ने खुमवजले पैसा दिन्छु भनेर बारमबार झुक्याइरहेका छन्, यसले मलाई समेत समस्यामा पारेको छ ।’, उनले भनिन् । रेग्मी दम्पतिको जग्गा खरिद गर्ने खुमवज अहिले फोन अफ गरेर सम्पर्कविहीन बनेका छन् । उनले उक्त घर तेस्रो व्यक्ति सिर्जना श्रेष्ठलाई विक्री गरिसकेको मालपोत कार्यालय भैरहवामा रेकर्डमा देखिन्छ ।

रेग्मी दम्पतिकी कान्छी छोरी आशाले दलालले आफ्नो सम्पत्ति खाइदिएपछि पारिवारिक पीडासँगै आफ्नो अध्ययनलाई समेत अघि बढाउन नसकेको गुनासो गरिन् । कक्षा १२ सम्म अध्ययन गरेकी उनले जग्गा बेचेर आएको रकमले साहूको ऋण तिर्ने र बाँकी रकमले घर खर्च र आफ्नो अध्ययनका लागि खर्च गर्ने योजना बनाएको बताइन् । ‘भिनाजुको विश्वासमा बुवाआमा पर्नुभयो। त्यो बेला म होस्टेलमा थिएँ। पछि पैसा आउँछ भन्दा भन्दै २ वर्ष हुन लाग्यो। पैसा आएको छैन ।’, उनले भनिन्।